आन्तरिक पाहुनालाई घुम्न बोलाउनका लागि पोखराका पर्यटन व्यावसायीले पश्चिम क्षेत्रमा ‘जाउँ है पोखरा’ अभियान थालेका छन्। विभिन्न सहरमा पुगेर स्थानीय व्यावसायीसँग भेटघाट गर्दै त्यस क्षेत्रका पाहुनालाई पोखरा घुम्न बोलाउने मुख्य उद्देश्य यो अभियानले लिएको व्यावसायीले बताएका छन्।
‘जाउँ है पोखरा’ अभियानकै कारण पोखरामा आन्तरिक पाहुना आगमन वर्षेनी बढिरहेको व्यावसायीले बताएका छन्। यो पटकको अभियानको थालनी पाल्पाबाट सुरु भएको अभियान संचालक होटल संघ पोखराले बताएको छ। पाल्पापछि बुटवलमा स्थानीय व्यावसायीसँग भेट गर्दै पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्नेमा दुइवटै सहरका व्यावसायीले जोड दिएका थिए।
बुटवलमा आयोजित कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त रुपमा दवाव दिनुपर्ने विषयमा जोड दिइएको थियो। पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले गति लिन नसकेको चिन्ता व्यावसायीले जनाएका थिए। बुटवलमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पर्यटकलाई लक्षित गरी पोखराको लेकसाइडलाई २४ सै घण्टा खुलाउने पहल आफू कास्कीको प्रजिअ हुँदा भएको बताए।
लुम्बिनीको आध्यात्मिक पर्यटनलाई पोखराको नेचर, कल्चर र एड्भेन्चरसँग जोड्नुपर्ने सुझाव उनले दिए। ‘लुम्बिनीको आध्यात्मिक र पोखरा क्षेत्रका प्रकृति, संस्कृति र साहसिक गतिविधियुक्त पर्यटनबीच तालमेल मिलाउन सकियो भने दुवै सहरका पर्यटन व्यावसायीले लाभ लिनेछन,’ घिमिरेले भने।
यो अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य लक्ष्य लिएको अभियान संयोजक तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। मुलुकमा दशक लामो द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियान गत चैतमा पूर्वि नेपालमा सम्पन्न भएको थियो। विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन सक्छन् भन्ने मान्यतालाई यो अभियानले अनुसरण गरेको पनि अध्यक्ष सुवेदीले बताए। पर्यटनका माध्यमबाट सातवटै प्रदेश जोड्ने उद्देश्यले अभियान संचालन गरिएको अध्यक्ष सुवेदीले बताए।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटनका लागि पहुँच महत्वपूर्ण रहेको बताए। अहिले आन्तरिक पर्यटनका लागि मुख्य सहरबीचको पहुँच अप्ठेरो अवस्थामा रहेकोले हिडडुल प्रभावित भएको पराजुलीको भनाई छ।
‘पाहुनाका लागि सहज पहुँच आवश्यक पर्छ। तर, अहिले पहुँच अप्ठेरो बनेको छ। स्थलमार्गमा यात्रा सहज नहुँदा पाहुना चाहेर पनि यात्रा गर्न इच्छुक छैनन,’ पराजुलीले भने, ‘पहुँचमार्गमा सुधार हुने हो भने आन्तरिक पर्यटकको आउजाउ बढ्छ। त्यसले पर्यटनलाई राहत दिन्छ।’ पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सरकार गम्भिर हुनुपर्ने उनको भनाई छ।
व्यावसायीका अनुसार यो अभियानमा पश्चिम नेपालका पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने अभियान संचालन गर्ने यसको अर्काे उद्देश्य हो। पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत यो अभियान सार्थक हुने संघले विश्वास गरेको छ। बिहीबार सुरु भई असार २ गते सकिने यसपटकको ‘जाउँ है पोखरा’ अभियान नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा पनि संचालन हुनेछ।

