१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतीय ट्रान्सपोर्टरद्वारा ग्यास ढुवानी रोक्ने चेतावनी

नेपाल एलपी ग्यास उद्योग संघले आयोजना गरेको पत्रकार भेटघाट। तस्बिर : नागरिक

काठमाडौं – लामो समयदेखि ग्यासको भाडा नबढेको भन्दै भारतीय ट्रान्सपोर्टरले ढुवानी रोक्ने चेतावनी दिएका छन्। नेपालमा ग्यास ढुवानी गर्दै आएका ट्रान्सपोर्टरले यहाँका ग्यास उद्योगीलाई पत्र लेख्दै ढुवानी भाडा वृद्धि गर्न दबाब दिँदै यस्तो चेतावनी दिएका हुन्।

ट्रान्सपोर्टरले भाडा वृद्धि नगरे अक्टोबर १ बाट ग्यास ढुवानी नगर्ने पत्र उद्योगलाई पठाएका छन् । डिजललगायत लागत खर्च बढेको कारण अहिलेको भाडा दरमा ढुवानी गर्न नसकिने बेहोराको पत्र पठाएकोले नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

भारतको बरौनी–काठमाडौं रुटमा एक सिलिन्डर ग्यास ढुवानीको भाडा ८६ रुपैयाँ रहेको छ । यो भाडा पर्याप्त नभएको भन्दै प्रतिसिलिन्डर १७–१८ भारु वृद्धि नगरे ढुवानी रोक्ने चेतावनी दिएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । नेपालमा बिक्री हुने ग्यास भारतीय बुलेटले ढुवानी गर्दै आएका छन्।

ढुवानीबापतको रकम नेपाल आयल निगमले तोके पनि ग्यास उद्योगीमार्फत भारतीय ट्रान्सपोर्टरलाई भुक्तानी हुन्छ । ‘भारतीय ढुवानीकर्ताको माग सरकारसमक्ष राखिसकेका छौं,’ अध्यक्ष भण्डारीले भने, ‘ढुवानी भाडा वृद्धि नगरे भारतबाट भित्रिने ग्यासको आपूर्ति जुनसुकै बेला बन्द हुन सक्छ।’

ढुवानीकर्ताबाट डिजललगायत विविध खर्च बढेर लागत बढेकाले भाडा बढाउन माग गरेको भण्डारीले बताए । संघले भारतीय ट्रान्सपोर्टरको मागलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसमक्ष बुझाए पनि सुनुवाइ नभएको संघले जनाएको छ । ‘समस्याको बारेमा मन्त्री ज्यूलाई जानकारी गराए पनि कुनै सुनवाइ भएन,’ अध्यक्ष भण्डारीले भने, ‘ढुवानीमा अवरोध आए सरकारनै जवाफदेही हुनुपर्छ।’

ग्यास ढुवानीमा भारतीय परर्भिरता हटाउन सरकराले स्वदेशी ग्यास उद्योगलाई बुलेट सञ्चालनका लागि अनुमति दिए पनि भारतीय अबरोधका कारण उद्योगीले बुलेट सञ्चालन गर्न सकेका छैनन् । ग्यास उद्योगलाई दिँदै आएको रकम निकै कम रहेको उद्योगी बताउँछन् । लामो समयदेखि कमिसनको रकम वृद्धि नभएको बताए । ग्यासको आयातदेखि रिफिलिङ, बजार व्यवस्थापनमा लाग्ने खर्च निकै बढेको संघका वरिष्ठ उपाध्यक्ष कुश मल्लीले बताए । भारतीय ट्रान्सपोर्टरमात्र नभएर ग्यास उद्योगीले अहिलेकै खर्च अनुसार उद्योग सञ्चालनमा कठिनाइ भएको उनले बताए।

डिजेलको मूल्य वृद्धि, कर्मचारीको तलब वृद्धि, बैक ऋणको ब्याज वृद्धि, विभिन्न करका दायरामा वृद्धि, भन्सार नाकामा (भारततर्फ र नेपालतर्फ) विभिन्न शुल्क वृद्धि भएको उद्योगी बताउँछन् । २०६९ सालमा पुष्कर कार्की संयोजकत्वमा गठित समितिले ग्यास उद्योगीलाई कमिसन बढाउन सिफारिस गरे पनि कार्यान्वन नगरेको व्यवसायीको गुनासो छ । ‘ग्यास उद्योग बिक्री गर्न खोजे पनि खरिदकर्ता भेटिँदैन,’ मल्लीले भने, ‘लामो समयदेखि कमिसन नबढाउँदा उद्योग चलाउन कठिन भएको छ।’

ग्यास ढुवानीमा भारतयि निर्भरता रोक्न आयल निगमले स्वदेशी उद्यमीलाई ७ सय ७५ बुलेट सञ्चालन अनुमति दिए पनि भारतीय अवरोधले सञ्चालनमा आउन सकेका छैनन् । स्वदेशी बुलेट नभएले पनि समस्या हुने गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘उपभोक्ताको भान्सासँग जोडिएको विषयमा राज्यका अधिकारी गम्भीर हुनुपर्छ,’ घिमिरेले भने, ‘स्वदेशी बुलेट नहुँदा पनि पटक–पटक भारतीय ट्रान्सपोर्टरले दुःख दिने गरेका छन् ।’
भारतीय निकायले ग्यास बुलेटको लािग ‘एक्स्प्लोसिभ’ प्रमाणीकरण नगरेका कारण नेपाली ग्यास बुलेटले ढुवानी गर्न नपाएका हुन्।

संघले नेपाल आयल निगमले २०७४ साउन १ देखि लागू हुने गरी सिलिन्डर प्रतिस्थापनबापत प्रतिसिलिन्डर २० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन नगरेकाले सो रकम उपलब्ध गराउन पनि माग गरेको छ । नेपालमा सञ्चालनमा रहेका ५६ वटा ग्यास बोटलिङ उद्योगको कुल क्षमताको ४० प्रतिशतभन्दा बढी सञ्चालन हुन नसक्दा लागतको उचित प्रतिफल प्राप्त गर्न नसकेको उद्योगीले बताएका छन् । ४८ वर्षदेखि खाना पकाउने एलपी ग्यासमा रहँदै आएको निजी क्षेत्रको लगानीमाथि खेलवाड भएको व्यवसायीको गुनासो छ।

प्रकाशित: १ आश्विन २०७५ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App