६ वैशाख २०८१ बिहीबार
अर्थ

विद्युतीय सामग्रीको गुणस्तर निर्धारण

काठमाडौं - कमसल विद्युतीय सामग्री प्रयोगले मानवीय क्षति र अनावश्यक विद्युत् खतप बढेको भन्दै सरकारले यसको गुणस्तर निर्धारण गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा विभिन्न विद्युतीय सामग्रीको गुणस्तर निर्धारण गरेको हो।

बजारमा प्रयोग भइरहेका इन्डक्सन चुलो, हिटर, आइरन, हट प्लेट लगायत दैनिक उपभोग हुने विद्युतीय सामग्रीको गुणस्तर मापदण्ड निर्धारण गरेको विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीले बताए। केही दिनअघि बसेको नेपाल गुणस्तर परिषद्को १००औं बैठकले नौवटा विभिन्न निर्णय गरेको हो।

हाल बजारमा प्रयोग भइरहेका विद्युतीय सामग्रीको मापदण्ड बन्न सकेको थिएन। कमसल र कम गुणस्तरका विद्युतीय उपकरणको प्रयोगले विद्युत्को प्रयोग धेरै हुने र मानवीय क्षति समेत हुने गरेको छ। ‘बजारमा आउने विद्युतीय सामग्री सुरक्षित र गुणस्तरीय हुनुपर्छ भनेर गुणस्तर स्वीकृति भएको छ,’ पुडासैनीले भने, ‘गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट पारित गरेर राजपत्रमा प्रकाशित गरिनेछ।’

आगामी दिनमा विद्युतीय सामग्रीको खपत बढ्दै जाने हुँदा ऊर्जा खपतलाई ध्यानमा राखेर मापदण्ड बनाउन लागिएको हो। ऊर्जा खपत, उपभोक्ताको सुरक्षा, आर्थिक पक्षलाई सघाउने, बर्सेनि आयात हुने अर्बौंको ग्यासमा कमी ल्याउन सकिने उद्देश्यका साथ मापदण्ड बनाउन लागिएको हो।

विभागले ‘इन्टरनेसनल इलेक्ट्रोटेक्निकल कमिसन’ले विश्वव्यापी रुपमा निर्धारण गरेको मापदण्डका आधारमा गुणस्तर निर्धारण गरेको जनाएको छ। उक्त कमिसनले दैनिक रुपमा प्रयोग हुने विद्युतीय सामग्रीको गुणस्तर कस्तो हुनुपर्ने, कस्तो सामग्री प्रयोग हुनुपर्ने लगायत विषयमा मापदण्ड निर्माण गरेको छ।

इन्डक्सन चुलो, हिटर, आइरन, हट प्लेट लगायत दैनिक उपभोग हुने विद्युतीय सामग्रीको गुणस्तर मापदण्ड निर्धारण

पछिल्लो समय मुलुकमा इन्डक्सन चुलोको प्रयोग बढ्दै गएको छ। बजारमा उपलब्ध भएका सबै इन्डक्सन चुलो सुरक्षित र गुणस्तरीय भने छैनन्। विभागले बजारमा रहेका इन्डक्सन चुलेको अध्ययन र परीक्षण समेत गरेको थियो।  
मुलुकमा विद्युत्को उपलब्धता बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले समेत यसको खपत बढाउन उपाय खोजिरहेको छ। विदेशबाट ग्यास ल्याएर खाना पकाउनुभन्दा बिजुलीबाट चल्ने इन्डक्सन चुलो प्रयोगले झन्डै २० प्रतिशत खर्च कम हुने पुडासैनी बताउँछन्। प्राधिकरणले इन्डक्सन चुलो प्रयोगलाई सुरक्षित बनाउँदै  बिजुली खपत बढाउने गरी कार्यक्रम ल्याउन चाहिरहेको उनले बताए।

विभागले स्वीकृत गरेको गुणस्तरमा हिटर, आइरन जस्ता विद्युतीय वस्तुमा कस्तो सामग्री प्रयोग हुनुपर्ने भन्ने स्पष्ट पारेको छ। गुणस्तरीय सामग्रीको प्रयोगले ऊर्जा बचतमा सहयोग गर्नेछ। बजारमा भेटिएका १२ सय वाटभन्दा माथिका यस्ता गुणस्तरीय विद्युतीय सामग्रीको ऊर्जा किफायती दर ९० प्रतिशतसम्म भेटिएको थियो। ‘ऊर्जा खपत कम हुँदा उपभोक्ताको आर्थिक पक्षलाई पनि सघाउ पुग्छ,’ पुडासैनीले भने, ‘हामीले बजारबाट यस्ता सामग्रीको नमुना परीक्षण समेत गरेका थियौं।’

त्यसैगरी, परिषद्ले उद्योग व्यवसायमा प्रयोग हुने कोइलाको परीक्षण विधिलाई एकरुपता दिने गरी गुणस्तर मापदण्ड पनि पारित गरेको छ। हरेक वर्ष सिमेन्ट लगायत विभिन्न उद्योगमा अर्बौं रुपैयाँको कोइला आयात हुन्छ। कोइलाको गुणस्तर परीक्षण विधिमा भने एकरुपता हुन सकेको छैन। कोइला परीक्षणमा एकरुपता होस् भनेर गुणस्तर प्रावधान निर्धारण गरेको पुडासैनीले बताए।

परिषद्ले नेपाली कागजसम्बन्धी गुणस्तर पनि स्वीकृत गरेको छ। यसअघि बनेका गुणस्तर प्रावधानलाई संशोधन गर्दै गुणस्तरको नयाँ मापदण्ड बनाउन लागिएको हो। नेपाली कागज बनाउन परम्परागत रुपमा उपलब्ध लोक्ताको प्रयोग हुँदै आएको छ। लोक्ताबाटै नेपाली कागज बनाउनुपर्ने भए पनि अहिले बाबियो, अर्गेलीको प्रयोग हुँदै आएको छ। विभागले बजारमा उपलब्ध नेपाली कागजको नमुना लिएर परीक्षण समेत गरेको थियो।

विभागले थप चार वस्तुमा नेपाल गुणस्तर अनिवार्य गर्न लागेको छ। उपभोक्ताको सुरक्षामा ध्यान दिँदै विभागले हेलमेट, हाउस ह्वायर, जस्ता, एलपिजी उत्पादनमा नेपाल गुणस्तर अनिवार्य गर्न लागेको हो। विभागले अहिलेसम्म विभिन्न ११ उत्पादनमा गुणस्तर चिह्न अनिवार्य गरिसकेको छ।

प्रकाशित: २० वैशाख २०७६ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App