१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

झन्डै तीनवर्षपछि खुल्यो प्याराग्लाइडिङको ‘सोलो’ उडान

झन्डै तीनवर्षदेखि रोकिएको प्याराग्लाइडिङको सोलो (एकल) उडानलाई खुला गरिएको छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङको सोलो उडान खुला गरेको हो।  

स्वदेशी र विदेशी प्यारापाइलटको पेशागत क्षमता तथा दक्षता अभिवृद्धि गर्ने तथा प्याराग्लाइडिङको सोलो उडानमार्फत देशको पर्यटन प्रवर्द्धनमा विकास गर्ने उद्देश्य सहित सोलो उडान खुला गरेको प्राधिकरणले बताएको छ।  

प्राधिकरणका मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलले सोलो प्याराग्लाइडिङ उडान सम्बन्धि कार्यविधी अनुसार उडानको अनुमति दिएको बताए। ‘झन्डै तीनवर्षदेखि पोखरा क्षेत्रमा प्याराग्लाइडिङको सोलो उडान रोकिएको थियो । तर, अब भने खुला भएको छ। अब एकल पाइलटले उडान गर्न पाउँछन,’ भुलले भने, ‘व्यवस्थित तरिका अपनाएर एकल उडानका लागि खुला गरिएको हो। पहिले भन्दा केही व्यवस्थित हुनैपर्छ।’

झन्डै तीनवर्ष अघि मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएपछि प्राधिकरणले तत्कालै प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएको थियो। तर, केही समय पछाडि व्यावसायिक (टेण्डम) उडान भने खुलाइएको थियो। तर, सोलोका लागि भने ठाउँ नभएको भन्दै उडान रोकिएको थियो। प्याराग्लाइडिङको सोलो उडान खुला गर्नका लागि व्यावसायीले बारम्बार माग गर्दै आएका थिए। तर, प्राधिकरणले व्यवस्थित हुन नपाएको भन्दै रोकिरहेको थियो।  

प्रमुख भुलका अनुसार प्याराग्लाइडिङ उडानका लागि तोकिएको क्षेत्रभित्र मात्र उडान गर्न पाउनेगरि सोलोको उडान खुला गरिएको हो। प्राधिकरणका अनुसार प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को जिम्मामा रहेको प्याराग्लाइडिङ क्षेत्रभित्रै रहनेगरि संस्थाकै प्रत्यक्ष निगरानी तथा सुपरिवेक्षण मात्र सोलो उडान गर्न सक्ने गरि कडाई गरिएको छ।

‘नियमनमा कडाई गरेर मात्र सोलो उडान खुला गरिएको हो। प्राधिकरणले तोकेको प्याराग्लाइडिङ क्षेत्र भन्दा बाहिर उडान गर्न नपाउनेगरि कडाई गरिएको छ,’ उनले भने।

प्राधिकरणले प्याराग्लाइडिङको सोलो उडानको भिन्दै कार्यविधि बनाएर व्यवस्थित गरेको पनि उनले बताए। प्राधिकरणका अनुसार कार्यविधीमा तोकिएको प्याराग्लाइडिङ क्षेत्रबाहेक अन्यत्र उड्न नपाउने गरि कडाई गरिएको छ। किनकी एकल उडानका पाइलटले मनलाग्दी उडान गरिदिँदा हेलिकप्टर र हवाईजहाजलाई असर पर्ने गरेको गुनासो प्राधिकरणमा पुग्ने गरेको थियो।  

लागुपदार्थ र मादक पदार्थ सेवन गर्न रोक लगाउँदै उडान गर्दै पाइलटलाई प्रविधिमार्फत पनि नियमन गर्नुपर्ने गरि कडाई गरिएको छ। ‘सोलो पाइलट गतिविधि संचालन गर्दा कुनैपनि मानवीय क्षति, घटना वा दुर्घटना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं उडानमा भाग लिने पाइलट तथा पाइलट आवद्ध कम्पनि हुनुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘प्राधिकरणले तोकेको सर्त पालना नगरेमा सम्बन्धित सोलो उडानको अनुमति समेत रद्द हुने, पाइलटको इजाजत तथा कम्पकिो प्रमाणपत्र समेत निलम्बन हुनेछ।’

