१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

रासायनिक मल खोज्नमै किसानको दैनिकी

वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ। उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ तर यो वर्ष मलको चरम अभाव देखिएपछि किसान स्थानीय सहकारी, भेटेरिनरीलगायत मल बिक्री गर्ने केन्द्रमा मलको खोजीमा दैनिकी बिताउन थालेका हुन्।  

कैलालीमा रासायनिक मलको अभावसँगै किसान महँगोमा मल किन्न बाध्य छन् भने महँगोमा समेत मल नपाउँदा किसानको दैनिकी मल खोज्नमै जान थालेको छ। टीकापुर नगरपालिका–३ का लक्ष्मण विकले करिब चार बिघा क्षेत्रफलमा धान रोपाइँको तयारी गरेका छन्। धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न नसकिएको उनी बताउँछन्। “बजारमा रासायनिक मल पाइँदैन। दैनिकी नै मल खोज्नमै जान थालेको छ”, लक्ष्मणले भने, “अन्य मल पाइए पनि महँगोमा किन्नुपरेको छ। युरिया बजार कतै छैन युरिया मल नहाले खेती नै हुँदैन।”

सहजरूपमा मलको आपूर्ति नहुँदा खेती रोप्ने चटारोमा रहेका किसान मलको खोजी गर्दै चर्को मूल्यमा रासायनिक मल खरिद गर्न बाध्य भएको भजनी नगरपालिका–८ का गौरी चौधरीले बताए। “तीनै तहको सरकारले कृषिलाई आफ्नो नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा राखेका छन्, त्यो नाममा मात्रै सीमित छ”, गौरीले भनीन्, “खेती लगाउने समयमा जहिले पनि रासायनिक मलको अभाव हुन्छ। पाए पनि धेरै महँगोमा किन्नुपर्ने बाध्यता छ। सरकारले किसानलाई राहत हुने काम गर्नै सकेको छैन।” उनले मल तथा बीउ खादको चर्को मूल्य तिर्नुपर्ने बाध्यताकै कारण किसानलाई खेतीबाट आम्दानीभन्दा बढी खर्च हुने गरेको बताए।

रासायनिक मलको बिक्री–वितरण गर्दै आएका सहकारी संस्थामा दैनिक सयौँ किसान मलका लागि पुग्ने गरेका छन्। सहकारीमा पुगेका किसानले मल नपाउँदा सहकारीमा निवेदन छोडेर फर्कने गरेको कृषि सहकारीले बताउँदै आएको छ। अघिल्ला वर्षहरुमा सीमा नाकाबाट अवैधरूपमा मलको आपूर्ति हुने र भेटेरिनरीबाट चर्को मूल्यमा भए पनि मल पाइने गरेको थियो। अहिले कोरोना भाइरसका कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा मलको झनै चरम अभाव देखिएको हो।

 कृषि सामग्री कम्पनीले कृषि सहकारीलाई प्रतिक्विन्टल युरिया एक हजार ६५२ रुपैयाँ, डिएपी प्रतिक्विन्टल चार हजार ५५२ रुपैयाँ र पोटास प्रतिक्विन्टल तीन हजार ३५२ रुपैयाँमा उपलब्ध गराइरहेको छ तर किसानले अहिले रासायनिक मल युरिया प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार ८०० रुपैयाँ, डिएपी पाँच हजारदेखि छ हजार रुपैयाँसम्ममा किन्न बाध्य भएका छन्।

 कृषि सामग्री केन्द्रले निर्धारण गरेको मूल्यमा युरिया डिएपी, पोटास मलको बिक्री गर्दा उक्त सहकारीलाई कृषि सामग्री कम्पनीले ढुवानीसहितको व्यवस्था गरी मल कृषि सहकारीलाई प्रदान गर्ने गरेको हुन्छ। प्रतिक्विन्टल ६० देखि ७० रुपैयाँ ढुवानी अनुदान रहेको मलमा लोड अनलोड कृषि सहकारीले आफैँ गर्ने गरेका हुन्छन् तर अहिलेको परिस्थितिमा प्रतिक्विन्टल ९० देखि १०० रुपैयाँ ढुवानी भाडा र लोड अनलोड गरी ३२ रुपैयाँ खर्च लाग्ने गरेको सहकारीले बताउने गरेका छन्।

 कृषि सामग्रीको निर्धारित मूल्यभन्दा ढुवानी भाडा थप गरी केही रकम बढाएर सहकारीले बिक्री गर्न पाए पनि टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउँदले मलको अभाव भएका कारण किसानको मागलाई पूरा गर्न नसकिएको बताए। उनले डिएपी र पोटास मल छिटपुटरुपमा पाइए पनि युरिया मल पाउन नसकिएको भन्दै सयौँ किसानले मलका लागि सहकारीमा निवेदन दर्तासमेत गरेको बताए।  

“हामीले मलको आयातका लागि निरन्तर सम्पर्क गर्दै आएका छौँ”, अध्यक्ष साउँदले भने, “युरिया मलको नेपालभरि नै अभाव देखिएको छ। माग अत्यधिक भएकाले यही अवस्थामा मल पाए पनि पूर्ति गर्नसमेत सकिने अवस्था देखिँदैन।” उनले लकडाउनको बेला ढुवानी महँगो भएको भन्दै मल बिक्रेता सहकारीले केही मूल्य बढाएर मल बेच्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ।

कैलालीमा ९५ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये ३९ हजार हेक्टरमा धानखेती हुने गरेको छ। त्यसका लागि चार हजार टन युरिया र तीन हजार टन डिएपी मल आवश्यक पर्छ । मल अभावको अवस्थामा चर्को मूल्यमा बिक्री गरे कारवाही हुने कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए।

प्रकाशित: १ असार २०७७ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App