६ चैत्र २०८० मंगलबार
अर्थ

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन्। आयोजनामा कार्यरत जनकपुर घर भएका २६ वर्षीय इन्जिनियर शतिष गोइत मृत फेला परेका हुन्। घटनास्थलदेखि झण्डै सात–आठ किलोमिटर तल इन्द्रावती खोलाको बाहुनेपाटीमा अपराह्न साढे चार बजेतिर गोइतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्जवल महर्जनले जनाए ।

उनीसँगै बेपत्ता आयोजनाका चालक राधाकृष्ण थापा भने अझै बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगलबारको घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बेपत्ताको खोजीमा जुटेको थियो । आयोजनाको मुहानस्थल हेलम्बुमा रहेको अम्बाथान अडिट टनेल भित्रको मुख्य सुरुङको ढोका खुल्दा चार जना बगेका थिए ।

बग्दै गरेका इन्जिनियर शेखर खनाल र अर्का प्राविधिक पेम्बादोर्जे तामाङलाई भने सुरक्षाकर्मी तत्काल उद्दार गरेका थिए । घाइते उनीहरूको ललितपुरको ग्राण्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ । दुई सय ९८ मिटर लामो अडिट टनेलबाट अघि बढ्दा मुख्य सुरुङको ढोका एक्कासी खुलेको थियो । त्यतिबेला प्राविधिकसहितका चार कर्मचारी सुरुङको अवस्था निरीक्षण गरिरहेका थिए । गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो ।  

मेलम्ची बाँध खोलियो

सुरुङको १७ नम्बर गेट खुलेर दुर्घटना निम्तिएपछि आयोजनाले मुहान क्षेत्र (हेडवक्र्स) स्थित बाँध खोलिदिएको छ । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुरुङको मुख बन्द गरेर बाँध खोलिएको बताए । गेट खुुलेपछि सुरुङमा जमेको पानी बाहिरिएको थियो । बाँध नै खोलिदिएपछि सुरुङ रित्तिएको पन्तले जानकारी दिए ।  

‘बेपत्ताको खोजीमा जुट्नु परेकाले त्यसै खेर जान दिन सुरुङमा पानी छिराइरहनुको औचित्य छैन,’ उनले नागरिकसँग भने । खोजीमा जुट्नु परेकाले खुलेको ढोका बन्द गर्ने काम तत्काल नगरेको उनले बताए । उनका अनुसार पहिलो बेपत्ताको खोजी सकेपछि मात्र खुलेको गेट बन्द गर्दै फेरि मेलम्ची पानी सुरुङमा छिराउने काम सुरु गरिने छ । नलबोल्ट खुकुलो रहेकाले पानीको दबाबले खुस्किएर गेट खुलेको पनि उनले दोहोर्याए ।

गेट खुलेर सुरुङ रित्तिएपछि आयोजनाको १० दिनको काम व्यर्थै भएको छ । अब आयोजनाले सुरुङमा पानी छिराउने काम सुरुदेखि नै गर्नुपर्ने भएको छ । योसँगै सुरुङ परीक्षण गर्ने अवधि र मेलम्ची पानी वितरण गर्ने लक्ष्य त्यति दिन नै लम्बिने आयोजनाले प्रष्ट पारेको छ । दुई महिनामा सुरुङ परीक्षण सक्ने गरी आयोजनाले पथान्तरण (पानी प्रवेश गराउने) थालेको थियो । ढिलोमा असोजभित्र उपत्यकावासीलाई मेलम्ची पानी बितरण गर्ने आयोजनाको लक्ष्य छ ।

प्रकाशित: ३१ असार २०७७ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App