१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

विगत ८ वर्षदेखि अलपत्र पासाङल्हामु राजमार्ग बालाजु-रानीपौवा खण्डमा कालोपत्रेको काम सुरू

विगत ८ वर्षदेखि अलपत्र बालाजु-ककनी-रानीपौवा-पिपलटार सडक कालोपत्रे शुरु भएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको निरन्तरको पहलपछि कालोपत्रे सुरु भएको हो । 

विवादीत ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले मुड्खु तीनपीप्ले खण्डमा कालोपत्रे शुरु गरेको हो । महत्वपूर्ण आयोजनाहरूको ठेक्का हत्याउने तर काम नगर्ने ठेकेदार अधिकारीलाई निरन्तरको ताकेतापछि कालोपत्रे शुरु गरिएको हो । 

अधिकारीले ठेक्का लिएर झण्डै एक दशकदेखि अलपत्र पारेको पासाङल्हामु राजमार्गको बालाजु-रानीपौवा खण्डको कालोपत्रेको काम सुरू भएसँगै स्थानीय पनि खुशी भएका छन् ।  

शहरी विकास राज्यमन्त्री  मानन्धरले सडक कालोपत्रे गर्न अधिकारीको शैलुङ कन्ट्रक्सनलाई निरन्तर  ताकेता गर्नुपरेको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत रहेका ठेकेदार अधिकारीलाई काम नगरे कारबाही गर्ने मन्त्री मानन्धरको चेतावनी पछि कालोपत्रे र सडक पेटी निर्माण शुरु भएको हो । मंसिर भित्र कालोपत्रेको काम शूरु नगरे ठेक्का रद्द गरेर थप कानुनी कारबाहीको चेतावनी पाएपछि अधिकारीले काम सुरू गरेका हुन् ।

पहिलो चरणमा बाइपासदेखि पाँचमानेसम्मको सडक  कालोपत्रे गराउने गरी सहरी विकास राज्यमन्त्री मानन्धरले ठेकेदार अधिकारीलाइ निरन्तर ताकेता गरिरहेका थिए । उक्त खण्ड मन्त्री मानन्धरको निर्वाचन क्षेत्र पनि हो । कालोपत्रेको अनुगमन गर्न सहरी विकास राज्यमन्त्री मानन्धर पनि फिल्डमै पुगेका थिए । 

मन्त्री मानन्धरले पाँचमानेसम्मको सडक कालोपत्रे भएपछि ककनीतर्फको पनि कालोपत्रे शूरु गर्न ठेकेदार अधिकारीको कम्पनीलाई निर्देशन दिइसकिएको बताए । मन्त्री मानन्धरले देशभरीका सडक लगायतका भौतिक विकासका आयोजना निर्माणले अब गति लिने पनि दावी गरेका छन् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पनि सडक कालोपत्रे गरिदिन शैलुङ कन्ट्रक्सनलाई निरन्तर ताकेता गर्दै आएका थिए ।  

यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र राज्यमन्त्री मानन्धरसँग पनि नुवाकोटका संघीय सांसद नारायण खतिवडासहितको टोलीले छलफल गरेको थियो ।

प्रकाशित: २२ मंसिर २०७७ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App