coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रदेश ५ : कोरोना संकटबीच राष्ट्रिय धान दिवस मनाइयो

कोरोना महामारीका बीच प्रदेश न. ५ सरकारले १७ औं धान दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा सोमबार कृषि विकास निर्देशनालय प्रदेश नं. ५ ले रोपाई गरेर धान दिवस मनाएको हो । उक्त अवसरमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोना महामारीले कृषिको महत्वलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने नीति लिएको बताईन । उनले प्रदेश ५ मा धानको उत्पादन राम्रो भएकाले उत्पादक्तव बृद्धि गरेर आयात प्रतिस्थापन गर्नतर्फ सबै अग्रसर हुनुपर्ने बताईन्।  

अघिल्ला वर्षहरुमा तामझामका साथ धान दिवस मनाइने भएपनि यो पटक भने सामान्य कार्यक्रम गरि मनाइएको कृषि विकास निर्देशनालयका निर्देशक यमनारायण देवकोटाले बताए । उनका अनुसार प्रदेश न. ५ मा यो वर्ष ४० प्रतिशत रोपाईँ भइसकेको छ । मनसुन बेलैमा सक्रिय भएकाले रोपाईँ धेरै भएको उनको भनाई छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि आफ्नै झण्डै चार विगाहा खेतमा धान रोपाइँ गरेको छ ।  रोपाइँ महोत्सवमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसान लगायतको सहभागिता थियो ।  रोपाइँको लागि वडागत रुपमा प्लट विभाजन गरिएकोमा जनप्रतिनिधिहरु बिहानैं खेतमा जुटेर उत्साहित रुपमा धान रोपाइँमा सहभागी भएको वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए ।  

नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफै गर्नेगरी रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकैं तथा गहुँ खेती गरिएको थियो । प्रदेश ५ का रुपन्देही सहित नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुम, रोल्पा र प्यठानमा समेत धान रोपाई चलिरहेको छ । यो वर्ष कोरोनाका कारण रोपाई महोत्सव नभएपनि सिमित ठाउँमा भने स्थानीय तहहरुले समेत धान दिवसमा औपचारीक कार्यक्रम गरेका छन् ।  

धानको उत्पादन बढाउनुपर्छ : मुख्यमन्त्री पोखरेल  

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ महामारीले अर्थतन्त्रमा परेको नकरात्मक असरलाई न्युनिकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन । सोमबार धान दिवसका अवसरमा सोमबार एक शूभकामना सन्देश जारी गरि धानको उत्पादन बृद्धिमा सरकार लागि परेको बताए । ‘चामल निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार  योजनाबद्ध रुपमा अघि बढिरहेको छ ।  

त्यसका लागि खेतीयोग्य भूभागमा सिंचाईको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एंव यान्त्रिकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको  छ ।’ उनले भने ।  

मुख्यमन्त्री पोखरेलले केही दशक अघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयाात  गरिरहेकोले अब यसको प्रतिस्थापन गर्नुपर्ने बताए ।  

बुटवल उपमहानगरले मनाएन धान दिवस

यो वर्ष भने बुटवल उपमहानगरपालिकाले राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवमा कुनै औपचारीक कार्यक्रम गरेन । कोरोना महामारीका कारण मानिसहरुको भिडभाड गर्न नहुने भएकाले रोपाई दिवस नगरिएको बताएको छ । दिवसका अवसरमा बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा जोड दिएका छन्। उनले एक सन्देश दिदै बुटवलमा सहरी कृषि प्रवद्र्धन कार्यक्रमलाई प्रभावकारी बनाउँदै भूमि बैंक स्थापना गर्ने र कृषि उत्पादकत्व बृद्धि गर्ने अवधारणाका साथ काम गरिरहेको बताए । कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने नगरप्रमुख सुवेदीको भनाई छ ।  

प्रदेश ५ का तराईका ६ सहित पहाडी जिल्लामा समेत धान खेती हुन्छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढि रहेको तथ्याङक छ । प्रदेश ५ नेपालमै धान उत्पादनमा पहिलो स्थानमा रहेको छ ।

प्रकाशित: १५ असार २०७७ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App