१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

तिहाड जेलमा बन्द राजपाललाई नेतादेखि कलाकारसम्मको साथ

राजपाल यादव बलिउडका सबैभन्दा प्रतिभाशाली र हास्य कलाकारहरू मध्ये एक हुन्। उनले चलचित्रहरूमा सहायक र क्यारेक्टर भूमिकामा पनि आफ्नो अलग पहिचान बनाएका छन्। 

पर्दामा दर्शकहरूलाई हँसाउने उनी हाल कठिन समयबाट गुज्रिरहेका छन्। लामो समयदेखि चलिरहेको चेक बाउन्स मुद्दाका कारण उनलाई दिल्लीको तिहाड जेलमा पठाइएको छ।

यो मुद्दा करिब ९ करोड भारुको ऋण र चेक बाउन्ससँग जोडिएको छ। राजपाल यादवले सन् २०१० मा आफ्नो निर्देशनमा बनेको फिल्म 'अता पता लापता' का लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड भारु ऋण लिएका थिए। फिल्म बक्स अफिसमा फ्लप भएपछि ऋण तिर्न नसकेका कारण दिएका चेकहरू बाउन्स भए। 

ब्याज, जरिवाना र ढिलाइका कारण यो रकम बढेर अहिले करिब ९ करोड पुगेको छ। दिल्ली उच्च अदालतले पटक(पटक समय दिए पनि पूर्ण भुक्तानी नभएपछि गत बुधवार न्यायाधीश स्वर्णा कान्ता शर्माले थप समय दिन अस्वीकार गर्दै आत्मसमर्पणको आदेश दिए। बिहीबार राजपाल यादवले तिहाड जेलमा आत्मसमर्पण गरेका हुन्। उनी अहिले ६ महिनाको सजाय काटिरहेका छन्। उनको जेल सजायले ऋण माफ हुँदैन, बाँकी रकम चुक्ता गर्नुपर्छ।

जेलमा पुगेपछि राजपालले भावुक हुँदै भनेका थिए, ‘बलिउडमा दशकौँ समय दिए पनि कठिन समयमा कोही अगाडि आएनन्, पैसा छैन र साथीहरू छैनन्।’ तर अहिले बलिउड र राजनीतिक क्षेत्रबाट उनलाई ठुलो समर्थन जुटेको छ।

तेज प्रताप यादव (बिहारका राजनीतिज्ञ, जन शक्ति जनता दलका अध्यक्ष र लालु प्रसाद यादवका छोरा)ले राजपाल यादव र उनको परिवारलाई ११ लाख भारु आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

बलिउड अभिनेता सोनु सूदले राजपाललाई आफ्नो आगामी चलचित्रमा काम दिने र ‘साइनिङ अमाउन्ट’ दिएर तत्काल सहयोग गर्ने बताएका छन्। उनले यो दान नभई कलाकारको सम्मान र गरिमा भएको उल्लेख गरेका छन्। उनले बलिउड उद्योगलाई पनि सहयोग गर्न अपिल गरेका छन्।

गुरमीत चौधरी (टेलिभिजन कलाकार) ले पनि सामाजिक सञ्जालमा सबैसँग आर्थिक सहयोगको लागि अनुरोध गरेका छन्।
कमल आर खान (केआरके) ले १० लाख भारु आर्थिक सहयोग गर्ने वाचा गरेका छन्। उनले बलिउडलाई सामूहिक रूपमा बाँकी रकम जुटाउन आह्वान गरेका छन्।

राव इन्द्रजीत सिंह (संगीत प्रोड्युसर)ले एक करोड ११ लाख भारु दान गर्ने घोषणा गरेका छन्। उनले भनेका छन्, ‘यस्तो कठिन समयमा मानवको रूपमा हामी सबैको कर्तव्य हो कि उहाँ र परिवारसँगै उभिनुपर्छ।’ उनले बैंक डिटेल्स पनि सेयर गरेका थिए।

यसबाहेक गुरु रन्धावा जस्ता अन्य कलाकारहरूले पनि समर्थन जनाएका छन्। केही समाचारमा सलमान खान, अजय देवगन जस्ता ठुला नामहरूले पनि पर्दा पछाडिबाट सहयोग गरिरहेको उल्लेख छ। तर उनीहरू आफैँले भने यसबारे आधिकारिक रूपमा केही भनेका छैनन्। एजेन्सीको सहयोगमा

प्रकाशित: २८ माघ २०८२ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App