७ वैशाख २०८१ शुक्रबार
अर्थ

खाद्यान्नको कृत्रिम अभाव र मूल्यवृद्धि

बन्दाबन्दी, कृत्रिम अभावबन्दाबन्दी जारी रहँदा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको भाउ बढेको छ ।   खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्तामाथि परेको छ ।      

कतिपय बिक्रेताले बन्दाबन्दीलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो । बजारमा खाद्यान्नको भाउ बढ्नुका कारण खुद्रा व्यापारीले थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् ।  

कतिपय व्यापारीले सामान नै नआएको भन्दै अरु समयमा बेच्न नसकेको सामान बेचिरहेको पाइन्छ ।      

 ललितपुर इमाडोलकी रमिता विष्टले बजारमा सामान किन्न जाँदा आफूले भनेजस्तो नपाउने र पाइएको ठाउँमा पनि बढी भाउ लिने गरेको बताइन् । खासगरी चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न र साबुन, सरफ खरिद गर्दा यो समस्या आइरहेको छ । गत साता आफूले खोजेको कम्पनीको चाउचाउ नपाएकाले आफूले अर्काको कम्पनीको किनेको उनले बताइन् । मङ्गलबार भने उनले धेरै पसल चाहारेर १५ पर्ने चाउचाउ २० तिरेर किनिन् । दुई महिना पहिले १ हजार ६०० मा किनेको चामल अहिले १ हजार ८०० मा किनेको उनको भनाइ छ ।  

बन्दाबन्दी जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य ह्वात्तै बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । तरकारीको मूल्य बन्दाबन्दीको सुरुको साताभन्दा ह्वात्तै घटे पनि अझै किसानले पाउने मूल्य र उपभोक्ताले किन्नेमा धेरै फरक रहेको उनले जनाए । किसानले १०÷१५ रुपैयाँमा बेचेको तरकारी उपभोक्तालाई बजारमा अहिले पनि ४०÷५० सम्ममा किन्नुपरेको छ । स्याउ, अनारलगायतका फलफूलको मूल्य बढिरहेको छ । बन्दाबन्दीलाई बिचौलियाले कमाउने अवसरका रुपमा लिइरहेको उनको भनाइ छ । उनले यस्तो समयमा सरकारले बजारको प्रभावकारी अनुगमन गरेर कारबाही गर्नुपर्ने बताए ।

 किराना पसलले उपभोक्ताले बढी खोज्ने सामान अहिले नआएको भन्दै महिनौं थन्किएको सामान बेचिरहेका छन् । यो समयमा ब्रान्ड नै नभएको सामान र म्याद नाघेको सामान रिप्याकिङ गरेर बिक्री हुन सक्ने उनले बताए । बिक्रेता र उत्पादक दुवैको मिलेमतोमा अहिले कमसल सामग्रीको बिक्री हुनसक्ने सम्भावना रहेको छ । स्थानीय सरकारले खाद्यान्न पसल खोल्नका लागि थोरै समय तोकेकाले पनि बजारमा भीडभाड भइरहेको उनले बताए । उनले भने, ‘कतिपय पालिकाले दिनमा एक दुई घण्टाका लागि मात्रै बजार खोल्दा भीडभाड बढेकले  सङ्क्रमण फैलने जोखिम छ ।’      

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमित रुपमा अनुगमन गरेर गल्ती भेटिएमा कारबाही भइरहेको जनाएको छ । विभागले उपभोक्तालाई गुनासो गर्न  ११३५ नंको व्यवस्था गरेको छ । यो नम्बरमा खाद्यान्नमा मूल्यवृद्धिका गुनासो आइरहेको र त्यसकै आधारमा अनुगमन र कारबाही भइरहेको विभागका सूचना अधिकारी रवीन्द्र अधिकारीले बताए । बिक्रेतामार्फत होलसेलसम्म पुगेर अनुगमन गरिएको उनको भनाइ छ ।

बन्दाबन्दीको सुमा ६ महिनालाई पुग्ने खाद्यान्न छ भन्ने बिक्रेता अहिले दुई महिना नाघ्दा पहिलेको स्टक सकिएको र नयाँ सामानमा मूल्य बढेर आएको भनिरहेको उनले बताए ।

 खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल कुन कुन समयमा खोल्न दिने भनी नगरपालिकाहरुले फरक फरक समय तोकेका छन् । स्थानीय तहले त्यहाँको आवश्यकताअनुसार समय तय गरे पनि कतिपय उपभोक्ता र बिक्रेताको गुनासो विभागमा आइरहेको छ । भाटभटेनीलगायत सुपरमार्केटलाई लामो समय र अरुलाई किन कम समय भन्ने किसिमका गुनासो आउने गरेको निर्देशक अधिकारीले बताए ।  

विभागको ११३५ नम्वरमा बन्दाबन्दीको अवधिमा अहिलेसम्म एक हजार ५५ गुनासो आएको छ । तीमध्ये १६८ स्थानमा कारवाही गरिसकेको छ । चालू आवमा अहिलेसम्म एक हजार ७६५ जनालाई कारवाही भएको बताइएको छ । विभागले बन्दाबन्दीको अवधिमा एक करोड ५० लाख जरिवाना गराएको छ । चालू आवमा जरिवानावापत  तीन करोड दुई लाख तिराइएको विभागले जनाएको छ ।      

बन्दाबन्दीको समयमा खाद्यान्न, मास्क, ग्यासको अभाव र मूल्य वृद्धिका गुनासो बढी आएका छन् । बन्दाबन्दीको शुरुका सातामा ग्यास र मास्ककोे अभावको गुनासो बढी आए पनि अहिले यस्ता गुनासा कम आइरहेका छन् ।     

प्रकाशित: २१ जेष्ठ २०७७ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App