१६ चैत्र २०८० शुक्रबार
अर्थ

पहिचान नभएको किराले मकैबाली सखाप

जुम्ला चन्दननाथ ३ का रामकृष्ण बुढ्थापाको मकैबारीमा दुई दिनअघिसम्म कुनै रोग या किराको प्रकोप देखिएको थिएन । मकै घोगा लागिसकेको थियो । लाग्थ्यो ‘यो पटक मकैको उत्पादन निकै राम्रो हुन्छ ।’ यो पटक बुढ्थापाले पाँच रोपनी जग्गामा मकैखेति गरेका थिए । तर दुई दिनभित्र उनको मकैबारीमा मकै सुक्न थाले । 

मकैका पात र गाँव एकाएक किराले खान थाल्यो । मैकैबारीमा डाँठ मात्र देखिन थाले । दुई दिनमा पचास प्रतिशत मकै सखाप भइसकेका छन् । उनी निकै चिन्तत भए । बुढ्थापाले भने,‘किरा दिउँसो देखिदैन । कतिबेला निस्कन्छ र मकैबालीमा पस्छ थाहा नै हुुदैन । किराको दिशा काठको धुलो जस्तो जताततै देखिन्छ ।’  

उनले भने,‘किराको लक्षण हेर्दा अमेरिकी फौजी किराको जस्तो छ । तर प्राविधिकले प्रमाणित नगर्दा सम्म भन्न सकिने अवस्था छैन । अमेरिकी फौजी किरा भनौं भने,प्रमाणित गर्न सकिएको छैन,किसान बुढ्थापा भन्छन्,‘ नभनौ भने लक्षण फौजी किरा जस्तै छ । मकैबारी सकिन थालिसक्यो । ’ निकै संकटमा भएको दुखेसो छ ।

जुम्लामा हालसम्म यो किराको प्रकोप देखिएको थिएन । पहिलो पटक यो किरा देखेको छु । उनले भने,‘ एकै दिनमा मकैबारी सखापै पार्छ । यही अवस्था हुने हो भने जुम्लाको अन्नबाली किसानले भित्र्याउन पाउनेछैनन् । ’ दिनमा किरा देखिदैन । बुढ्थापाले यो किराको रोगथामका लागि विषय विज्ञसंग ध्यानाकर्षण गराएको बताए । 

त्यो किराले च्याङलर जातको ओखरको पात समेत खाइसकेको छ । ओखरको रुख नांगो बनाएको छ । मकैको बारीभित्रको कान्लामा लगाइएको कक्सफुट घाँस सुक्न थालेको छ । यो घाँस बाहै् महिना हरियो भइरहन्छ । मकैका पात प्वाल परेका छन् । पातको  ढिक र बीचमा प्लाल पारेको थियो । मकै लत्किएका छन् । पुरै सुकेका छन् । पहिले पहिले सामान्य किराले खायोकी भन्ने शंका लाग्यो,‘किसान बुढ्थापाले भने,‘ पछि एकपछि अर्को गर्दै बारी नै सखाप हुन थालेपछि चिन्ता बढ्न थाल्यो । ’

रेडियोमा बजिरहने फौजी किराको विज्ञापनमा भनिए झैँ मकैबारीमा पनि त्यस्तै लक्षण देखिएकाले अमेरिकी फौजी किरा हुन सक्ने किसानले आशंका गर्न थालेका छन् । किराले मकै सखाप पार्न थालेपछि छिटो अनुसन्धान गरेर नियन्त्रणको उपाय अवलम्बन गर्न किसानले कृषि विकास कार्यालय र कृषि अनुसन्धान कार्यालय समक्ष माग गरेका छन् । 

बर्षा नभएको दिनमा बढि क्षति भएको पाइन्छ । बर्षा भएको समयमा निकै कम क्षति देखिन्छ । किसान बुढ्थापाले देवद्यारको तेल प्रयोग गर्न थालेका छन् । यो तेलले सबै प्रकारका किरा भागिरहेका छन् । यो किरा भाग्छ की भाग्दैन्, परीक्षण गर्दैछु, उनले थपे । कहिले पनि नदेखिएको र नुसनिएको किरा आउन थालेपछि जुम्ली किसान छक्क छन् ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा प्राविधिक परिचालन गरेर रोगकिराको पहिचान गर्न थाल्ने बताउँछन् । उनले भने,‘जिल्लाका केही स्थानबाट अज्ञात किराको प्रयोगले बालीनाली सखाप पारेको गुनासो आइरहेको छ । अब प्राविधिक परिचालन गरेर किराको अवस्था र लक्षणका बारेमा जानकारी लिएर रोग नियन्त्रणको उपाय अवलम्बन गर्नेछौँ । ’उनले बालीनालीमा रोगकिराको प्रकोप फैलिएको खण्डमा समयमै जानकारी गराउन आग्रह पनि गरे ।

प्रकाशित: २७ असार २०७७ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App