coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सगुनको सेयर निष्कासन

अमेरिकामा रहेका नेपालीहरुको समूहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्टअप कम्पनी सगुन डट कमले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्कासन गरेको छ । सगुनमा विश्वभरका ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएको बताइन्छ ।  

अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समयअघि सगुनको विवरणपत्रलाई बिक्रीयोग्य तोकेको थियो । सगुनले यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले तीन लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । सगुनको सेयर विश्वभरका सर्वसाधारणले कम्तीमा ३० कित्ता खरिद गर्न सक्ने कम्पनीको विज्ञपितमा उल्लेख छ । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्कासन गरेको हो ।  

सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निष्कासन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट चार हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए । पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ । यसले मोबाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रोइडमा सोसियल स्मार्ट कार्ड तथा वेब ब्राउजरहरुका लागि वेब एप्लिकेसन सार्वजनिक गरेको छ ।  

सगुनका संस्थापक गोविन्द गिरीले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको बताए । उनले यी दुई मुलुकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गरेको जानकारी दिए ।  

सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजीकरण र नियमनका लागि फन्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ । यसले अहिलेको सार्वजनिक निष्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताबाट लगानी स्वीकार गर्ने जनाएको छ । यसपटकको निष्कासन सीमित समयको लागि मात्र खुला रहने विज्ञप्तिमा उल्लेख छ । यसपटक सर्वसाधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको आधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र नयाँ एप, सुविधा र विशेषता थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ ।  

सगुनको सेयर खरिद गर्न इच्छुक व्यक्तिले सगुन डट कम स्ल्यास इन्भेस्टमा गएर वा सगुन एपमा रहेको मिनी आइपिओ ट्याब छानेर लगानी गर्न आवेदन दिन सक्ने बताइएको छ ।

प्रकाशित: २१ जेष्ठ २०७७ २३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App