१३ माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व संकलन

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो । 

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०/८१ को सोही अवधिमा रु १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकामा ७७.५६ प्रतिशतमात्र राजस्व संकलन भएको थियो । 

कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात्  रु आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार संकलन भएको छ । यसैगरी तरकारी आयातबाट रु ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट रु २७ करोड ५१ लाख ९१ हजार, कफीबाट रु २१ करोड ५४ लाख ७० हजार, दलहनबाट रु २० करोड ७७ लाख ३९ हजार राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए। 

मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा रु २३ करोड ७५ लाख १९ हजार राजस्व संकलन भएको छ । यसैगरी सोही अवधिमा रु ४० अर्ब ७७ करोड छ लाख ४८ हजार बराबरको वस्तु आयात गरिँदा रु १४ अर्ब २० करोड १७ लाख १८ हजार राजस्व संकलन भएको छ । रासस

प्रकाशित: ९ असार २०८२ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App