coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बिपी राजमार्गमा पहिलोपटक पशु क्वारेन्टाइनको कारवाही

पशु क्वारेन्टाइन कार्यालय काठमाडौंका अधिकारी इप्रका मंगलटारमा रोकिएका कुखुरा ढुवानी साधनको कागजपत्र छानबिन गर्दै। तस्बिर : नागरिक

बनेपा - बिपी राजमार्ग हुँदै काठमाडौं उपत्यका र बनेपामा जिउँदो ब्रोइलर कुखुरा सप्लाई गर्दै आएका सप्लायर्सलाई पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंले क्वारेन्टाइन जाँचको प्रक्रिया पालना नगरेको भन्दै कारवाही गरेको छ।

यसरी पहिलोपटक तीनवटा कुखुरा सप्लायर्सलाई स्थलगत रुपमै कारवाही गरिएको हो। नेपाल पोल्ट्री महासंघको अगुवाइ र काभ्रे प्रशासनको सहयोगमा काभ्रेका किसानले कुखुरा ढुवानी गर्ने शंकास्पद तीनवटा गाडी राजमार्गको मंगलटार नाकामा रोकेका थिए। ‘हामीले रोकेका गाडीमा पशु ढुवानी मापदण्ड, २०६४ अनुसार हुनुपर्ने भेटेरिनरी प्रमाणपत्र पाइएको थिएन। त्यही भएर काठमाडौं क्वारेन्टाइनका अधिकृत बोलाएर कारवाही प्रक्रिया थालेका हौं,’ महासंघले काभ्रेका लागि तोकेका प्रतिनिधि यज्ञप्रसाद पन्तले भने। पछिल्लो समय बिपी राजमार्ग हुँदै दैनिक ३० वटाको हाराहारीमा बोलेरो जिपमार्फत काठमाडौं उपत्यकामा जिउँदो ब्रोइलर कुखुरा ढुवानी हुने गरेको छ। यिनमा भारतको सीमावर्ती सहरबाट भित्रिएका रोगी कुखुरा ल्याइएको हुन सक्ने आशंकामा मंगलटार इलाका प्रहरी कार्यालयको सहयोगमा किसानसमेत अनुगमनमा बसेका हुन्।

पशु क्वारेन्टाइन कार्यालय काठमाडौंका पशु चिकित्सक एवं अनुसन्धानकर्ता डा. विकास धौबन्जारका अनुसार किसान र पोल्ट्री व्यवसायीले मंगलटारमा शंकास्पद रुपमा रोकेर राखेका कुखुरा ढुवानी साधनले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा  २०(४) अनरुप कसूर गरेका थिए। उनी भन्छन्, ‘अनुसन्धानकर्तासमक्ष उपलब्ध गराइएका बिललगायत भेटेरिनरी प्रमाणपत्रका आधारमा सप्लायर्स र ढुवानकिर्ताले कसूर गरेको देखियो र कुखुरा ढुवानीकर्तालाई सचेत गराउने तथा सम्बन्धित फार्म/कम्पनीलाई कसूरअनुसार जरिवानासमेत भराइएको छ,’ धौबन्जारले भने। सो क्रममा मानध्वज तामाङ, भोमी कोल्ड स्टोर/भोमी दाना उद्योगलाई काभ्रे जिल्लाबाट काभ्रे जिल्लामै ओसारपसार गरेको हुँदा भेटेरिनरी प्रमाणपत्र राम्रोसँग जारी गराएरमात्रै ओसारपसार गर्नू भनी सचेत गराइएको छ। यस्तै, सिन्धुलीका बा१९च ७६९७ का चालक झमन थापालाई दुई हजार र सेजा पोल्ट्री फार्म एन्ड सेजा फिड सेन्टर, धनुषाको प्रदेश नं २–००४३ का गाडी चालक मुकेश लामालाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ।

पछिल्लो समय रोगी तथा अस्वस्थ कुखुरा ओसारपसार गर्नेले पशु चिकित्सकले जारी गर्ने भेटेरिनरी प्रमाणपत्रसमेत दुरुपयोग गर्ने गरेकाले किसान र उत्पादक पोल्ट्री फार्मको यकिन गरेरमात्रै यस्तो प्रमाणपत्र जारी गर्नसमेत धौबन्जारले पशु चिकित्सकलाई अनुरोध गरेका छन्। उता, इलाका प्रहरी कार्यालय मंगलटारका निमित्त प्रमुख एवं प्रहरी नायव निरीक्षक बाबुराम कार्कीले ड्युटीका प्रहरीले भेटेरिनरी प्रमाणपत्र साथमा लिएर कुखुरा ढुवानी भएको छ कि छैन भनेर मात्रै हेर्ने भएकाले रोगी कुखुरालगायत अन्य प्राविधिक कुराबारे पशु क्वारेन्टाइनका प्राविधिकले सघाइदिनुपर्ने सुझाव दिएका छन्। भारतीय सीमासहित पूर्वी तराईलाई जोड्ने वैकल्पिक राजमार्गका रुपमा परिचित बिपी राजमार्गमा दिनहुँ कृषि उत्पादनहरु, तयारी मासु, जिउँदा ब्रोइलरका साथै अन्य पशुपक्षी ढुवानी हुने भए पनि कृषि र पशु दुवैको क्वारेन्टाइन कार्यालय छैन।

यही अवस्थाको फाइदा उठाउँदै निर्वाध रुपमा बिनाचेकजाँच कृषि उत्पादन र पशुपक्षी यही नाका हुँदै काठमाडौं उपत्यका भित्रने गरेको छ। बिपी राजमार्ग हुँदै भारतीय सीमाबाट निर्वाध रुपमा रोगी पशुपक्षी ओसारपसार हुने दृष्टान्त दिँदै काभ्रेका पोल्ट्री व्यवसायीले मंगलटार नाकामा अस्थायी क्वारेन्टाइनको माग गर्दै आएका छन्। कुखुरा व्यवसायी मञ्च, नेपालका अध्यक्ष नारायण थापा भन्छन्, ‘भारतसँगको खुला सिमाना भएको कारण ओसारपसार हुने पशुपक्षीको निगरानी र तिनीहरुबाट भित्रिन सक्ने संक्रामक रोग नियन्त्रण गर्नु सरकारको दायित्व हो। पछिल्लो समय मंगलटारमा क्वारेन्टाइन नभएको हुँदा जस्तोसुकै स्वास्थ्य अवस्थाका पशुपक्षी (विशेष गरी ब्रोइलर कुखुरा) काठमान्डौं उपत्यकामा भित्रिरहेको छ। यसले नेपालका कुखुरापालक किसान मर्कामा पर्ने नै भए। रोगव्याधीसमेत भित्रने भयो। तसर्थ सबै सरोकारवालाले भूमिका खेल्नुपर्‍यो।’

पशु सेवा विभागमातहतको पशु क्वारेन्टाइन कार्यालय, काठमाडाैँले काठमाडाैँ सहित ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लालाई हेर्दै आएको छ। कार्यालयमातहत चितवन रामनगर, सिन्धुपाल्चोक तातोपानी र त्रिभुवन  अन्तर्राष्ट्रिय बिमानस्थल पशु क्वारेन्टाइन चेकपोस्ट रहेको छ। यस्तै, रसुवागढी र नागढुंगामा अस्थायी पशु क्वारेन्टाइन चेकपोस्ट रहेको छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App