२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अर्थ

काजु खेती गर्न बिरुवा उत्पादन

काठमाडौं, साउन २ (नागरिक) - नेपालको तराई क्षेत्रमा काजु खेती गर्न बिरुवा उत्पादन सुरु गरिएको छ। पश्चिम तराई क्षेत्रमा काजुको खेती हुनसक्ने देखिएपछि चितवनको रामनगरमा बेर्ना उत्पादन सुरु गरिएको छ। ‘नेपालमा जेउनजे प्रजातिको काजु खेती सफल हुने देखेपछि हामीले बेर्ना उत्पादन गरिरहेका छौं,' बेर्ना उत्पादन गरिरहेका केशबराज पाठकले भने।

काजु लगायत महंगो फलफूलको खेतीको अनुसन्धानमा संलग्न ‘कमर्सियल फेमिली रिसर्च एन्ड डेभलपमेन्ट प्रोग्राम' का केशबराज पाठकले काजुलाई तराई क्षेत्रमा व्यापक विस्तार गर्ने योजना सहित कार्यक्रम सुरु गरिएको छ। अमेरिकाको क्यालिफोर्नियामा हुने जेएनजे जातको काजुलाई पश्चिम नेपालका तराई क्षेत्रमा विस्तार गर्न अहिले संस्थाले कार्यक्रम सुरु गरिसकेको छ।

एक गैर सरकारी संस्थाले मकवानपुरमा पनि काजु खेती सुरु गरेको छ। तर त्यहाँबाट उत्पादन भने भैसकेको छैन।

एसियामा सबैभन्दा धेरै काजु क्याम्बोडियामा उत्पादन हुन्छ। यसको साथै भारत, इण्डोनेसिया र अफ्रिकाका केही देशहरुमा पनि काजु खेती हुन्छ। सुख्खा फलफुलमा काजु महंगो मूल्य पर्ने फलफुलमा पर्छ।

‘हामी किसानको जीवनस्तर चाँडै सुधार गर्ने खालका फलफुल खेतीमा प्रोत्साहन गर्ने गरि अघि बढेका छौं,' पाठकले भने। यो संस्थाले अहिले भारतीय बदाम, ओखर, कुरिलो खेतीको लागि बिरुवा र प्राविधिक सहयोग गर्दै आएको छ।

नेपालमा आर्थिक बर्ष २०६५/६६ मा भारतबाट ११ करोड रुपैयाँ बराबरको बदाम आयात भएको थियो। नेपालको पाँचसयदेखि तीनहजार मिटर उचाई भएको ठाउँमा बदाम राम्रो उत्पादन हुन्छ।

ओखर खेतीमा किसानलाई आकर्षित गर्न जुम्लामा बिरुवा उत्पादन सुरु भएको छ। ओखर समुद्र सतहदेखि एकहजार तीनसयदेखि दुईहजार पाँचसय मिटरसम्मको उचाईको ठाउँमा खेती हुन्छ। नेपालमा तिहारको लागि आवश्यक पर्ने ओखर समेत भारतबाट आयात गर्नुपर्ने स्थिती छ। यसलाई कम गर्न खाली भएको जग्गामा ओखर खेती गराउन निजी क्षेत्रले समेत पहल गरिरहेको छ।

‘हामी किसानले उत्पादन गरेको बस्नु फार्ममै पुगेर पनि किनिदिने योजनामा छौं,' पाठकले भने। उत्पादन भएको फलफूल र तरकारी किनिदिने निकाय नभएकोले पनि किसानहरु कृषिप्रति आकर्षित नभएको देखिएपछि संस्थाले बिरुवा दिने, खेतीको लागि सहयोग गर्ने र उत्पादन समेत किनिदिने नीति लिएको छ।

प्रकाशित: १ श्रावण २०६७ १८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App