पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विदेशमा पलायन भएका नेपालका सांस्कृतिक सम्पत्तिहरु फिर्ता ल्याउन सकिने बताएका छन्। संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित भएका महानिर्देशक गौतमले सरकारले स्पस्ट नीति बनाए नेपालबाट विदेशमा पुगेका सांस्कृतिक सम्पत्ति तथा सम्पदाहरुलाई फिर्ता ल्याउन सकिने बताएका हुन्। त्यसका लागि रणनिती निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिन समेत उनले समितिलाई आग्रह गरे। ‘युनेस्को कन्भेन्सन कन्सल्टिङ फर द प्रिभेन्सन अफ इलिसिट इम्पोर्ट एक्सपोर्ट अफ कल्चर पपर्टी’ को नेपाल पक्ष राष्ट्र भएकाले पनि नेपालबाट विदेशमा पुगेका नेपालका सांस्कृतिक सम्पदाहरुलाई फिर्ता ल्यउन सकिने उनले बताए।
पुरातत्व विभागले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगति र आगामी कार्य योजनाको विषयमा गरिएको छलफलका क्रममा महानिर्देशक गौतमले जनशक्तिको अभाव हुँदा देशका सबै सम्पदाको विकास र संरक्षणको काम प्रभावकारी हुन नसकेको बताए। उनले देशभरका सम्पदालाई हेर्न जम्मा ६५ जनाको दरबन्दी रहेको र काठमाडौं, नुवाकोट र गोरखामा बाहेक कतैपनि कार्यालय नरहेको जानकारी दिए। उनले चालु आर्थिक वर्ष भित्रमा भूकम्पबाट क्षति भएका ९ सय २० सम्पदा मध्ये ४ सय ६० सम्पदाको पुननिर्माण सम्पन्न हुने जानकारी समेत दिए।
बैठकमा सांसदहरुले स्थानीय तह, प्रदेश सरकार, पुरातत्व विभाग र पुननिर्माण प्राधिकरण बीच समन्वय हुन नसक्दा पुननिर्माणको कामले गति लिन नसकेको बताएका छन् । यस्तै सांसदहरुले विभगसँग नयाँ भिजन र योजना नहुँदापनि पुरातात्विक सम्पदाहरुको संरक्षण हुन नसेको बताएका छन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पुरातत्व विभागले नेपालमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास र पुनरउत्थान गर्न नसकेको स्पष्ट देखिएको बताए। उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग स्पस्ट भिजन नहुनु र अर्थमन्त्रालयले समेत महत्व नदिदा पुरातत्विक सम्पदाहरुको संरक्षणमा समस्या देखिएको बताए।
प्रकाशित: १४ असार २०७७ १२:५७ आइतबार





