८ वैशाख २०८१ शनिबार
अर्थ

उद्योगीले घटाए हरियोपत्तीको मूल्य

चिया किसान असन्तुष्ट

हरियो चियापत्तीको तोकिएको मूल्य नपाएपछि किसान आन्दोलित बनेका छन् । चिया प्रशोधन उद्योगहरूले स्थानीय सरकारले तोकेभन्दा थोरैमात्र मूल्य दिने भएपछि किसान असन्तुष्ट बनेका हुन् ।  

जिल्लामा चियाको मुख्य उत्पादन हुने सूर्याेदय नगरपालिकाले २०७५ सालमै हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । जनप्रतिनिधि, उद्योगी, किसान र चिया तथा कफी विकास बोर्डसमेतका प्रतिनिधिको सहभागितामा नगरले हरियोपत्तीको न्यूनतम् मूल्यसम्बन्धी कानुन नै पारित गरिसकेको छ । तर, उद्योगीले नगरले तोकेको मूल्य दिन नसक्ने भन्दै प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म तोकेपछि किसानले विरोध जनाएका हुन् । उद्योगीले तोकेको मूल्य चित्त नबुझेको र नगरले पहिले तोकेकै मूल्यलाई न्यूनतम् कार्यान्वयन गर्नुपर्ने भन्दै किसालने प्रदर्शनसमेत गरेका छन् । किसानले उद्योगले दिने भनिएको मूल्यले हरियोपत्तीको लागतसमेत नउठ्ने भन्दै हरिपत्ती उद्योगमा लैजानै रोकिदिने चेतावनीसमेत दिएका छन् ।  

देश लकडाउनमा रहेकाले आफूहरूलाई हातमुख जोर्नै समस्या हुन लागेका बेला ‘उद्योगले समेत भोको पेटमा लात हान्न खोजेको’ आरोप चिया किसानले लगाएका छन् । उनीहरूले लकडाउन बहानामा सरकारले तोकेको मूल्यभन्दा कम नदिन उद्योगको ध्यानाकर्षण गरेका छन् । सूर्याेदय नगरपालिका–४ का चिया किसानले स्थानीय इलाम टी प्रोड्युसर्स प्रालिलाई ज्ञापनपत्र बुझाउँदै नगरले तोकेकै मूल्यमा चिया खरिद गर्न आग्रह गरेका छन् । स्थानीय किसान देउचन पुलामीले नगरले तोकेको हरियोपत्तीको मूल्यले समेत किसानको लगानी उठ्न धौधौ भएका बेला उद्योगीले झनै मूल्य घटाएको बताए । ‘त्यसै पनि हरियो चिया बेच्दा लगानी उठ्न धौधौ छ,’ उनले भने, ‘अझ उद्योगीले मूल्य घटाइदिने हो भने किसानको हातमुख जोर्ने मेलो हराउँछ ।’  

नगरपालिका र किसानसँग छलफलै नगरी उद्योगहरूले हरियोपत्तीको मूल्य घटाएको किसानले बताएका छन् । ‘उद्योगी, किसानलगायतको सहमतिमै नगरले हरियोपत्तीको न्यूनतम् मूल्य तोकेको थियो,’ अर्का किसान धरणी घिमिरेले भने, ‘अहिले आएर उद्योग पक्ष एक्लैले मूल्य घटाउँछु भन्न पाउँदैन ।’ किसानले हरियो चियाको मूल्य बढाउन माग राख्दै फिक्कल बजारमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईलाई ध्यानाकर्षणपत्र बुझाउँदै तोकिएको मूल्य कार्यान्वयनको मागसमेत गरेका छन् ।  

६२ उद्योग आबद्ध सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनले भने आधिकारिक रूपमा हरियोपत्तीको न्यूनतम् मूल्य तोकेको छैन । तर, एसोसिएसनकै सदस्य रहेका उद्योगले कम मूल्य तोकेपछि किसान विरोधमा उत्रिएका हुन् । लकडाउनका कारण तयारी चियाको बजार बन्द भएको भन्दै उद्योगीले हरियोपत्तीको मूल्य पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । उनीहरूले उद्योगीलाई सरकारले अनुदान दिएर महामारीका बेला राहत पुर्‍याउनु पर्नेसमेत माग गरेका छन् ।  

‘राज्यले कच्चा पदार्थको समर्थन मूल्य तोक्दा तयारी वस्तुको पनि विक्री सर्मथन मूल्य तोक्नुपर्छ । तोकिएको समर्थन विक्री मूल्यमा विक्री नभए राज्यले नै खरिद गरी दुवै पक्षलाई न्याय दिलाउनु पर्छ,’ एसोसिएसन उपाध्यक्ष डिल्लीराम श्रेष्ठले भने, ‘कुनैपनि कृषिउपजको बजारभाउ लागत मूल्यभन्दा कम्ती छ भने सरकारले विभिन्न किसिमका अनुदान दिएर किसानको लागत मूल्य समायोजन गर्नुपर्छ ।’  

व्यवसायीले तिरेको करमा नगरले आवश्यक रकम थपेर किसानलाई तालिम दिनुपर्ने तथा चियाको अर्गानिक प्रमाणीकरण प्रक्रियामा बजेट विनियोजन गर्नुपर्ने मागसमेत उद्योगीको छ । उनीहरूले तयारी चिया तत्काल विक्री नभएको, प्रशोधन गर्ने खर्च भएपनि बैंकमा नगद मौज्दात नभएकाले तयारी चियाको स्टकका आधारमा बैंकले कर्जा नदिएकाले हरियोपत्तीको मूल्य भुक्तानीमा समस्या भएको जनाएका छन् । कर्जाका लागि सहजीकरण गर्न पनि नगरसमक्ष उद्योगीको माग छ । सूर्याेदय नगरस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विज्ञप्ति जारी गरी नगरले तोकेको न्यूनतम् समर्थन मूल्य नै उद्योगीले पालना गर्नुपर्ने जनाएको छ ।  

समस्या समाधानका लागि नगरपालिका र चिया उद्योगीबीच भएको छलफलमा कुनै सहमति हुन सकेन । मेयर राईले किसानको गाँस काटेर नगरले कसैसँग सहमति नगर्ने बताए । ‘किसानले हरियोपत्तीको प्रतिकिलो ४० रुपैयाँ पाउँदा पनि हरियोपत्ती उत्पादनको लगानी उठ्दैन,’ उनले भने, ‘यति भएर पनि किसानको पक्षमा बोलिदिने कोही नभएकाले नगरपालिका बोलेको हो ।’  

उनले नगरले उद्योगी, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र किसानसमेतको सहभागिता र सुझावमा हरियोपत्तीको न्यूनतम् समर्थन मूल्यसम्बन्धी कानुन लागू गरिएको बताए । ‘किसानले पाउने ४० रुपैयाँ पनि घटाएर कसैले सिन्डिकेट लगाउँछ भने नगरले किसानकै सहयोग लिएर सहकारीमार्फत् चिया उद्योग स्थापना गर्न पनि सक्छ,’ मेयर राईले भने, ‘बरु, हरियोपत्तीको गुणस्तर अझ बढाउन नगर सहमत छ तर किसानले पाउने मूल्य घटाउने प्रस्तावसँग सहमति हुन सकिँदैन ।’ 

प्रकाशित: २८ जेष्ठ २०७७ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App