३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

च्याउखेतीमा व्यस्त लोखिम वडा

पराले च्याउ खेतीमा व्यस्त जनप्रतिनिधि। तस्बिर : नागरिक

सोलुखुम्बु – ग्रामीण भेगका उपभोक्ता अधिकार सुनिश्चित गर्न पटक–पटक होटल पसलको अनुगमन गर्दै आएको सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमले वडा कार्यालयको नेतृत्वमा च्याउ खेती सुरु गरेको छ।

स्थानीय सम्भावनासँगै युवालाई गोलबन्द गर्ने र वडा कार्यालयको आन्तरिक आम्दानी वृद्धि गर्ने उद्देश्यले च्याउ खेती सुरु गरिएको वडाध्यक्ष भुपालसिं राईले बताए।

पहिलो चरणमा २५ सय केजी च्याउ उत्पादन गर्ने र वडाका हरेक घरधुरीलाई बिक्री गर्ने गरी खेती सुरु गरिएको जनाइएको छ। वडाध्यक्ष राईले भने, ‘एउटा त वडाको आन्तरिक आम्दानी वृद्धि गर्ने हो, युवालाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्य हो।’ यो अभियानले निर्वाहमूखी परम्परागत कृषि खेती प्रणालीलाई विस्तापित गर्न सहयोग पुग्ने वडाध्यक्ष राईको भनाइ छ।

कृषि प्राविधिक नियुक्त गरी सुरु गरिएको च्याउ खेतीको बजार नै वडाभित्रका घरधुरी रहेको वडा कार्यालयले जनाएको छ। उत्पादन सुरु हुनासाथ च्याउ हरेकको घरघरमा पु¥याउने र बिक्री गर्ने योजना बनाइएको छ। चालु आवमा मात्र वडा कार्यालयले विभिन्न प्रयोजनका लागि २० रोपनी जग्गा भाडामा लिएको छ।

उक्त जग्गामा लोखिम हेल्थ पार्क नाम दिएर कृषि उद्यम, फोहोर व्यवस्थापन स्थललगायत संरचना तयार पार्ने वडाध्यक्ष राईले जानकारी दिए। ‘प्लास्टिक र सिसाजन्य वस्तु संकलन गरेर पुनः प्रयोगका लागि सम्बन्धित स्थानमा पठाउछौं। आफ्नो गाउँ सफा राख्नुपर्छ भन्नेमा पूर्ण प्रतिबद्ध छौं,’ उनले भने।

‘हामी आफ्नो लागि आफैं गर्नेछौं’ भन्ने नारासहित अघि बढेको लोखिम वडा कार्यालयले वडालाई समृद्ध बनाउन युवायुवतीलाई गोलबन्द गर्ने अभियान जुटेको छ। गोरेटो बाटो सफाइमा जुटेको लोखिम वडाले गाउँको अलवा काठमाडौंस्थित लोखिम हाउसबाट वडा कार्यालयको सेवा प्रदा नगर्दै आएको छ।

प्रकाशित: १० कार्तिक २०७६ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App