अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा भौतिक संरचना निर्माणका लागि चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी प्रक्रिया अघि बढाइने भएको छ। शुक्रबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइको निणर्यबाट प्रदेशको नाम सुदूरपश्चिम र राजधानीको स्थान गोदावरीलाई पारित गरेपछि भौतिक संरचना निर्माणका गर्न डिपीआरको प्रक्रिया अघि बढाइने प्रक्रिया शुरु भएको हो।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता प्रकाश शाहका अनुसार चालु आव भित्रै प्रदेशको स्थायी राजधानी तोकिएको स्थान गोदावरीमा भौतिक संरचना निर्माणका लागि डिपीआर तयार गरिनेछ। चालू आवमा डिपीआर तथा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने प्रवक्ता शाहले जानकारी दिए।प्रदेशसभाको बैठकले दुई तिहाइ बहुमतबाट प्रदेशको नामकरण र स्थायी राजधानीको नामकरण टुङ्गो लगाइसकेकाले अब त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न प्रदेश सरकार लागिपरेको मन्त्री शाहले बताए। सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा प्रदेश सरकारले आफ्नो समयावधिभित्रै भौतिक संरचना निर्माण गरी कार्यसम्पादनको शुरुवात गर्ने लक्ष्य लिएको प्रवक्ता शाहले बताए। रासस
प्रकाशित: १४ आश्विन २०७५ १३:११ आइतबार





