१९ पुस २०८२ शनिबार
image/svg+xml
अर्थ

एक वर्षमै भत्कियो सडक र नाला

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोरवाराही मार्ग निर्माण सम्पन्न भएको एक वर्षमै भत्किएको छ। नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण गरिएको सडक एक वर्षमै भत्किएको हो।

नगरपालिकाले गत आर्थिक वर्ष २०७५/७६ को बजेटबाट सडक ग्राभेल र कल्भर्ट नाला निर्माण गरेको थियो। तर, उक्त मार्गको केही ठाउँमा सडक भासिएको र नाला भत्किएको स्थानीयवासी दीपक महतले जानकारी दिए। गुणस्तरहीन काम गरेका कारण छिट्टै सडक र नाला भत्किएको हो, यसबारेमा अनुगमन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ, महतले भने।

स्थानीयवासी चन्द्रकान्त भण्डारीले के कारणले सडक र नाला भत्किएको यस बारेमा आफूहरु अनभिज्ञ रहेकाले यसको छानबिन गर्नुपर्ने बताए। खोलाका कारण नाला भत्किएको हो, प्राविधिक त्रुटि थियो कि थिएन भन्नेबारेमा हामीलाई जानकारी भएन, उनले भने। शुक्लागण्डकी नगरपालिकाका इञ्जीनियर तारापति भट्टराईले नगरपालिकाको ६० लाख रुपैयाँ र स्थानीय उपभोक्ताको १२ लाख रुपैयाँ गरी कूल ७२ लाख रुपैयाँ लागतमा सडक ग्राभेल र नाला निर्माण गरिएको जानकारी दिए। उनका अनुसार उक्त मार्गको अनुगमनपश्चात उपभोक्ता समितिलाई भुक्तानी दिइएको थियो।

इञ्जीनियर भट्टराईले खोलाको आडमा जेसिभी प्रयोग गरी खोला खनिदिएका कारण सडक र नालामा क्षति पुगेको बताए। फाउण्डेशनभन्दा तल लगेर खनेका कारण निर्माण भत्किएको हो, उनले भने, स्थानीयवासीले जेसिभी प्रयोग गरिदिएका कारण ग्राभेल बाटो चिरा परेको हो। उक्त बाटोको अनुगमनका लागि नगरपालिकाले उपप्रमुख सविता रसाइलीको संयोजकत्वमा एक समिति गठन गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App