१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कोरोना बहानामा कालोबजारी, मूल्यवृद्धिको मारमा उपभोक्ता

काठमाडौं - ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो। नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्रस्ट रूपमा भनेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन।’ तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्याँसमा कालोबजारी हुने सम्भावना बढेको छ।

अर्थशास्त्रको सिद्धान्तअनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ। तर कहिले व्यापारीको मिलेमतोको सिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्। त्यही बहानामा कालोबजारी मौलाउँछ। त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्कातिर व्यापारीले फाइदा उठाउँछन्। ग्यास पछिल्लो उदाहरण मात्र हो।

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन। तर पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै चिकित्सकले मास्क लगाउन भनेका छन्। सोही मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन्। १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ। शुक्रबार प्रिया ट्रेडर्सले एक सय १० रुपैयाँ पर्ने सेनिटाइजर तीन सय रुपैयाँमा बेचेको फेला पारेपछि महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडको टोलीले सञ्चालक अनिल गुप्तालाई नियन्त्रणमा लिएको छ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन् ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्। अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’

खरिद महँगो भएपछि धेरै मूल्यमा बिक्री गर्नु स्वाभाविक भए पनि माग बढ्नासाथ व्यापारीहरू दोब्बर÷तेब्बर मूल्य लिएर सामान बिक्री गर्न थाल्छन्। कुनै वस्तुको बजार माग बढेपछि सामान अभाव भएको बहाना बनाएर उनीहरू चर्को मूल्य लिएर सामान बेच्न उद्यत हुन्छन्। बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्,’ उनले भने, ‘अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’

माग र आपूर्तिका आधारमा मूल्य घटबढ हुने भए पनि व्यापारीहरू अस्वाभाविक रूपमा वस्तुको भाउ बढाउँछन्। नेपालमा खुला बजारको सिद्धान्तविपरीत बजार सञ्चालन भएको छ। कतिपय वस्तुमा व्यापारीहरू मिलेमतोमा कार्टेलिङ गरेर सामानको मूल्य बढाउँछन्। त्यसको उदाहरण अघिल्लो महिना कुखुराको मासुमा भएको अचाक्ली मूल्यवृद्धि हो। कुखुरा व्यापारीको मिलेमतोमा दुई सय ५० रुपैयाँ किलोको मासुको मूल्य चार सय २० रुपैयाँ पु¥याइएको थियो। केही समयअघि चल्ला र अण्डा नष्ट पारी अभाव सिर्जना गरेर कुखुराको भाउ बढाइएको थियो। यस अर्थमा व्यापारीले आफैं बजार चक्र प्रभावित पारेर अभाव सिर्जना गरी कालोबजारी गर्दै आएका छन्। चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनबाट लसुन आयात घट्नासाथ एक सय ३० रुपैयाँ किलोको लसुन मूल्य बढाएर सात सय ५० रुपैयाँसम्म पु¥याइयो। अहिले कुखुरा र लसुनको मूल्य घटेको छ।

केही वर्षअघि भारतले नेपालमाथि नाकाबन्दीका बेला पनि पेट्रोलियम पदार्थलगायत दैनिक खाद्यान्न वस्तुमा कालोबजारी भएको थियो। कोरोनाको बहानामा फेरि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी हुन सक्ने संकेत पाएको सरकारले तीन महिनालाई पुग्ने खाद्यान्न, औषधि रहेको प्रस्टीकरण दिएको छ। दैनिक उपभोग्य वस्तुमा खरिद मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राखे कालोजबारी ठहरिने भए पनि मनपरी ढंगले मूल्य बढाएर बिक्री गर्ने परिपाटी हटेको छैन।

सरकारले कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रयास गर्दै आए पनि पूर्ण रूपमा सफलता हात पार्न सकेको छैन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्क बिक्री गर्दा कालोबजारी गर्ने नेपाल केयर सर्जिकल सप्लायर्स क्षेत्रपाटीका सञ्चालकलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। विभागले मास्क लुकाउने र बढी मूल्यमा नबेच्न अनुरोध गर्दै त्यस्तो गरिएको पाइए कारबाही र जरिवाना दुवै गर्ने चेतावनी दिएको छ। सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा कालोबजारी बढेको उपभोक्ता अधिकारकर्मी बताउँछन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अनावश्यक हल्ला चलाएर कालोबजारी हुने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न उपभोक्ता स्वयं सचेत हुनुपर्नेमा जोड दिए। ‘दैनिक उपभोग्य वस्तुहरूको अभाव सिर्जना हुने हल्ला चलाएर कालोबजारी हुने गरेको छ,’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘उपभोक्ताले सूचना दिएर सरकारलाई सघाउनुपर्छ।’ मन्त्री भट्टले खाना पकाउने ग्याँस, दैनिक उपभोग्य वस्तुहरू पर्याप्त रहेकाले नआत्तिन आग्रह गरे। अनुगमनका लागि संयन्त्र परिचालन गरिसकिएको उनको भनाइ छ।

जनता सरकारप्रति आश्वस्त हुन नसक्दा र प्रभावकारी अनुगमन संयन्त्र नहुँदा कालोबजारी बढेको सरोकारवाला बताउँछन्। सांसद गगन थापाले सामान अभाव हुन नदिन सरकारले नागरिकलाई आश्वस्त पारेर कालोबजारी रोक्नुपर्ने बताए। ‘सामान होल्ड नगर्न सरकारले अपिल गर्नुपर्छ,’ शुक्रबार व्यवस्थापिका संसद् बैठकमा थापाले भने, ‘कालोबजारी गर्नेलाई कडाभन्दा कडा दण्ड दिनुपर्छ।’ थापाले कालोबजारी नियन्त्रण गर्न संयन्त्र बनाएर अनुगमन गर्न सरकारलाई सुझाव दिए।

बजारमा सामानको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु भएपछि नेपाल उद्योग वाणिज्य महासंघले बिक्री तथा वितरण प्रणाली पारदर्शी बनाउन आग्रह गरेको छ। कोरोना भाइरसको सन्त्रासले उपभोक्ता आत्तिएर सामान स्टक गर्न थालेपछि अत्यावश्यक वस्तु मास्क, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थको व्यवस्थापन, बिक्री–वितरण र ढुवानी पारदर्शी गर्न र संयमित तथा जिम्मेवार बन्न संघले आग्रह गरेका हो।

सेवा क्षेत्रका पर्यटन उद्योग, औषधिजन्य उद्योगहरूमा यसको असर पर्ने र बिस्तारै अन्य उद्योगहरूमा समेत गम्भीर समस्या पर्ने भन्दै महासंघले त्यसतर्फ सचेत हुन पनि आग्रह गरेको छ। बजारमा औषधिको अभाव र मूल्यवृद्धि हुन नदिने नेपाल औषधि उत्पादक संघले जनाएको छ। भारतले केही औषधि निर्यातमा रोक लगाएपछि अभाव हुन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका बेला संघले प्रस्ट पारेको हो।

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App