१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

हलेसी–दिक्तेल सडक खण्ड कालोपत्रे

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–दिक्तेल ३५.४३ किलोमिटर सडक खण्ड कालोपत्रेका काम पूरा भएको छ। दुई वर्षभित्रै कालोपत्रेको काम सम्पन्न गर्नेगरी २०७१ साउन २४ देखि स्तरोन्नतिको काम थालेको निर्माण कम्पनीले म्याद गुज्रिएको वर्षौंपछि सडक कालोपत्रेको काम पुरा गरेको हो।

हलेसी–बिजुले (१२ किमि), बिजुले–हुर्लुङ (१२ किमि) र हुर्लुङ–दिक्तेल (११.४३ किमि) गरी तीन खण्डमा विभाजन गरेर कालोपत्रे थालिएकामा हाल बिजुले–हुर्लुङको ट्राफिक चिन्ह, पोस्ट प्रिन्टलगायत काम भइरहेको हलेसी–दिक्तेल सडक आयोजना प्रमुख विजय थापाले बताए। ‘एसियाली विकास बैंक  (एडिबी)को प्रोजेक्टमा एक प्रतिशत काम बाँकी रहेको अवस्थालाई पनि निर्माण सम्पन्न भएको मानिन्छ। यस हिसाबले हलेसी–दिक्तेल सडक कालोपत्रेका काम सकिएको हो,’ आयोजना प्रमुख थापाले भने, ‘तीन प्याकेजमध्ये दुई नम्बर प्याकेज (बिजुले–हुर्लुङ)मा केही काम बाँकी छ। त्यो काम पनि भइरहेको छ।’

हलेसी–दिक्तेल सडक खण्डको कालोपत्रेको काम पूरा भएसँगै परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्ड सोइल टेस्ट जेभीले नुनथलाबाट आफ्नो सम्पर्क कार्यालय हटाइसकेको छ। हलेसी–बिजुले र हुर्लुङ–दिक्तेलको कालोपत्रेको काम सकिएसँगै निर्माण कम्पनीलाई एकवर्षे मर्मतसम्भार अवधिसहितको कार्य सम्पन्न प्रमाणपत्र प्रदान गरिसकिएको परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट इन्जिनियर सुर्यप्रसाद ढकालले बताए। ‘तीन खण्डमध्ये दोस्रो प्याकेजमा साइनबोर्ड राख्ने काम मात्र बाँकी रहेको छ,’ रेजिडेन्ट इन्जिनियर ढकालले भने, ‘काम सम्पन्न गरिसकेको निर्माण कम्पनीलाई कम्प्लेसन सर्टिफिकेट दिइसकिएको छ।’

एडिबीको करिब ५२ करोड खर्चमा हलेसी–दिक्तेल सडकको ६.५ मिटर चौडाइमा कालोपत्रे गरिएको हो। हलेसी–बिजुले खण्डको कालोपत्रेको ठेक्का लुम्बिनी–कन्काई–सुर्य जेभी, बिजुले–हुर्लुङको ठेक्का लामा–नागार्जुन जेभी र हुर्लुङ–दिक्तेल कालोपत्रेको ठेक्का लामा–नागार्जुन–त्रिसुली जेभीले लिएको थियो। १७ करोड ८२ लाख ६६ हजार रुपैयाँमा दुई वर्षभित्र पूरा गर्नेगरी हलेसी–बिजुले सडक खण्ड कालोपत्रेका लागि १२ जुन २०१४ मा ठेक्का सम्झौता भएको थियो।

यस्तै, करिब १८ करोड २७ लाख १३ हजारमा दुई वर्षमै सक्ने गरी १४ जुन २०१४ मा बिजुले–हुर्लुङ र १७ करोड ७८ लाख ७४ हजार सात सय ४४ रुपैयाँमा कालोपत्रे पूरा गर्नेगरी सोही मितिमा हुर्लुङ–दिक्तेल खण्डको सम्झौता गरिएको थियो। कालोपत्रे भएसँगै हाल चिल्ला सडकमाथि सवारी साधन गुडिरहेका छन््। सडक र पुल अभावमा २०६४ मा हेलिकप्टरबाट दुईवटा गाडी भित्र्याइएको जिल्लामा कालोपत्रेसँगै हलेसी–दिक्तेल सडक हिउँद–वर्षा चल्ने अवस्थामा पुगेको छ।

मध्यपहाडी लोकमार्गको कालोपत्रेकाक्रममा ढिलासुस्ती र गुणस्तरका विषयमा भने पटक–पटक आवाज उठेको थियो। केही वर्ष अघिसम्म एक–दुईवटा घर, पसल तथा होटल बनेको स्थानमा लोकमार्ग कालोपत्रेसँगै दर्जनौं घर, पसल तथा होटल बनिसकेका छन्। लोकमार्गले छोएका र आसपासका वडाबाट पायक पर्ने स्थानमा क्रमशः बजारीकरण हुने क्रम बढ्दो छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App