१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

भक्तपुरका महिला उद्यमीसँग अन्तर्क्रिया

सांस्कृतिक नगर भक्तपुरका महिला उद्यमतर्फ आकर्षित बन्दै छन्। महिला उद्यमी महासङ्घमा गोलबद्ध भएर उनीहरूले सामाजिक तथा आर्थिक सशक्तीकरणको बाटोमा हिँडेका छन्। परम्परागत व्यवसायलाई आधुनिकीकरण गर्दै र नयाँ व्यवसायको पहिचान गर्दै उनीहरू समृद्धिको बाटो अँगाल्दैछन्।  

'व्यवसायले आत्मनिर्भर त बनाउँछ नै। महासङ्घमा गोलबन्द हुन पाउँदा थप आत्मविश्वास थपिएको छ,' महिला उद्यमी सङ्घ भक्तपुरका अध्यक्ष चित्रा केसी भनिन्। महिलालाई समेटेर उद्यमको बाटो अगाडि बढ्दा जस्तोसुकै बाधा पनि हट्ने गरेको उनको बुझाइ छ।  

‘व्यवसायमा थप अगाडि बढ्न साथ र सहयोग चाहिँदो रहेछ,’ उनले थपिन्, ‘यो हामीले महिला उद्यमी महासङ्घबाट अपेक्षा गरेका छौं।’

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवाली महिलालाई सामाजिक र आर्थिक रूपमा बलियो बनाउन महासङ्घ लागिपरेको बताउँदै भक्तपुरका महिलालाई सहयोग गर्न उत्तिकै तयार रहेको सुनाइन्। 'हामीसँग उहाँहरूले फराकिलो बजार, नयाँ प्रविधिको ज्ञानको विषयमा चासो देखाउनु भएको छ,‘ नयाँ कार्यसमितिलाई बधाई दिन भक्तपुर पुगेकी ज्ञवालीले भनिन्, ‘हामी ती विषयमा सकारात्मक छौं।'

महासङ्घले उद्यमी र सरकारको बिचमा बसेर पुलको काम गर्दै आएको बताउँदै उनले यही पुलले मुलुक जोड्ने भनाइ राखिन्। ज्ञवालीले देशभरका महिला उद्यमीलाई एउटै छाताभित्र समेट्ने अभियानमा महासङ्घ अघि बढेको बताएकी छन्। हालसम्म ७५ जिल्लमा शाखा विस्तार भइसकेको र बाँकी दुई जिल्लामा पनि दुई साताभित्र विस्तार भइसक्ने उनले बताइन्।

‘नेपालभरिका सम्पूर्ण महिला उद्यमीहरूलाई एउटै सञ्जालमार्फत एउटै छाता सङ्गठनमा एकताबद्ध गर्दै हरेक सवालमा सम्बन्धित निकायसँग पैरवी गर्ने, क्षमता अभिवृद्धिका काम महासङ्घले गरिरहेको छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘यसका लागि विभिन्न क्षमतामूलक तालिम तथा महिला उद्यमीहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका काम गर्दै उद्यमशीलतालाई दिगोपनामा काम गरिरहेका छौँ।’ यही नै मूल उद्देश्यसहित महिला उद्यमी महासङ्घ नेपालको २०६० साल असार २७ गते स्थापना भएको उनले बताइन्।

अध्यक्षलाई दही उपहार  

कुनै पनि जिल्लाको आफ्नो मौलिक विशेषता हुन्छ। जसले जिल्लालाई मुलुकभर नभई संसारभर नै चिनाउन सफल भएको हुन्छ। त्यस्तै एउटा मिठो स्वाद हो भत्तःपुरको जुजु द्यौ।  

भक्तपुरका महिलाले अन्तरक्रिया कार्यक्रममा भाग लिन आएकी महासङ्घ अध्यक्ष शोभा ज्ञवाली कतारोसहितको दही उपहार पाउँदा खुसी भइन्।  

‘सगुन र उपहारको यो दही पनि भक्तपुरको ब्रान्ड बन्दै गएकोमा खुसी लागेको छ,’ उनले भनिन्, ‘मौलिकतालाई जोगाउँदै अगाडि बढ्न सकेमा यसले पक्कै पनि सफलता दिलाउँछ।’  

भक्तपुरमा सोमबार आयोजित अन्तर्क्रिया कार्यक्रममा उपाध्यक्ष चन्द्रलक्ष्मी सिजापति, सहसचिव मिनु झांगा, सदस्यहरू रसिला प्रधानाङ्ग, निशा शिल्पकार, देवका, सुलोचना कोजु, तुला धोजुलगायतले आफ्ना व्यवसाय र तिनका सम्भावनाका बारेमा धारणा राखेका थिए।

प्रकाशित: २ असार २०८२ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App