८ वैशाख २०८१ शनिबार
अर्थ

सलहको अर्को झुण्ड नेपालमा

सलहको अर्को झुण्ड नेपाल प्रवेश गरेको छ। आइतबार बिहान ९ः३० बजे भारतको उत्तर प्रदेशका सीतापुर र बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।  

‘दाङ जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडामा प्रवेश गरेको सलह दिउँसो १ः०० बजेतिर राप्ति नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको छ,’ केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘उक्त स्थानमा कृषक तथा समुदायले विभिन्न अवरोध सिर्जना गरी बस्न नदिएपछि उत्तरपूर्वतर्फ लागेको सूचना प्राप्त भएको छ।’  

उक्त सलहले प्युठान, अर्घाखाँची लगायत अन्य छिमेकी जिल्लामा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहन उनले आग्रह गरे। उनले आइतबार बिहान आएको झुण्ड १० देखि १२ लाखको संख्यामा रहेको अनुमान गरिएको बताए। सुवेदीले भने, ‘दाङमा खासै असर पारेको देखिएन, प्युठान र अर्घाखाँचीमा पनि असर गरेको जानकारी आएको छैन।’  

उनले थप झुण्डसमेत प्रवेश गर्ने सम्भावना रहेको बताए। ‘हावाको बहाव दक्षिणबाट पूर्वोत्तर दिशातिर बगेकोले राजस्थानबाट अन्य झुण्ड पनि नेपाल प्रवेश गर्ने सम्भावना छ,’ सुवेदीले भने, ‘प्रदेश नं ५, २ तथा १ का तराई र मध्यपहाडी क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन आवश्यक छ।’

उनले यसअघि आएको सलहको झुण्डका केही सलह बाग्लुङ र जुम्लामा देखिएको बताए। ‘पुरानो झुण्ड सक्रिय नभएकोले क्षति त गर्दैन तर वर्षाका कारण लुकेर बसेका सलह घाम लागेसँगै देखिन सुरु गरेको छ,’ उनले भने, ‘अगाडि आएका झुण्डका अधिकांश सलह मरेर सकिएका छन्।’

प्रकाशित: २९ असार २०७७ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App