बुटवलमा आयोजित कार्यक्रममा होटल संघका केन्द्रिय सदस्यद्वय सीपी श्रेष्ठ र गोपाल रानाले दुई सहरबीच पर्यटक आउजाउमा सहजीकरण गर्नुपर्ने बताए। यता पाल्पाको श्रीनगरमा आयोजित कार्यक्रममा पाल्पाले पोखराबाट आतिथ्यताका सवालमा धेरै कुरा सिक्न बाँकी रहेको स्थानीय ब्यावसायीले बताएका थिए।
पाल्पा होटल संघ नेपाल र पाल्पा नगरपालिका टुरिजम एक्सन कमिटि (ट्याक्ट) ले पाल्पामा पोखरेली व्यावसायीसँगको सहकार्यबारे कार्यक्रम आयोजना गरेका थिए। पाल्पा हानका अध्यक्ष जयन्त भुसालले पोखरा र पाल्पाले पर्यटन प्रवर्द्धनका गतिविधिमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई राखे। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक र भारतीय पर्यटकले पोखराको पर्यटन धानिन सकेको भन्दै पाल्पालाई पर्यटनमा अगाडि बढ्न पोखराको साथ रहने विश्वास दिलाए।
दशक लामो द्वन्द्वका बेला विदेशी पाहुना अभाव खड्केपछि पोखराको पर्यटन क्षेत्रले बल्ल आन्तरिक पाहुनाको महत्व बुझ्न थालेको थियो। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान हुन सक्ने सम्भावना देखेपछि पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्नेगरि बोलाउन पनि थालेको थियो। त्यसैको निरन्तरता स्वरुप योपटक पनि पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्न निम्तो दिँदै विभिन्न सहरमा प्रवर्द्धनात्मक अभियान थालेको संघको भनाई छ।
व्यावसायीको अनुमानमा पोखराको पर्यटनको करिब ४० प्रतिशत हिस्सा आन्तरिकले ओगटेको छ आन्तरिक पाहुनाको त्यो हिस्सा कुनै बेला त ८० प्रतिशत हाराहारी पनि पुग्छ। दसै–तिहार र अंग्रेजी नयाँवर्ष जस्ता गतिविधिमा यहाँ आन्तरिक पाहुनाको हिस्सा निकै नै माथि उक्लिने व्यावसायीले बताए।
होटल संघका केन्द्रीय सदस्य पराजुलीका अनुसार सन् २००१ सम्म पोखरा क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा बढीमा पाँचप्रतिशत मात्र थियो। ‘मुलुक द्वन्द्वमा थियो, त्यो बेला विदेशी पाहुना निकै कम थिए, आन्तरिक भन्ने नै थिएनन्। पोखरा आएका स्वदेशी पनि लेकसाइडका होटलमा बस्दैनथे,’ उनले भने, ‘आफन्तकहाँ र पृथ्वीचोकका होटलमा पाहुनाको बास हुन्थ्यो। अहिलेजस्तो घुम्ने संस्कार पनि थिएन। व्यवसायी पनि लेकसाइड झरेका स्वदेशीलाई पाहुना मान्दैनथे। तर, जब द्वन्द्वका कारण विदेशी अभाव भयो, त्यसपछि बल्ल आन्तरिकले महत्व पाउन थालेका हुन्।’
उनका अनुसार द्वन्द्वले निम्त्याएको विदेशीको अभाव स्वदेशीको भरमा मात्र पुरा हुने भएपछि व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सन् २००१ देखि ‘जाउँ है पोखरा’ अभियान थालेका थिए। होटल संघको अगुवाइमा मुलुकका विभिन्न भागमा पुगेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आउ भनेर अभियान मार्फत बोलाउन थालिएको थियो। त्यही गतिविधिपछि आन्तरिक पाहुनाको आगमन बढ्न थालेको उनले बताए।
‘आन्तरिक पाहुना चिनाउनमा द्वन्द्वको भूमिका छ। द्वन्द्व नहूँदो हो त आन्तरिक पाहुनाले महत्व पाउन अझै ढिला भइसक्थ्यो,’ पराजुलीले भने, ‘अभियान थाल्दा पोखरामा आन्तरिक पाहुनाको अकुपेन्सी बढीमा ५ प्रतिशत थियो, कोरोना संक्रमण अघिसम्म त्यो हिस्सा ४० प्रतिशत हाराहारीमा उक्लेको थियो।’ विदेशीलाइ मात्र पाहुना देख्ने पोखराले द्वन्द्वको त्यो समयमा होटल खालि भएपछि बल्ल स्वदेशी पाहुनाको महत्व बुझेको थियो। त्यसपछि आन्तरिक पाहुना भित्र्याउने गरि अभियान थालेको उनले बताए।
प्रकाशित: ३१ जेष्ठ २०८२ १८:०२ शनिबार