१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भरतपुर महानगरको बजेट सवा चार अर्ब

भरतपुर महानगरपालिकाको छैटौँ नगर सभाका सहभागी । तस्बिर : सूर्यप्रकाश/नागरिक

भरतपुर महानगरपालिकाको बुधबार सम्पन्न छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १५ करोड रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । नगरसभाको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगर तीव्र विकासमा होमिएको दाबी गरिन् । उनले पुल्चोक गोन्द्राङ सडक छ लेन बन्ने, बाइपास सडक स्तरोन्नति गर्ने, भरतपुर विमानस्थललाई प्रादेशिक स्तरको बनाइने बताइन् ।

आर्थिक वर्ष २०७७÷७८ का लागि भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् । उपप्रमुख ठकुरीबाट प्रस्तुत बजेटमा शहरी सौन्दर्य, भूउपयोग एवं बस्ती विकास, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, वातावरण संरक्षण एवं विपद् व्यवस्थापन, रोजगारी सिर्जना तथा सहकारी क्षेत्रको प्रवद्र्धन, प्रविधि प्रयोग तथा डिजिटल प्रणाली, संस्कृति तथा पर्यटन प्रवद्र्धन, निजी क्षेत्रसँग सहकार्य, वित्तीय सुशासन लगायतका बुँदा समेटिएको छ ।

भरतपुर महानगरको बजेटमा पूर्वाधार विकासतर्फ ४७ करोड, स्वास्थ्यमा नौ करोड, शिक्षामा नौ करोड, कृषितर्फ आठ करोड, वातावरण संरक्षण र फोहोर व्यवस्थापनमा आठ करोड, रोजगारी सिर्जनामा चार करोड रुपैयाँ छुट्याइएको छ । यसैगरी सँस्कृति र पर्यटनतर्फ तीन करोड, प्रविधितर्फ दुई करोड ५० लाख, लक्षित वर्गलाई दुई करोड ५० लाख, खेलकुदमा दुई करोड, राजश्व प्रशासन तथा वित्तीय सुशासनमा दुई करोड विनियोजन गरिएको छ ।    

भरतपुर महानगरले सेवा प्रवाह र प्रशासनिक खर्चमा सबैभन्दा धेरै ४८ करोड रुपैयाँ छुट्याएको छ । वडास्तरबाट कार्यक्रम कार्यान्वयन हुने गरी प्रत्येक वडाका निम्ति एक करोडका दरले २९ करोड रुपैयाँ विनियोजन भएको महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिए ।

प्रकाशित: १० असार २०७७ १५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App