लगातारको हिमपातले डेढ फिटभन्दा बढी हिउँ जमेपछि नाग्म–गमगडी सडक खण्ड दुई दिनसम्म पूर्ण रूपमा अवरुद्ध बन्यो। सातमाड क्षेत्र केन्द्र बनेको अवरोधले मुगु जिल्लालाई बाहिरी जिल्लासँग लगभग काटिदियो। सवारीसाधन रोकिए, इन्धन ढुवानी ठप्प भयो, बिरामी बोकेका एम्बुलेन्ससमेत अघि बढ्न सकेनन्।
सडक बन्द भएपछि मुगुवासी हिउँमाथि पैदल हिँड्न बाध्य भए। चिसो हावासँगै जमेको बाटोमा बोझ बोकेर यात्रा गर्नु उनीहरूको बाध्यता बन्यो। 'सवारी चल्ने आशा थियो, तर हिउँ बढ्दै गयो,' सातमाडका एक यात्रु भन्छन्, 'हिँड्नु बाहेक विकल्प थिएन।'
हिउँ पन्छाउने उपकरण मुगुमा नहुँदा प्रशासनले छिमेकी जिल्ला जुम्लासँग सहयोग माग्नुपर्यो। सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर मगाएर झण्डै तीन किलोमिटर सडक खण्डमा जमेको बाक्लो हिउँ हटाइयो। मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री भन्छन्, 'जिल्लामै डोजर नहुँदा समय लाग्यो। जुम्लाबाटै डोजर ल्याएर सडक खोल्नु बाहेक अर्को उपाय थिएन।'
डोजर चल्दा पनि ठूला सवारीसाधनका लागि बाटो सहज थिएन। कतिपय मालबाहक गाडी डोजरले तानेरै जुम्लातर्फ पठाइयो। अहिले साना सवारीसाधन निर्वाध रूपमा चलिरहेका छन्।भने ठूला गाडी अझै सतर्कताका साथ सञ्चालन भइरहेका छन्। सडक डिभिजन कार्यालयका अनुसार माघ ११ गते आंशिक रूपमा खुलेको सडक माघ १२ गतेदेखि पूर्ण रूपमा सुचारु भएको हो।
दुई दिनको अवरोधपछि सडक खुलेसँगै मुगुको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। तर यो अवरोधले पुरानै प्रश्न फेरि उठाएको छ।हिउँद सुरु हुनेबित्तिकै बन्द हुने सडकको स्थायी समाधान कहिले? हरेक वर्ष हिमपातसँगै दोहोरिने सडक अवरुद्धताले मुगुजस्ता दुर्गम जिल्लाका बासिन्दालाई जोखिममा पार्दै आएको छ। यात्रुहरूले हिमपातको मौसमभर नाग्म र गमगडी दुवै तर्फ डोजर तयारी अवस्थामा राख्न माग गरेका छन्।
मौसम विज्ञान विभागले अझै हिमपातको सम्भावना रहेको जनाएको सन्दर्भमा 'सडक खुलेपछि मात्र होइन, बन्द नहोस् भनेर तयारी चाहियो' एक यात्रु भन्छन्। हिउँले थुनिएको यो सडक केवल यातायातको समस्या होइन, राज्यको तयारी र दुर्गमप्रतिको संवेदनशीलताको परीक्षा पनि हो। मुगुवासीका लागि बाटो खुल्नु भनेको केवल यात्रा सहज हुनु होइन जीवन चलायमान हुनु हो।
प्रकाशित: १३ माघ २०८२ १२:०१ मंगलबार





