३० वैशाख २०७८ बिहीबार
अर्थ

कफी जिल्लाकै किसान चिन्तित

गुल्मी – लामो समयदेखि व्यावसायिक रुपमा गरिँदै आएको कफी खेतीमा सेतो गबारोको प्रकोप बढेपछि गुल्मेली कफी किसान चिन्तित भएका छन्। सेतो गबारोको प्रकोप बढेपछि सयौंको संख्यामा कफी बोट फाँडिएको कृषकको भनाइ छ।

४० वर्ष अगाडिदेखि व्यावसायिक रुपमा कफी खेती गर्दै आएका रुरु–४ सिदुरेका किसान हर्क बहादुर रेस्मीका अनुसार सेतो गबारोले कफीका बोट सुक्न थालेपछि बोट फाँडिएको बताए। करिब तीन सय बोट कफीबाट वार्षिक ५० हजारभन्दा रुपैयाँ आम्दानी गर्ने बताउने रेस्मीले अहिले एक सय बोट मात्रै रहेको बताए। ‘तीन सय बोटबाट बढाएर पाँच सय पु¥याउने लक्ष्य थियो,’ हर्क बहादुर भन्छन्, ‘सबै बोटमा सेतो गबारो लागेर बोट फाँडन वाध्य भइयो।’ सेतो गबारोको प्रकोप नियन्त्रण गर्न नसकिए व्यावसायिक रुपमा ४० वर्षदेखि आफूले गर्दै आएको कफी खेती हराउने उनले बताए। ‘पहिले पहिले त अलिअलि बोटको माथिपट्टी मात्रै किरा देखिन्थ्यो,’ सुकेको कफीको बोट देखाउँदै उनले भने, ‘अहिले त जरैदेखि नै खान थाल्यो, अबको एक वर्षमा त एक बोट पनि रहदैन होला।’

जिल्लामै व्यावसायिक कफी किसानका रुपमा कहलिएका रुरु गाउँपालिका–४ कै जंगबहादुर पचभैयाले पनि कफीमा लागेको सेतो गबारोले हैरान भएका बताए। २०३८ देखि जिल्लामा कफी खेती गर्दै आएको हुँ,’ उनी भन्छन्, ‘पछिल्लो दुई–चार वर्षमा सेतो गबारोको प्रकोप नियन्त्रण गर्न नसक्ने गरी नै फैलियो।’ विदेशी बजारको मागअनुसार अर्गानिक कफी खेती गरेकाले रासायनिक विषादी प्रयोग नगर्ने उनले बताए। रासायनिक विषादी प्रयोग गर्न नपाउँदा जैविक विषादीले कफीमा लागेको सेतो गबारो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ। उनका अनुसार बर्सेनि ४०–५० वटा कफीका बोट सेतो गबारोकै कारणले हट्ने बताए। २०५४ देखि कफीको नर्सरीसमेत सुरु गरेका जंगबहादुर अहिले जिल्लाका कफी किसानलाई कफीसम्बन्धी पर्ने समस्याको समाधान, सेतो गबारोको उपचार गर्न गाउँ–गाउँमा पुगे पनि आफ्नै कफी बगैंचामा समेत सेतो गबारोले कफी बोट सुकेको बताए। ‘के गर्ने आफूले जानेको जैविक विषादी प्रयोग गर्ने हो,’ उनले भने, ‘प्रकोपकै रुपमा फैलिएपछि धेरै समस्या हुँदो रहेछ।’ कफीबाटै उनले वार्षिक एक लाख रुपैयाँ आम्दानी गर्ने बताए।

गबारोकै कारण बर्सेनि जिल्लामा कफी उत्पादन घटेको कफी सम्बन्धी काम गर्ने संघसंस्थाले जनाएका छन्। जिल्ला सहकारी संघ गुल्मी र कफी सहकारी संघ बलेटक्सारले जिल्लाका किसानको कफी खरिद गर्ने काम गर्दै आएका छन्। उनीहरुले किसानसँग खरिद गरि प्रशोधन गरेर बाहिर पठाउने कामसमेत गर्दै आएका छन्। जिल्ला सहकारी संघ गुल्मीका व्यवस्थापक युवराज आचार्यका अनुसार ०७५÷७६ मा गुल्मीमा ३७ मेट्रिक टन कफी उत्पादन भएको थियो। जिल्लामा उत्पादित गुल्मेली कफी देशका विभिन्न जिल्लाका साथै जापान, कोरिया, जर्मन, फान्स्रलगायत देशमा निर्यात हुने आचार्यले बताए। ‘रुरु, मुसिकोट, छत्रकोट, गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, मदाने, रेसुंगा, धुर्कोट, मालिका, कालीगण्डकी, चन्द्रकोट गाउँपालिकामा उत्पादित कफीको ८० प्रतिशत विभिन्न कम्पनीमार्फत विदेश निर्यात हुन्छ,’ आचार्यले भने, ‘निर्यातित कफीबाट लाखौं रूपैयाँ आर्जन गर्दै आएका किसानको कफी उत्पादन रोग किराका कारण आगामी वर्ष घट्ने देखिन्छ।’ गुल्मीका एक हजार आठ सय २० किसानले एक सय ७८ हेक्टर क्षेत्रफल जमिनमा कफी खेती गर्दै आएका छन्। जिल्लामा कफी खेती गरेर जीविका निर्वाह गर्ने किसानसमेत रहेका छन्।

