८ वैशाख २०८१ शनिबार
अर्थ

बिदेसिने घटे पनि मृत्यु संख्या उस्तै

काठमाडौं - वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटे पनि विदेशमा मृत्यु हुनेको संख्यामा भने गिरावट आउन सकेको छैन। पछिल्लो एक वर्षमा मलेसिया रोजगारी ठप्प भएका कारण त्यो मुलुक जाने युवा रोकिएका छन्। वैशाखको दोस्रो सातासम्म वैदेशिक रोजगारीको क्रममा विभिन्न गन्तव्य मुलुक पुगेका ४५ युवाको निधन भएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।

सोही अवधिमा विदेश जानेको संख्या २० हजार छ। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा विदेशमा मृत्यु हुनेको संख्या केही कमी देखिए पनि बिदेसिने युवाको तुलनामा झन् बढी रहेको हो। यस अवधिमा सबैभन्दा बढी मलेसियामा १६ युवाको निधन भएको छ।

मलेसियापछि धेरै संख्यामा ज्यान गुमाउने अर्को गन्तव्य साउदी अरेबिया हो। त्यहाँ ११ युवाको ज्यान गएको बोर्डले जनाएको छ। पछिल्लो एक वर्षयता सरकारले मलेसिया रोजगारी बन्द गरे पनि ज्यान गुमाएकाहरू बन्द गर्नुअघि त्यहाँ गएका हुन्।

त्यस्तै बितेका १० वर्षमा रोजगारीका लागि विभिन्न देश पुगेका सात हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्। बोर्डको तथ्यांकअनुसार २०६५ को साउनदेखि हालसम्म सात हजार दुई सय ५३ जनाले ज्यान गुमाएका हुन्। यो संख्या बोर्डको सचिवालयमा आर्थिक सहायता लिनेको मात्रै हो। यसबाहेक पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता नलिएका हुन्छन्। बितेको १० वर्षमा मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गएको छ।

यो अवधिमा मलेसियामा दुई हजार ६ सय दुई जनाको ज्यान गएको छ। मलेसियामा तीन सय सय ३८ जनाले आत्महत्या गरेका छन्। कार्डिक एरेस्टका कारण चार सय सात र प्राकृतिक कारणले चार सय ११ जनाको ज्यान गएको तथ्यांक बोर्डसँग छ।

बोर्डको तथ्यांकअनुसार २०६५ को साउनदेखि हालसम्म सात हजार दुई सय ५३ जनाले ज्यान गुमाएका हुन्।

कार्यस्थल दुर्घटना र सडक दुर्घटनाका कारण पनि धेरै नेपालीको ज्यान गएको छ। मलेसियामा मात्रै सडक दुर्घटनाका कारण एक सय ५५ र कार्यस्थलमा भएको दुर्घटनाका कारण दुई सय ५१ जनाको ज्यान गएको छ । हृदयघातका कारण दुई सय २४ जनाको ज्यान गएको छ भने यो अवधिमा २० जनाको हत्या भएको छ।

५९ जनाले बिरामीका कारण ज्यान गुमाएका छन् भने ८१ जनाको मृत्युको कारण पत्ता लाग्न सकेन। अन्य विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या मलेसियामा मात्रै ६ सय २६ पुगेको छ। साउदीमा सबैभन्दा धेरै नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन्।

बितेका १० वर्षमा सडक दुर्घटनाका कारण पाँच सय ७८ जनाको ज्यान गएको छ। एक सय ६४ जनाको कार्यस्थल दुर्घटनाका कारण ज्यान गएको छ। एक सय ६३ जनाले आत्महत्या गरेका छन् भने सात सय ४५ जनाको मृत्यु प्राकृतिक कारण भएको बताइएको छ। साउदीमा १० वर्षमा दुई नेपालीको हत्या भएको बोर्डको तथ्यांक छ।

कतारमा एक हजार चार सय १९ जनाको ज्यान गएकोमा सबैभन्दा धेरै कार्डिक एरेस्टको कारण रहेको छ। पाँच सय २१ जनाको कार्डिक एरेस्टका कारण ज्यान गएको छ। सडक दुर्घटनाका कारण एक सय १६ जना र कार्यस्थल दुर्घटनाका कारण एक सय ५४ जनाको ज्यान गएको छ। यो अवधिमा कतारमा एक सय २५ जनाले आत्महत्या गरेका छन्। १० वर्षमा २२ जनाको हत्या भएको छ।

हृदयघातका कारण एक सय १२ जनाको ज्यान गएको छ। बोर्डको तथ्यांकअनुसार युएईमा पाँच सय ८२ ले ज्यान गुमाएका छन्। कार्डिक एरेस्टका कारण एक सय ६४ जनाले ज्यान गुमाएका छन्। त्यसपछि सबैभन्दा धेरै सडक दुर्घटना र आत्महत्या गर्नेको संख्या धेरै छ। सडक दुर्घटनामा ७९ र आत्महत्या ९४ जनाले गरेका छन्।

प्राकृतिक कारणले ९९ र ३३ जनाको कार्यस्थल दुर्घटनामा ज्यान गएको छ। रोजगारीको आकर्षक मुलुक दक्षिण कोरियामा आत्महत्या गर्नेको संख्या धेरै छ। बितेका १० वर्षमा ३६ जना नेपालीले त्यहाँ आत्महत्या गरेका छन्। सडक दुर्घटनामा १४ जनाको ज्यान जाँदा ११ जनाको कार्यस्थलमै भएको दुर्घटनामा ज्यान गएको छ।

एक जनाको हत्या भएको छ भने हृदयघातका कारण ६ जनाको ज्यान गएको छ। १० जनाको प्राकृतिक कारणले मृत्यु भएको दक्षिण कोरियामा २३ जनाको अन्य कारणले ज्यान गएको छ। यो अवधिमा दक्षिण कोरियामा एक सय १७ जनाको ज्यान गएको छ।

विदेशमा ज्यान गुमाउनेमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात र आत्महत्या प्रमुख कारण देखिएका छन्। यो अवधिमा एक सय ६४ जना महिलाले विदेशमै ज्यान गुमाएका छन्। युएईमा १२ महिलाको सडक दुर्घटनाका कारण ज्यान गएको छ। त्यस्तै १८ जना महिलाले आत्महत्या गरेका छन्।

कुवेतमा आत्महत्या गरेर ३७ जनाले ज्यान गुमाएकामा १५ महिला छन्। हृदयघातका कारण ११ महिलाको कुवेतमा ज्यान गएको छ। लेवनानमा आत्महत्या गरेर ६ र प्राकृतिक कारणले ६ जना महिलाको ज्यान गएको छ। मलेसियामा नौ र बहराइनमा दुई महिलाले आत्महत्या गरेका छन्।

प्रकाशित: २६ वैशाख २०७६ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App