१६ चैत्र २०८० शुक्रबार
अर्थ

दुर्गममा सडक सञ्जाल विस्तार

म्याग्दीका ग्रामीण क्षेत्रमा विस्तारै सडक सञ्जाल विकास हुँदै जादा दुर्गम बासिन्दाको दिनचर्या सहज बनेको छ। स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि निकै सहज भएको छ। एक नगरपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेको छ। धौलागिरि र रघुगङ्गा गाउँपालिकाका एक÷दुई वडामा मात्र यातायातका साधन पुगिसकेका छैनन्।  

पछिल्लो समय म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुुविधा पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। सडक सुविधा नहुँदा कतै जानुपरे पनि घन्टौँको बाटो सकिनसकी हिँड्नुपर्ने बाध्यता थियो तर अहिले अधिकांश गाउँमा सडक सुविधा पुगेपछि गाउँ पनि रमणीय बन्दै गएका छन्।

म्याग्दी सदरमुकामदेखि करिब ५० किलोमटिर पश्चिममा रहेको मालिका  गाउँपालिकाको  वडा नं– ७ रुम गाउँका स्थानीयवासी बलबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताए। पहिले पहिले सडकको सुविधा नहुँदा कृषि उत्पादन कि त बारीमै कुहेर सकिन्थ्यो,  कि छरछिमेकमा बाँड्दाबाड्दै रित्तिन्थ्यो। तर सडक पुगेपछि उत्पादनले मूल्य पाउने भएपछि व्यावसायिक किसान पनि मख्ख परेका छन्। त्यस्तै सडकको सुविधा भएपछि स्वास्थ्य र शिक्षासँगको पहुँच सहज रुपमा बढ्दै गएको धौलागिरि गाउँपालिका– ७ का अध्यक्ष कलानिधि शर्माले बताए।

सडक सुविधापछि पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको छ। ग्रामीण क्षेत्रमा सडकका साथै अन्य आधारभूत विकासका पूर्वाधार खडा गर्न सके बढ्दै गएको शहरमोह केही हदसम्म घट्दै जाने रघुगङ्गा गाउँपालिका–३ का अध्यक्ष जीवन मल्लको भनाइ छ।गाउँगाउँमा यातायातका साधन गुड्न थालेपछि स्थानीयवासीको जीवनयापन सहजहुनुका साथै गाउँको मुहार पनि फेरिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अध्यक्ष गमबहादुर फगामीले बताए। 

प्रकाशित: २४ असार २०७७ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App