२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

भक्तपुरमा विश्वप्रसिद्ध रुसी लेखक चेखवको १६६ औं जन्मजयन्ती मनाइयो

विश्वप्रसिद्ध रुसी लेखक एवं साहित्यकार अन्तोन चेखवको १६६ औं जन्मजयन्तीका अवसरमा भक्तपुरमा विशेष साहित्यिक साँझ सम्पन्न भएको छ।

बुधबार नेपाल-रुस साहित्य समाज (नेरुसास), रुसी सदन काठमाडौं र बुक क्लब भक्तपुरको संयुक्त आयोजनामा भक्तपुर दरबार स्क्वायरस्थित ‘ख्वपछेँ’ मा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा वक्ताहरूले विश्व साहित्यमा चेखवको योगदानको चर्चा गर्दै उनलाई ‘कथा शिरोमणि’ का रूपमा स्मरण गरे।

कार्यक्रमका प्रमुख प्रस्तोता कवि अभय श्रेष्ठले चेखवका कथा र नाटकहरूको समीक्षा गर्दै उनका रचनाले जीवनका नयाँ सत्यहरूसँग साक्षात्कार गराउने बताए।

चेखव पेसाले डाक्टर भए पनि व्यक्ति र समाजको मनोविज्ञान बुझ्ने प्रखर विश्लेषक रहेको र उनले समाजको यथार्थलाई इमानदारीपूर्वक चित्रण गरेकोमा वक्ताहरूले जोड दिए।

पूर्वराजदूत एवं साहित्यकार प्रा. डा. जंगब चौहानले आफूले चेखवको घर र सङ्ग्रहालय भ्रमण गर्दाको अनुभव सुनाउँदै रुसी नागरिकले साहित्यकारप्रति गर्ने सम्मान अनुपम रहेको बताए।

त्यस्तै, रुसी सदनकी निर्देशक अनस्तासिया खोख्लभाले चेखवका कथाका पात्रहरू नेपाली समाजमा पनि भेटिने हुँदा यहाँका पाठकहरूले उनका रचनासँग आत्मसात् गर्न सकेको बताइन्।

नेरुसासका महासचिव रामविन्दु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बुक क्लबका दिनेश प्रधानले स्वागत मन्तव्य राखेका थिए। महासचिव श्रेष्ठले साहित्यले देश, पुस्ता र भिन्न भूगोललाई जोड्ने पुलको काम गर्ने बताए।

कार्यक्रममा भक्तपुरका विद्यार्थी विराट मानन्धरले चेखवको चर्चित कथा ‘कारिन्दाको मृत्यु’ वाचन गरेका थिए भने रामविन्दु श्रेष्ठले उक्त कथाको दार्शनिक पक्षबारे विश्लेषण गरे। सो अवसरमा कवयित्री शकुन्तला जोशीले कविता पाठ गरेकी थिइन्।

कार्यक्रमको दोस्रो सत्रमा रुसी सदन तथा लेखकद्वय विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यका तर्फबाट ‘बुक क्लब’ लाई पुस्तकहरू उपहार प्रदान गरिएको थियो।

नेरुसासका उपाध्यक्ष चन्द्रकान्त आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष विष्णुबहादुर सिंहले साहित्यले मानिसलाई अझै बढी मानवीय बनाउनुपर्छ भन्ने चेखवको भनाइ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

प्रकाशित: १७ माघ २०८२ १९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App