रसुवामा आएको बाढीका कारण विदेशी पर्यटक र र नेपाली गरि ३ सय ८४ जना सम्पर्कविहीन भएको पर्यटन बोर्डले बताएको छ। ती मध्ये अधिकांश विदेशी पर्यटक र केही नेपाली सहयोगी रहेको बोर्डले बताएको छ।
बोर्डका अनुसार सम्पर्कविहीन भएका पर्यटकबारे पछिल्लो जानकारी खोज्ने प्रयास गरिएको छ। पर्यटन बोर्डका प्रवक्ता सुनील शर्माका अनुसार पर्यटन व्यवासायीले पठाएका ती पाहुना सम्र्पकविहीन भएको भनेर बोर्डमा जानकारी गराएका छन्।
सम्पर्कविहीन भएका मध्ये २९१ जना विदेशी पाहुना र ९३ जना नेपाली छन्। नेपालीहरुमध्ये धेरैजसो विदेशी पाहुनाको सहयोगीको रुपमा गएका थिए। उनका अनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१ जना (५९ भारतीय र १२ नेपाली) सम्पर्कविहीन भएका छन्। काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन्। जसमा २ विदेशी र १५ नेपाली छन्।
त्यस्तै लिफ होलिडेजका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन्। कैलास जर्नीबाट ३१ जना बेपत्ता छन्। जसमा २६ विदेशी र ५ नेपाली छन्। यसैगरी एक्स्प्लोर भ्याकेसनबाट ७ नेपाली सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। ट्रेकर्स सोसाइटीबाट ९२ जना (७७ विदेशी र १५ नेपाली) सम्पर्कविहीन छन्।
रिचा टुर्स एन्ड ट्राभल्सबाट १२ सम्पर्कविहीन भएको तथ्यांक सार्वजनिक भएको छ। जसमा ८ विदेशी र ४ नेपाली छन्। फिस्टेल टुर्स एन्ड ट्राभलबाट २७ सम्पर्कविहीन छन्। जसमा २० विदेशी र ७ नेपाली छन्।
हिमालयन ग्लेसियरबाट ५२ सम्पर्कविहीन रहेकोमा ३७ विदेशी र १५ नेपाली छन्। अल्पाइन इको ट्रेकबाट २० सम्पर्कविहीन छन्। जसमा १६ विदेशी र ४ नेपाली छन्। ‘बाढि आएपछि पर्यटन व्यवासायी आफुले पठाएका पाहुनाको अवस्थाबारे जानकारी दिन बोर्डमा छलफल गर्न आएका थिए। अहिलेसम्मको तथ्यांकले ३८४ जना सम्पर्कविहीन भएको देखिएको छ। यो आकार अझै बढ्न सक्छ,’ उनले भने।
उनका अनुसार विदेशीहरुमध्ये अधिकांश भारतीय पर्यटक त्यही रुट हुँदै तिब्बतको कैलाश मानसरोवर जाने गरेका छन। अरु पर्यटक भने लाङटाङ र रुबी भ्याली क्षेत्रको पदयात्रामा गएको हुनसक्ने उनले बताए। ‘भारतीयहरु कैलाश मानसरोवर र अरु विदेशी लाङटाङ क्षेत्रमा जाने रुटमा आज क्षति भएको छ,’उनले भने, ‘पर्यटकको अवस्था पहिचानको प्रयास भएको छ।’
प्रकाशित: १० भाद्र २०८३ १६:२६ बुधबार





