८ वैशाख २०८१ शनिबार
अर्थ

एसियाका उत्कृष्ट १० गन्तव्यमा लुम्बिनी

काठमाडौं - संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ।

लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार सन् २०१९ को जुलाई महिनासम्मका लागि ती गन्तव्यको सूची तयार पारिएको हो । यो सूचीको पहिलो स्थानमा दक्षिण कोरियाको बुसान परेको छ भने भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सातौं स्थानमा परेको हो ।एसियाका ती गन्तव्य घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची सार्वजनिक गरेको लोन्ली प्लानेटले जनाएको छ।

लोन्ली प्लानेटले एक वर्षका लागि भ्रमण गर्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल पर्नुलाई यस क्षेत्रका विज्ञहरूले ठूलो उपलब्धि मानेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले यसबाट नेपालमा पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्ने जनाएको छ । बोर्डले पर्यटन प्रवद्र्धनका लागि लोन्ली प्लानेटसँग साझेदारी गर्ने योजना बनाएको छ ।पर्यटन व्यवसायीहरूका अनुसार लोन्ली प्लानेटको सूचीमा पर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि थप अकासिएको छ । नेपाल अझै सुरक्षित र सदाबहार गन्तव्यका रुपमा रहेको पुष्टि भएको छ । लोन्ली प्लानेटको सूचीले बोर्डलाई विदेशका पर्यटन मेलामा भाग लिन जाँदा नेपालको प्रचार गर्न सजिलो बनाउने छ।

‘लोन्ली प्लानेटको उत्कृष्ट गन्तव्यको सूचीमा हाम्रो लुम्बिनी पर्नु असाध्यै सकारात्मक र सुखद खबर हो,’ प्रेसिडेन्ट ट्राभलका संस्थापक तथा प्रबन्ध निर्देशक भोलाविक्रम थापाले सोमबार नागरिकसँग भने, ‘अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने जिम्मेवारी बोकेको पर्यटन बोर्डले अब लोन्ली प्लानेटको यो सूचीलाई थप प्रचार गरी अगाडि बढ्नुपर्छ ।’थापाका अनुसार संसारका ठूला टुर तथा ट्राभल अपरेटरले लोन्ली प्लानेटको यो सूची आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्ने तथा प्लानेटकै वेबसाइट पछ्याउँदै करोडौं पर्यटक यी गन्तव्य पुग्ने गर्छन् । त्यसकारण यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने छ।

‘दशकौंदेखि बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणकर्ताका लागि भारतबाट नेपाल प्रवेश गर्दा बीच बाटोमा पर्ने गन्तव्यजस्तो भएर बसेको थियो, पर्यटकहरू यति उत्कृष्ट गन्तव्य पत्तै नपाइ बाटोमै छुटेको थाहा पाउँथेनन्,’ लोन्ली प्लानेटले आफ्नो सूचीमा लेखेको छ, ‘तर, अहिले अन्तर्राष्ट्रिय बौद्धमार्गी समुदायदेखि नेपालका सरोकारवालाको वलका कारण लुम्बिनी उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ । यसका लागि सम्बद्ध सबै धन्यवादका पात्र भएका छन् ।’लोन्ली प्लानेटका अनुसार परिवर्तन अवश्यम्भावी छ । बुद्ध जन्मस्थल लुम्बिनी नजिक भैरहवामा एउटा नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ जसले चाँडै नै नेपालका लागि नयाँ र सुरक्षित हवाई रुट स्थापना गर्ने छ । त्यसबाहेक लुम्बिनीमा अन्य मन्दिर, चैत्य, मठ, गुम्बा पनि छन् र अझै निर्माणाधीन पनि छन्।

‘यसखाले विकासले लुम्बिनीलाई विश्व पर्यटन बजार र पर्यटकको माझ थप परिचित गराउँदै लगेको छ,’ लोन्ली प्लानेट लेख्छ, ‘त्यसकारण लुम्बिनीले संसारभरका पर्यटकको ध्यान खिच्ने क्षमता राखेको छ ।’लोन्ली प्लानेटको उत्कृष्ट एसियाली गन्तव्य सूचीको दोस्रो स्थानमा उज्बेकिस्तान, तेस्रोमा भियतनामको हो चि मिन्ह सिटी, चौथो भारतको पश्चिमी घाट, पाँचौं जापानको नागासाकी, छैठौं थाइल्यान्डको चियाङ माई, आठौं श्रीलंकाको अरुगम खाडी, नवौं चीनको सिचुआन र दसौं स्थानमा इन्डोनेसियाको कोमोडो राष्ट्रिय निकुञ्ज परेका छन्।

लोन्ली प्लानेटले यसअघि २०७३ चैतमा पनि ‘बेस्ट भ्यालु’ गन्तव्य सूचीको पहिलो नम्बरमा नेपाललाई राखेको थियो । ‘भूकम्पले ऐतिहासिक मठमन्दिर, प्रख्यात पदयात्रा मार्ग लगायत ध्वस्त भए पनि नेपालसँग ती सम्पदा र पूर्वाधार मर्मत गर्ने क्षमता छ,’ लोन्ली प्लानेटले त्यसबेला लेखेको थियो। ‘अहिले नेपाललाई आम्दानीको खाँचो छ । त्यसकारण नेपालको स्थानीय संस्कृति, जनतालाई सहयोग गर्न नेपाल भ्रमण गर्नैपर्छ जसबाट एउटा राष्ट्र पुनर्निर्माण हुनेछ र अझ बलियो भएर आउने छ ।’

बेस्ट भ्यालु सूचीको पहिलो नम्बरमा परेको नेपालका लागि लोन्ली प्लानेटले ‘भूकम्प र भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन अभावबाट नेपाल समस्यामा परे पनि सचेत भएर खर्च गर्ने पर्यटकको रोजाइमा नेपाल उत्कृष्ट गन्तव्य रहँदै आएको’ उल्लेख गरेको थियो ।‘नेपालमा प्रतिदिन ५० अमेरिकी डलर खर्च गरे विश्वप्रसिद्ध पदयात्रा मार्गदेखि वन्यजन्तु दृश्यावलोकनको मज्जा लिन सकिन्छ,’ त्यसबेलाको बेस्ट भ्यालु सूचीमा थियो, ‘नेपालमा विस्तारै पर्यटक बढ्दैछन् । तपाईं नेपालका जुनसुकै ठाउँ जानुहोस्, सदैव न्यानो स्वागत पाउनुहुने छ र यो नै नेपाल र नेपालीको विशेषता हो ।’

प्रकाशित: १५ श्रावण २०७५ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App