१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

साउन पहिलो हप्तामै ९२ प्रतिशत रोपाइँ

साउनको पहिलो हप्तामै गत वर्षको यो समयको तुलनामा १८ प्रतिशत बढि रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार साउनको ६ गतेसम्ममा कुल रोपाइँ योग्य जमिनको ९१. ६८ प्रतिशत रोपाइँ सकिएको हो । गएको वर्ष साउनको पहिलो हप्ता ६३.७९ प्रतिशत मात्र रोपाइँ सकिएको थियो ।

देशभर कुल १३ लाख ७१ हजार सात सय ६ हेक्टर रोपाइँ योग्य जमिन मध्ये गत मंगलबारसम्म १२ लाख ५७ हजार ६ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ । यो समयमा सबै भन्दा बढि धान उत्पादन हुने तराईमा ९४.१७ प्रतिशत रोपाइँ सकिएको छ । तराईमा धान रोपाइँ हुने कुल नौ लाख ७७ हजार चार सय १४ हेक्टर जमिन मध्येका नौ लाख २० हजार तीन सय ८२ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यो समयको तुलनामा २४ प्रतिशत बढि रोपाइँ भएको हो । गत वर्ष यो समयमा ६० प्रतिशत मात्र रोपाइँ सकिएको थियो ।

मन्त्रालयका अनुसार मध्य पहाडमा यो अवधिमा ८५.२३ प्रतिशत रोपाइँ सकिएको छ । मध्य पहाडमा रोपाइँ हुने कुल तीन लाख ४३ हजार ९९ हेक्टर मध्येमा दुई लाख ९४ हजार नौ सय ८५ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै ४८ हजार एक सय ९३ हेक्टर धान उत्पादन हुने उच्च पहाडी क्षेत्रमा जम्मा ८७.६५ प्रतिशत अर्थात ४२ हजार दुई सय ४१ हेक्टर भूभागमा रोपाइँ सकिएको छ ।  

प्रदेशगत तथ्यांकलाई हेर्दा सबैभन्दा बढी प्रदेश नं २ मा ९६.७७ प्रतिशत रोपाइँ योग्य भुभागमा रोपाइँ सकिएको छ । त्यस्तै कर्णाली प्रदेशमा ९६.२३ प्रतिशत रोपाइँ योग्य भूभागमा रोपाइँ भएको छ । सुदुर पश्चिम प्रदेशमा कुल रोपाइँ योग्य भूभागको ९५.४९ प्रतिशत रोपाइँ भएको छ । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नं ५ मा ९५.१४ प्रतिशत र गण्डकी प्रदेशमा कुल रोपाइँ योग्य भूभागको ९१.११ प्रतिशत रोपाइँ भएको छ । यो अवधिमा सबैभन्दा कम वाग्मती प्रदेशमा ८२.२२ प्रतिशत र प्रदेश नं १ मा कुल रोपाइँयोग्य जमिनको ८२.४१ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ ।

यो अवधिमा सबैभन्दा धेरै धान उत्पादन हुने प्रदेश २ र ५ का अधिकांश जिल्लमा शत प्रतिशत धान रोपाइँ सकिएको छ । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ का बारा, पर्सा, सप्तरीले शत प्रतिशत रोपाइँ सकाएका छन्, बाँकी जिल्लाको तथ्यांक पनि राम्रो छ । प्रदेश नं २ मा गत वर्ष यो अवधिमा ५० प्रतिशत मात्र रोपाइँ सकिएको थियो । प्रदेश नै ५ का तराइँका जिल्लामा ९७ प्रतिशत रोपाइँ सकिएको छ ।

गत वर्ष यो अवधिमा ६० प्रतिशत मात्र रोपाइँ भएको थियो । प्रदेश ५ का बर्दिया, रुपन्देही, नवलपरासीमा शत प्रतिशत रोपाइँ सकिएको छ ।

प्रकाशित: ८ श्रावण २०७७ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App