१० वैशाख २०८२ बुधबार
image/svg+xml १८:५३ अपराह्न
अर्थ

कोरोना कहरले बढ्दै आपराधिक घटना

कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्न थालेको छ। कोरोनाले धेरैजसो युवालाई बेरोजगार बनाउनुका साथै आर्थिक समस्या बढेकाले विभिन्न घटना घट्न थालेका छन्। धेरैजसो युवा रोजगारी गुमाएर जिल्ला फर्केपछि आपराधिक घटना पनि बढ्दै गएको प्रहरीले जनाएको छ।

रोजगारी नहुँदा युवा आपराधिक क्रियाकलापमा संलग्न हुनसक्ने सम्भावना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। ‘अहिले धेरै युवा बेरोजगार भई गाउँमै बसेका छन्,’ उनले भने, ‘यसले गर्दा उनीहरूमा वितृष्णा र नैराश्यता बढ्दै गएको छ। मदिरा सेवनलगायत क्रियाकलापले अपराधका घटना बढ्दै गएका छन्।’

कात्तिक ९ गते मदिरा सेवन गरेका दुई युवाले कुटपिट गर्दा पञ्चेश्वर गाउँपालिका–३ का ३२ वर्षीय कमलबहादुर साउदको ज्यान गयो। स्थानीय वीरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरेर साउदमाथि कुटपिट गर्दा उनको मृत्यु भएको हो। दसैंको समयमा सिगास गाउँपालिका–६ मा दुई समुदायबीच मदिरा सेवन गरेर कुटाकुट हुँदा घटना प्रहरीसम्म पुग्यो। त्यस्तै पाटन नगरपालिका–१ मा दुईवटा छुट्टाछुट्टै झडप भए। दुवै घटना गाउँमै मिलाइयो।

यी प्रतिनिधिमुूलक घटनामा मदिरा सेवन प्रमुख कारण देखिए पनि गाउँघरमा बेरोजगार युवाको ठूलो जमात छ। कोरोना प्रभावका कारण भारतलगायत अन्य देशमा रोजगारी गर्ने युवा रोजगारी गुमेपछि बेरोजगार भई गाउँमै बसेका छन्। स्थानीय सरकारले पनि बेरोजगार युवाका लागि प्रत्यक्ष रोजगार मिल्न सक्ने कार्यक्रम नल्याउँदा गाउँमै बरालिएर हिँड्ने युवाबाटै बढी आपराधिक घटना हुन थालेका हुन्।

स्थानीय सरकारले पनि बेरोजगार युवाका लागि प्रत्यक्ष रोजगार मिल्नसक्ने कार्यक्रम नल्याउँदा गाउँमै बरालिएर हिँड्ने युवाबाटै बढी आपराधिक घटना हुने गरेका छन्।

कोरोना प्रभावितका लागि स्थानीय सरकारले कृषि, पशुपालनलगायत आयमूलक क्रियाकलाप सञ्चालन गर्न बजेट विनियोजित गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। स्थानीय तहले प्रभावितका लागि ल्याएका कार्यक्रमले छोटो समयमै प्रतिफल दिने खालका कार्यक्रम नल्याउँदा रोजगारी गुमेर गाउँमा बसेका स्थानीय समस्यामा छन्।

अहिले गाउँघरमा मदिरा सेवन गरेका धेरै मान्छे भेटिन्छन्। धेरैजसो बेरोजगार युवा यस्तो कुलतमा फसेका छन्। ‘यसले गाउँघरमा जताततै अशान्ति फैलिएको छ,’ पुर्चौडी नगरपालिका–१ का धनवीर धामीले भने, ‘गाउँमा आयस्रोतको कुनै माध्यम छैन, युवाहरू गाउँ डुल्ने, हल्लिएर हिँड्ने र मदिराको लतमा लाग्न गरेका छन्।’ कोरोना प्रकोपमा पारिवारिक कलह, मनमुटाव, घरेलु हिंसा, महिला हिंसा, सम्बन्ध विच्छेदजस्ता घटनासमेत बढ्न थालेको अधिवक्ता लक्ष्मीदत्त पाण्डेयले बताए।

दसैंआसपासमा मात्रै प्रहरीमा मदिरा सेवनका कारण कुटपिट भएका सातवटा उजुरी दर्ता भएका थिए। कोरोना महामारीका कारण बैतडीमा मात्रै १२ हजार बढी नागरिक रोजगारी गुमाएर स्वदेश फर्किएका छन्। उनीहरू बेरोजगार बस्न बाध्य भएका छन्। गाउँमा विभिन्न खालका आपराधिक घटना बढ्दै गएपछि प्रहरीले हरेक गाउँमा गस्ती बढाएको जनाएको छ। जिल्लाका सबै प्रहरी चौकीबाट गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले बताए।

प्रकाशित: २४ कार्तिक २०७७ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App