११ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

नेपालमा लगानी सहजीकरण गर्न दक्षिण अफ्रिकी राजदूतलाई महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत अनिल सुकलालसँग मंगलबार भेटवार्ता गरेका छन् । भेटवार्तामा ढकालले न पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताहरूका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीहरूलाई नेपालमा लगानी प्रवद्र्धन गर्न सहयोग गरिदिन राजदूत सुकलालसँग आग्रह गरे ।

उनले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार अहिले सीमित भए पनि दुवै मुलुकबीचको व्यापारिक सम्बन्धलाई विस्तार गर्ने स्पष्ट सम्भावना रहेको बताए । नेपालमा कृषि प्रशोधन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा आकर्षक लगानी अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पर्यटनलाई नेपालको सबैभन्दा प्राकृतिक रूपमा सम्पन्न क्षेत्रका रूपमा रहेको बताए । 

महासंघले व्यापारिक प्रतिनिधिमण्डलको स्वागत, बजार जानकारीको आदान–प्रदान तथा आवश्यक सहजीकरण गर्न सधैँ तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष ढकालले महासंघको सक्रियतामा नेपाल सरकारले हालै लगानीसँग सम्बन्धित विभिन्न ३० वटा कानुन संशोधन गरेको जानकारी दिँदै ती सुधारहरूले वैदेशिक लगानी प्रक्रिया सरल बनाउनुका साथै नाफा फिर्ता लैजान सजिलो बनाएको जानकारी दिए । महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको खाका सरकारले स्वीकृत गरेको उल्लेख गर्दै उनले यसले विदेशी लगानीकर्ताहरूलाई अझ विश्वासिलो वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे ।  

सो अवसरमा राजदूत अनिल सुकलालले दक्षिण अफ्रिका र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ आफू प्रतिवद्ध रहेको बताए । उनले विशेष गरेर पर्यटन क्षेत्रमा दुवै देशबीच सहयोगको ठूलो सम्भावना रहेको उल्लेख गरे ।  

हाल नेपालले दक्षिण अफ्रिकाबाट अन्न, फलफूल, पेय पदार्थ र मेसिनरी आयात गर्दै आएको छ भने नेपालबाट निर्यात हुने वस्तुमा कार्पेट, तयारी कपडा र फलामजन्य सामग्रीहरू पर्दछन् । यो भेटवार्ताले नेपाल–दक्षिण अफ्रिका सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सहयोग गर्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् । भेटवार्ताका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपालका लागि दक्षिण अफ्रिकाका महावाणिज्यदूत प्रदीप कुमार श्रेष्ठको पनि सहभागिता थियो ।

प्रकाशित: १० असार २०८२ १९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App