जिल्लाभर नै कृषकको कफी बगैंचामा सेतो गबारोको प्रकोप बढी देखिएको प्राविधिकको भनाइ छ। कफी अनुसन्धान कार्यक्रम भण्डारी डाँडाका प्रमुख वरिष्ठ कफी वैज्ञानिक कृष्ण थापाका अनुसार पाँच–सात वर्षअगाडि देखा परेको सेतो गबारो किरा तीव्र गतिमा फैलिएको बताए। ‘जिल्लाका केही स्थानमा त सेतो गबारोले किसानलाई नराम्रोसँग सताएको छ,’ थापा भन्छन्, ‘चिस्यान र सिँचाइको व्यवस्था राम्रो भएको ठाउँमा भने गबारोको प्रकोप कम छ।’ गबारोका कारण सुरुमा पात ओइल्याउने फल तथा बोट सुक्दै मर्ने गरेको लक्षण देखिने भए पनि आफूहरुले जिल्लामा सेतो गबारोको नियन्त्रण तथा व्यवस्थापनमा जुटेको उनको भनाइ छ। 

थोरै जग्गाबाट राम्रो उत्पादन भएपछि मूल बारी नै मासेर अर्गानिक कफी लगाई विदेशी मुद्रा आर्जन गर्दै आएका कृषक कफी खेतीमा किराको प्रकोपका कारण बगैंचा नै सखाप भएपछि कफी खेतीबाटै विस्थापित हुने अवस्थामा पुगेका छन्। नेपालकै कफीको उद्गमस्थल मुसिकोट नगरपालिकाको आपचौरमा कुनै समय ‘एक घर एक कफी’ अभियान नै सुरु भएको थियो। तर, बिस्तारै कफीका बोट मर्न थालेपछि किसान पुरानै पेसामा फर्किन थालेको स्थानीय समाजसेवी जीवन खरेल बताउँछन्। ‘गाउँमा किसानले बारीभरी नै कफी रोपेका थिएँ, वार्षिक राम्रो आम्दानी पनि गर्थे,’ उनले भने, ‘तर अहिले रोगकै कारण बिरुवा पनि मर्न थालेपछि पुरानै खेतीमा किसान फर्किन थालेका छन्।’ आपचौरका अधिकांशले कफी खेती गर्ने किसानले कफी खेती गर्न छाडेका छन्।

यता, मुसिकोट नगरपालिकाले भने व्यावसायिक कफी खेती गर्ने किसानलाई अनुदानको कार्यक्रम अगाडि सारेर कफी खेतीलाई व्यावसायिक बनाउनेतर्फ लागेको छ। नगर प्रमुख सोमनाथ सापकोटा मुसिकोट नगरपालिकालाई कफी हबको रूपमा विकास गर्ने योजना रहेको बताउँछन्। ‘मुसिकोट नगरपालिका कफीको उद्गमस्थल हो,’ नगरप्रमुख सापकोटा भन्छन् ‘नगरलाई कफी हबको रूपमा अगाडि बढाउने योजना छ, कफी खेतीतर्फ आकर्षण बढाउन एक सय बिरुवा रोपेका किसानलाई १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएका छौं।’

२०४२ मा स्थापना भएको कफी विकास केन्द्रले गुल्मीले कफीको बीउ र बिरुवा उत्पादन गरिरहेको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत बद्रीप्रसाद पौडेलले बताए। ‘केन्द्र स्थापनादेखि नै यहाँ निरन्तर कफीको बीउ र बिरुवा उत्पादन गरेका छौं,’ पौडेलले भन्छन्, ‘कफीको माग धेरै छ, तर, उत्पादन गर्ने ठाउँ सानो भएकाले समस्या छ।’ उनका अनुसार जिल्लामा सेतो गबारोले किसान निरास भएर कफी रोप्न कम गरे पनि बाहिरी जिल्लाबाट भने कफीको बीउ र बिरुवा बढी माग भएको बताए। पछिल्लो समय कफीको बीउ र बिरुवाको माग बढ्दै गएकाले उत्पादन गर्ने ठाउँको अभाव देखिएको उनले गुनासो गरे। यहाँ उत्पादन भएको बीउ र बिरुवा पाल्पा, स्याङ्जा, अर्घाखाची, ललितपुरसम्म पुग्ने गरेको पौडेलले बताए।

प्रकाशित: १ मंसिर २०७६ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?