coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवाको स्थानीय तहको बजेट एक अर्ब ६१ करोड, अधिकांश कार्यक्रम पुरानै

रसुवाको स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि असार १० गते बजेट ल्याए । जिल्लामा पाँच वटा गाउँपालिका छन् । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाहरूले एक अर्ब ६१ करोड एक लाख ७२ हजार ६ सय ४० रुपयाँ बजेट ल्याएका छन् । सबैभन्दा बढी कालिका र सबैभन्दा कम बजेट आमाछोदिङ्मोले ल्याएको छ ।  

पाँचवटै गाउँपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रममा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलाई प्राथमिकता दिएका छन् । गाउँपालिकाहरूले अधिकांश कार्यक्रम पुरानै दोहो¥याएका छन् । सडक निर्माण, स्तरोन्नति, गोरेटो बाटो निर्माण, सामुदायिक भवन निर्माण, नयाँ पदमार्गको अध्ययन, शैक्षिक गुणस्तर सुधार लगायतका कार्यक्रम दोहोरिएका छन् ।  

यस्तै गाउँमा रोजगारी सिर्जना, पर्यटनको विकास, करको दायराको विस्तार, कृषिमा आधुनिकीकरण लगायतका कार्यक्रम यस पटकको बजेट, नीति तथा कार्यक्रममा समेटिएका छन् । जिल्लाको कालिका गाउँपालिकाले सबैभन्दा बढी ३५ करोड ८६ लाख ३८ हजार ४ सय ६० रुपयाँ बजेट ल्याएको छ ।

यो पटक गोरेटो बाटो निर्माण, सडकको स्तरोन्नति, वस्ती संरक्षण लगायतका योजना अघि सारेको छ । कृषि, शिक्षा र स्वास्थ्य सम्बन्धी कार्यक्रम पनि उतिकै प्राथमिकतामा परेका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए ।  

जिल्लाको उत्तरगया गाउँपालिकाले ३१ करोड ९७ लाख ३० हजार बजेट ल्याएको छ । कुल बजेटमध्ये ३१ प्रतिशत पुँजीगत र ६९ प्रतिशत चालुमा छुट्याएको छ । गाउँपालिकाका अनुसार २२ करोड १८ लाख ७० हजार चालु र ९ करोड ७८ लाख ७० हजार पुँजीगतमा बजेट परेको छ ।  

यस्तै नौकुण्ड गाउँपालिकाले ३२ करोड ३५ लाख ३० हजार ९ सय ६० रुपयाँ बजेट पेस गरेको छ । मुख्य सडक र अन्य सडकहरूको स्तरोन्नति गरेर बाह्रै महिना सवारी सञ्चालन गर्ने व्यवस्था मिलाउने, विद्यालयहरूमा शिक्षक व्यवस्थापन गर्नुका साथै प्रविधिमैत्री कक्षा सञ्चालन गरी गुणस्तरमा सुदृढीकरण गर्ने योजना छ ।  

एक घर एक धाराको नारा अनुरूप सबै घरपरिवारलाई सफा र स्वच्छ खानेपानी उपलब्ध गराउने र कृषि तथा पशु उत्पादनमा लगानी गरी जीवनस्तर उकास्ने नीति लिएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन् ।  

आमाछोदिङमो गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकता दिएको छ । यसअन्तर्गत कृषि तथा पशुपालन, उद्योग, वाणिज्य तथा आयआर्जन र रोजगारी, पर्यटन विकास लगायत कार्यक्रमलाई अघि सारेको छ ।  

तामाङ सम्पदा मार्गको प्रचारप्रसार, सम्भाव्यवता अध्ययन भइसकेका नयाँ पदमार्गको प्रचारप्रसार, गाउँपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाको संरक्षण र प्रवद्धन, होमस्टे व्यवसायलाई प्रवद्धन, साना तथा घरेलु उद्योगको विकास र विस्तार लगायतका विषय समेटिएको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । यो गाउँपालिकाले २६ करोड ३१ लाख ७३ हजार २ सय २० रुपयाँ बजेट ल्याएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाले पर्यटन विकास र रोजगारीलाई केन्द्रित गरेर बजेट ल्याएको छ । गाउँपालिकाका अनुसार ३४ करोड ५१ लाख बजेट ल्याइएको छ ।

प्रकाशित: १२ असार २०७७ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App