२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

विदेशी विनियममा लचिलो नीति

लामो समयदेखि बैंक तथा वित्तीय संस्थाले विदेशी विनियम कारोबारका लागि गर्दै आएको माग पूरा भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धि निर्देशिका संशोधन गरी वित्तीय संस्थाले राख्दै आएको माग पूरा गरिदिएको हो ।

अब विदेशी मुद्रा कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका शाखाले छुट्टाछुट्टै इजाजत लिनु पर्ने छैन । राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा बैंक तथा वित्तीय संस्थाले विदेशी विनिमय कारोबारको लागि सम्पूर्ण स्थानका लागि एउटै इजाजतपत्रको व्यवस्था गरिएको छ ।  

केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाले विनियमावली लागू भएको दुई महिनाभित्र सम्पूर्ण स्थानका लागि एउटै इजाजतपत्र दिने व्यवस्था गरेको छ । यसअघि शाखापिच्छे विदेशी मुद्रा कारोबार गर्नका लागि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । त्यस्तै, राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार गर्न बैंकबाहेक फर्म, कम्पनी वा संस्थालाई पनि इजाजतपत्र प्रदान गर्ने जनाएको छ । होटल, रिसोर्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, कार्गो कम्पनी, ट्रेकिङ एजेन्सी लगायतका फर्म, कम्पनी वा संस्था वा अन्य सेवा प्रदायक कम्पनी तथा संस्थाले विदेशी पर्यटक तथा ऐन बमोजिम विदेशी विनिमयमा भुक्तानी गर्न सक्नेछन् ।

होटलहरूले राष्ट्र बैंकले तोकेकोे सीमासम्म आफ्ना ग्राहकलाई विदेशी मुद्राको सटही प्रदान गर्ने सक्नेछन् । केन्द्रीय बैंकले एक दशकपछि विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई संशोधन गरेको हो ।

विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न वाणिज्य बैंकले एकमुष्ट पाँच लाख रूपैयाँ शुल्क बुझाउनु पर्नेछ । त्यस्तै, राष्ट्रिय स्तरका विकास बैंकले एक लाख रूपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीको हकमा २० हजार रूपैयाँ शुल्क तोकिएको छ ।  

सोही विनियमावलीमा क्यासिनोले पनि विदेशी विनिमय कारोबार गर्ने इजाजत राष्ट्र बैंकबाट लिनुपर्ने उल्लेख छ । इजाजतपत्र पाप्त क्यासिनोले प्रति कारोबार स्थानको लागि २५ लाख रूपैयाँ बराबरको दुई वर्ष अवधिको बैंक जमानत र इजाजतपत्र शुल्कबापत एक लाख रूपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।  

आधुनिक उपकरणको माध्यमबाट खेलाइने खेलको हकमा भने प्रति कारोबार स्थानको लागि दुई वर्षको १० लाख रूपैयाँ बराबरको बैंक जमानत र इजाजतपत्र शुल्कबापत ५० हजार रूपैयाँ राष्ट्र बैंकमा बुझाए पुग्छ । क्यासिनोले नवीकरण शुल्क एक लाख रूपैयाँ र आधुनिक उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा नवीकरण शुल्कबापत ५० हजार रूपैयाँ तोकिएको छ । त्यस्तै, तीनतारे तथा सोभन्दा माथिल्लो स्तरका होटल, डिपार्टमेण्टल स्टोर, सुपर मार्केट तथा एयरलाइन्सले विदेशी मुद्राको कारोबार गर्न चाहेमा प्रति कारोबार स्थानको लागि एक लाख रूपैयाँ बराबर बैंक जमानत बुझाउनु पर्नेछ । नाफा कमाउने उद्देश्य बोकेका जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्थाले विदेशी मुद्राको कारोबार गर्न र इजाजतपत्र प्राप्त गर्न प्रति कारोबार स्थानको लागि ५० हजार रूपैयाँ बराबरकोे बैंक जमानत राख्नुपर्ने छ । जसको अवधि चार वर्षको हुनेछ ।  

तर सरकारी निकाय, विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठान तथा मुनाफा आर्जन गर्ने उद्देश्य नलिएका सामाजिक संस्थाले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्दा भने जमानत राख्न नपर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ । 

प्रकाशित: ९ भाद्र २०७७ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App