coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पाइपलाइनबाट आएको तेल वितरणमा अवरोध प्रयास

मुलुकमा सबैभन्दा धेरै इन्धन वितरण गर्ने नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट इन्धन वितरणमा स्थानीयले धम्की दिएर अवरोध गर्ने प्रयास गरेका छन्। निगमले सुरक्षाका मापदण्ड पुरा गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको भए पनि कोभिड—१९को संक्रमण फैलिन सक्ने भन्दै अबरोध सृजना गरेपछि निगमले सुरक्षा दिएर सहज आपूर्तिको लागि सघाउन गृह प्रशासनलाई अनुरोध गरेको छ।

अत्यावश्यक सेवाको वस्तुको पेट्रोलियम पदार्थ बिक्री रोक्नस्थानीयले दबाब दिँदै आएको निगमको प्रदेश नं २को प्रादेशिक कार्यालय अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीले बताए। रेग्मीका अनुसार स्थानीयले यसअघि पनि डिपोमा आएर पटक—पटक रोक्न दबाब दिने गरेका छन्। सहज आपूर्तिका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयमा अनुुरोध गरिएको रेग्मीले बताए। यस विषयमा प्रशासनसँग पनि समन्वयन भैरहेको प्रमुख रेग्मीले जानकारी दिए।

गृह मन्त्रालयले अत्यावश्यक सेवा वस्तुको ढुवानीमा अवरोध गरे कारबाही गर्ने चेतावनी दिए पनि त्यहाँ ट्याकर लिएर आउने चालक, सहचालकलाई अबरोध प्रयास गरेका हुन्। स्थानीयले इन्धन लोड गर्न नदिने चेतावनी दिएपछि १० बजेबाट खोल्ने डिपो बुधबार विहान ६ बजे अघिनै खोलेर ट्याकर डिपो भित्र प्रवेश गराई इन्धन लोड गरेको छ।

अमलेखगन्जबाट काठमाडौं, पोखरा, भैरहवा, जनकपुर, विराटनगरलगायत डिपो र अमलेखगन्ज आसपासका जिल्लामा डिजेल, पेट्रोल, मट्टितेल सप्लाई गर्छ। भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुन्छ। पाइपबाट ल्याएको डिजेल अमलेखगन्जमा भण्डारण गरेर ट्याकरबाट मुलुकका विभिन्न जिल्लामा पठाइन्छ।

अमलेखगन्जबाट दैनिक ६५÷७० ट्यांकरले मुलुकका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ ढुवानी गर्छ। जेठको पहिलो साता त्यहाँबाट विराटनगर चार हजार किलोलिटर (केएल), भैरहवा तीन हजार केएल, जनकपुर दुई सय केएल, पोखरा तीन सय केएल तेल चार सय पाँच ट्याकरले ढुवानी गरेका थिए। मुलुक लकडाउनमा गए पनि अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनमा छन्। कृषिजन्य कार्य जमिन जोत्न, गहुँ काट्न कृषिजन्य उपकरण ट्याक्टर, थ्रेसर सञ्चालनमा आएकाले डिजेलको माग वृद्धि भएको छ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App