१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पुनर्कर्जालाई ५८ अर्ब स्वीकृत

कोरोना महामारीका कारण समस्यामा परेका उद्योग, प्रतिष्ठानका लागि पुनर्कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले ५८ अर्ब रूपैयाँ स्वीकृत गरेको छ ।

पुनर्कर्जाका लागि बैंक तथा वित्तीय संस्थाले ६२ अर्ब रूपैयाँ माग गरेका थिए । सोमध्ये ५० अर्ब रूपैयाँको कर्जा स्वीकृत भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । त्यस्तै, ठूला ऋणीले सिधै राष्ट्र बैंकसमक्ष ४२ अर्ब रूपैयाँ पुनर्कर्जा माग गरेकोमा आठ अर्ब रूपैयाँ स्वीकृत भएको छ । स्वीकृत पुनर्कर्जा ऋणीले जुनसुकै समयमा लिन सक्ने भट्टले जानकारी दिए । कोरोना महामारीका कारण समस्यामा परेका उद्योग, प्रतिष्ठानलाई उकास्न पुनर्कर्जाको व्यवस्था गरिएको हो । पुनर्कर्जाको ब्याजदर तीनदेखि पाँच प्रतिशतसम्म छ ।

राष्ट्र बैंकका अनुसार पहिलो चरणमा करिब ४० हजार ऋणीले कर्जा पाउनेछन् । तिनले पाँच करोड रूपैयाँसम्म पुनर्कर्जा पाउँदैछन् । त्यस्तै, सिधै राष्ट्र बैंकमा आवेदन गरेका ठूला ऋणीले २० करोड रूपैयाँसम्म पुनर्कर्जा पाउने भट्टले बताए। 

राष्ट्र बैंकले पुनर्कर्जा तीन तरिकाले वितरण गर्ने खाका बनाएको छ । कुल रकमको ७० प्रतिशत एकमुष्ठ बैंक तथा वित्तीय संस्थालाई, २० प्रतिशत विशेष ग्राहकलाई र बाँकी १० प्रतिशत लघुवित्तमार्फत वितरण हुनेछ । लघुवीत्त वित्तीय संस्थाले १५ लाख रूपैयाँभन्दा रकम रकममा पुनर्कर्जा वितरण गर्नेछन् । राष्ट्र बैंकले सबै स्थानीय तहका ऋणीलाई पुनर्कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकसँग ४० अर्ब रूपैयाँभन्दा बढी रकम पुनर्कर्जा कोषमा छ । जसमा पाँच गुणाले वृद्धि गरी दुई खर्ब पु-याउने यसअघि नै घोषणा भइसकेको छ । यतिखेर बैंक, वित्तीय संस्थासँग करिब दुई सय अर्ब रूपैयाँको तरलता पनि छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित ऋणीलाई कम्तीमा ६ महिना कर्जा भुक्तानीको अवधि थप गरेर व्यवसायलाई अति प्रभावित, मध्यम र न्यून प्रभावितको रूपमा वर्गीकरण गरेको छ ।

राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित व्यवसायमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, -याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज, स्पालाई राखेको छ । त्यस्तै, होटल, पर्यटक आवास, ग्रामीण पर्यटन, होमस्टे, रिसोर्ट, तथा रेस्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष सम्बन्धित व्यवसाय पनि कोरोनाबाट अति प्रभावित व्यवसायमा परेका छन् ।

स्किइङ, ग्लाइडिङ, वाटर -याफ्टिङ, हट एयर बेलुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहणलाई पनि राष्ट्र बैंकले अति प्रभावित व्यवासयको सूचीमा वर्गीकरण गरेको छ ।

अति प्रभावित सूचीमा राखिएका अन्य व्यवसायमा गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केबलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस हुन् ।

चलचित्र उत्पादन, वितरण, सिनेमा हल, स्वदेशमा वा विदेशमा रोजगारी गुमेका वा लेअफमा (कटौतीमा) परेका श्रमिकलाई पनि सोही समूहमा राखिएको छ । 

त्यस्तै मूलभूत रूपमा सडेर, गलेर जाने तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, कुखुरापालन, पशुपन्छी, मौरी तथा मत्स्यपालन, तयारी पोसाक, हस्तकला तथा सीपमूलक व्यवसाय र वैदेशिक रोजगार तथा शैक्षिक परामर्श सेवा प्रदायकलाई अति प्रभावित व्यवसायमा राखिएको छ ।

अति प्रभावित समूहमा पर्ने व्यवसायमा प्रवाह भएको सक्रिय कर्जाको साँवाको किस्ता र ब्याजलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सकिने गरी म्याद थप भएको छ । तर कोभिड–१९ को कारण पुनस्र्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायत अति प्रभावित उद्योग व्यवसायमा प्रवाह भएका सक्रिय कर्जाको भुक्तानीका लागि दुई वर्षसम्मको समय प्रदान गर्न अहिले गरिएको व्यवस्थाले बाधा नपु-याउने केन्द्रीय बैंकले जनाएको छ ।

२०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सकिने गरी म्याद थप गरिएको समूहलाई राष्ट्र बैंकले कोरोनाबाट मध्यम प्रभावित समूहमा राखेको छ ।

प्लास्टिक, फलाम, स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग, निजी

तथा आवासीय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रिस्कुल र चाइल्ड केयरलाई राखिएको छ ।

यात्रुबाहक स्थल, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी, सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानुनी, लेखा, इन्जिनियरिङ लगायत परामर्श सेवालाई पनि कोरोनाबाट मध्यम प्रभावित समूहमा राखिएको छ ।

प्रकाशित: ९ मंसिर २०७७ ०५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App