व्यावसायीका अनुसार पोखराको प्याराग्लाइडिङ विश्वकै उत्कृष्ट पाँचौमा पर्छ। तर, पछिल्लो केही समयदेखि पोखराको प्यााराग्लाइडिङको उडान ओझेलमा परेको व्यावसायीको गुनासो थियो। सोलो उडान बन्द हुँदा कतिपय विदेशी पाइलटले उड्न नपाएको र त्यसले पोखराको पर्यटनमा पनि असर पारेको गुनासो व्यावसायीको थियो। सोलो उडान रोकिँदा प्याराग्लाइडिङ उडान क्षेत्रमा प्रवेश गर्ने नयाँ पाइलट उत्पादनमा पनि असर परेको व्यावसायीको गुनासो थियो।  

व्यावसायीका अनुसार सोलोको उडान रोकिँदा ठुलो खर्च गरेर प्याराग्लाइडिङ उड्न आउने प्रकृतिप्रेमी पर्यटक आउनबाट रोकिएका थिए। प्रकृति नियाल्न आउने भएकोले सोलोको अवरोधले ती सोलो पाइलट रोकिँदा त्यसको असर व्यावसायमा परेको पनि व्यावसायीले बताउँदै आएका थिए। प्याराग्लाइडिङ पाइलटहरुका अनुसार अक्टोवर र नोभेम्बरमा नेपाल प्याराग्लाइडिङ उडानका लागि सबैभन्दा राम्रो समय मानिन्छ। यो सिजनमा उड्नकै लागि भनेर विदेशीहरु ग्लाइडरको झोला बोकेर टाढाटाढादेखि आउने गरेका थिए।  

नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी कार्यविधि बनाएर सोलो उडान व्यवस्थित बनाउन खोजिएको बताए। प्राधिकरणले देशभरको सोलो उडानका लागि कार्यविधि बनाएको भएपनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल भएकोले अझ बढी व्यवस्थित गर्नुपर्ने अवस्था रहेको उनले बताए। 

‘पोखराको हकमा सोलो उडानलाई थप व्यवस्थित गर्नुपर्छ। टेण्डम भन्दा सोलो अझ बढी व्यवस्थित हुनुपर्छ। किनकी टेण्डममा यात्रु सहितको उडान हुने भएकोले तोकिएको समय मात्र उडान गर्ने हुन्छ। तर, सोलो एकल उडान भएकोले स्वतन्त्र उड्ने भएकोले व्यवस्थित गर्नुपर्छ। सोलोका लागि थप व्यवस्थित हुनैपर्छ,’ उनले भने।  

सोलो उडान खुला भएसँगैै आएका विदेशी पाइलट एक्लै उड्न पाउने उनले बताए। ‘सोलो उडानका लागि आएका विदेशी पाइलट उड्न रोकिएका थिए। तर, अबको सिजनमा सोलो उडानका पाइलट पोखरा आउन सक्नेछन,’ उनले भने, ‘यसले पर्यटन क्षेत्रमा राहत दिनेछ।’ व्यावसायीका अनुसार सोलो उडान गर्नकै लागि भनेर वर्षमा करिब एकहजार विदेशी पाइलट पोखरामा आउने गर्दथे। पोखरामा उड्न नपाएपछि ती पाइलट आउनै छाडेका थिए।  

सोलो उडानका लागि आउने ती करिब एकहजार पर्यटक १५ दिनदेखि २ महिनासम्म पोखरामा बस्थे। ‘सोलो उडान उनीहरु आउँदा पर्यटन चलायमान हुने गरेको थियो। खर्चालु पर्यटकको नेपाल आउने बाटो नै बन्द भएकोमा अब भने खुलेको छ,’ उनले भने।  

प्रकाशित: २४ असार २०८२ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App