coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन महिनाभित्र चिप कार्ड अनिवार्य

जिपी भण्डारी

काठमाडाैं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो डेबिट वा क्रेडिट कार्डलाई तीन महिनाभित्र चिपमा आधारित बनाउन निर्देशन दिएको छ।

ह्याकरहरुले म्याग्नेटिक स्ट्राइप कार्ड प्रयोग गरी काठमाडौं र भारतका एटिएम बुथबाट नेपाली बैंकहरुको रकम चोरेपछि राष्ट्र बैंकले दुई वर्षअघि दिएको निर्देशन पूर्ण रुपमा पालना गर्न सम्झाएका हो। 

चिनियाँ ह्याकरहरुले एटिएम बुथबाट साढे तीन करोड रुपैयाँभन्दा बढी रकम चोरेपछि अनुसन्धान गर्न गठित टोलीले पनि चिप कार्ड अनिवार्य गर्न सुझाएको छ।

चिपको तुलनामा म्याग्नेटिक स्ट्राइप कार्डबाट ह्याकिङ गर्न सजिलो हुने भन्दै अनुसन्धान टोलीले सबै बैंक, वित्तीय संस्था चाँडोभन्दा चाँडो चिप कार्डमा जानुपर्ने सुझाव दिएको छ।

केन्द्रीय बैंकले दुई वर्षअघि नै सबै बैंक, वित्तीय संस्थालाई चिपमा आधारित एटिएम कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएको थियो। तर, कतिपय बैंकले अझैसम्म परिवर्तन नगरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।

‘एटिएम प्रणालीमा के कमजोरी थियो भन्ने थाहा भई नसके पनि ह्याकर समूहले म्याग्नेटिक स्ट्राइप कार्ड प्रयोग गरी चोरी गर्न सफल भएकाले आगामी तीन महिनाभित्र सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई चिप कार्ड प्रयोगमा ल्याइसक्न निर्देशन दिएका हाैं,’ उनले भने। 

पछिल्लो चोरीमा चिप कार्ड प्रयोग नभएकाले आगामी दिनमा यस्ता घटना रोक्ने उद्देश्यले अबदेखि चिप कार्डमात्र प्रचलनमा ल्याउन बैंक, वित्तीय संस्थालाई भनेको निरौलाको भनाइ छ। अब पनि निर्देशन नटेर्ने बैंक, वित्तीय संस्थालाई कडा कारबाही गर्ने उनले बताए।

राष्ट्र बैंक र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सहकार्यमा अनुसन्धान गर्न गठित टोलीले कमजोर सुरक्षा प्रणालीका कारण चोरी भएको निष्कर्ष निकालेको छ।

राष्ट्र बैंकको भुक्तानी तथा फस्र्योट विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित उक्त टोलीले तयार पारेको प्रतिवेदन अनुसार बैंकहरुको सुरक्षा प्रणाली कमजोर भएकाले रकम चोरी भए पनि प्रणालीमा के कमजोरी थियो भन्ने पहिचान भएको छैन। फरेन्सिक टोलीको प्रतिवेदन आएपछि मात्र कमजोरी पत्ता लाग्ने बताइएको छ। ह्याकिङ प्रकरणको सत्थ, तथ्य पत्ता लगाउन सिंगापुरबाट फरेन्सिक टोली आएर काम थालिसकेको छ।

चोरीको घटनापछि राष्ट्र बैंकले एक दिनमा एटिएमबाट निकाल्न पाइने रकमको सीमा घटाएर ६० हजार रुपैयाँ कायम गरेको छ। यसले सर्वसाधारणलाई रुष्ट बनाएको छ।

राष्ट्र बैंकको उक्त निर्णयले व्यापारी, व्यवसायीलाई थप समस्या हुने महाबौद्धका कपडा होलसेलर राम अधिकारी बताउँछन्।

एक दसकदेखि व्यापार गर्दै आएका उनी भन्छन्, ‘राष्ट्र बैंकले व्यापारीलाई सहज हुने व्यवस्था गरी हौसला दिनुपर्नेमा उल्टै आवश्यक पर्दा पनि खर्च गर्न नमिल्ने व्यवस्था गरिदियो।’

यसअघि डेबिट कार्डबाट दैनिक एक लाख रुपैयाँ झिक्न मिल्ने व्यवस्था रहेको बताउँदै उनले थपे, बैंकमा बचत गर्दा १० लाख रुपैयाँसम्मको स्रोत खोल्नु नपर्ने तर आफ्नै रकम खर्च गर्न सीमाभित्र बस्नुपर्ने नियमले व्यवसायीहरु निरुत्साहित छन्,’ उनले थपे।

बचतकर्ताको रकम सुरक्षित राख्न आवश्यक प्रविधि भित्र्याउनुको साटो उल्टै एटिएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएपछि बचतकर्ता आक्रोशित भएका छन्।

राष्ट्र बैंकले डेबिट कार्डबाट दैनिक बढीमा ६० हजार रुपैयाँ दिन बंैक तथा वित्तीय संस्थालाई निर्देशन दिएको प्रवक्ता निरौलाले बताए।

यसअघि, एटिएमवाट दैनिक एक लाख रुपैयाँसम्म झिक्न मिल्ने व्यवस्था रहेकोमा अब उक्त रकम ६० हजारमा सीमित गरिएको जानकारी दिँदै उनले थपे, ‘कुनै पनि मुलुकको खर्चको अनुपात आम्दानीको आधारमा तय गरिने भएकाले एटिएमको सीमा निर्धारणलाई सामान्य रुपमा लिनुपर्छ।’

तर, विज्ञहरु चोरीको घटनापछि भविष्यमा यस्ता घटना दोहरिँदा ठूलो नोक्सान नहोस् भनेर सीमा घटाएको बताउँछन्। ह्याकरहरुले प्रणालीमै प्रवेश गरी एटिएमबाट निकाल्ने रकमको सीमा बढाएर पैसा निकालेकोले राष्ट्र बैंकले सीमा तोक्नुको अर्थ नभएको तर्क गर्नेहरु पनि छन्।

विगतका गल्तीबाट पाठ सिकेर सुधार गर्ने र भविष्यमा यस्ता घटना रोक्न नयाँ प्रविधि प्रयोग गर्नुको साटो उल्टै बचतकर्तालाई आफ्नै पैसा खर्च गर्ने अधिकारबाट वञ्चित गरेको सर्वसाधारणको आरोप छ।

प्रकाशित: २३ भाद्र २०७६ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App