पृथ्वी राजमार्गको पोखरा–आँबुखैरेनी सडक बिस्तार अन्तरगत कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ।
सडक कालोपत्रे गर्ने कामले अन्तिम रूप लिए पनि पुलपुलेसा, नाला, डाइभर्सन, ट्राफिक संकेतका काम भने अझै बाँकी छन्। तर, बिस्तारको क्रममा रहेको राजमार्गको अधिकांश खण्ड कालोपत्रे भइसकेकोले अब यात्रुले यात्रा भने सहजै गर्न पाउने भएका छन्।
पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड स्तरोन्नतिको क्रममा भत्काएर लथालिङ्ग पारिएको थियो तीव्रताका साथ काम नहुँदा लथालिङ्ग उक्त सडकको यात्रा सकसपूर्ण बनेको थियो। यात्रुलाई सहजै यात्रा गर्न मिल्नेगरि राजमार्गको कालोपत्रेलाई प्राथमिकता दिएको सडक आयोजनाले बताएका छन्। पूर्वी खण्डको ८५ प्रतिशत र पश्चिम खण्डको ५३ प्रतिशत भौतिक प्रगति सकिएको छ।
.jpg)
पोखरा–आँबुखैरेनी (८० किमी) लाई दुई खण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भइरहेको छ। तर, पूर्वी खण्ड बिस्तार करिब सकिएको छ। पोखरा–मुग्लिनको पूर्वी खण्डका सूचना अधिकारी विष्णु पाण्डेका अनुसार पूर्वी खण्डमा अब बढीमा २ किलोमिटर दुरी मात्र कालोपत्रे हुन बाँकी छ। त्यो पनि पुल निर्माणका कारणले रोकिएको उनले बताए।
उनका अनुसार पूर्वी खण्डमध्ये बिमलनगरमा पहरो फुटाएर सडक बिस्तार गर्नुपरेको र दमौलीस्थित मादि नदीमा पुल निर्माण चलिरहेकोले त्यो खण्ड मात्र कालोपत्रे हुन बाँकी रहेको हो। पाण्डेका अनुसार पूर्वी खण्डको भौतिक प्रगति ८५ प्रतिशत भएको छ।
.jpg)
उनका अनुसार ट्राफिक संकेत राख्ने, पहिरो खसेको ठाउँमा र केही कालोपत्रे हुन बाँकी रहेकोले अहिले नै शतप्रतिशत पुरा नभएको हो। पाण्डेका अनुसार पूर्वी खण्डका लागि तेस्रो पटक थपिएको म्याद यही असार २९ मा सकिँदैछ। ‘अब यात्रुलाई यात्रामा असहज हुँदैन,’ उनले भने, ‘फिनिसिङको काम मात्र बाँकी हो। अरु सबै सकियो।’
तनहुँको दमौलीस्थित मादी नदिमा निर्माण भइरहेको पुलको कामले पनि गति लिएको छ। पुलको अहिलेसम्म ७१ प्रतिशत काम सकिएको छ। ‘पुलको फाउन्डेसन सबै तयार भएको छ। अब समस्या हुँदैन। पुलको काम पनि छिटै नै सकिन्छ,’ उनले भने। उनका अनुसार दमौलीमा ३ सय १८ मिटर लामो पुल बन्दैछ। यो पुल २३ मिटर चौडा हुनेछ। चारलेनको पुल बन्ने उनले बताए।
.jpg)
पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पनि अहिले धमाधम बिस्तार भइरहेको छ। पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण कुँवरका अनुसार २४ किलोमिटर खण्ड दुई तर्फी (चारलेन) नै कालोपत्रे भएको छ। त्यस्तै १२.८ किलोमिटर खण्डमा एकतर्फी (दुइलेन) कालोपत्रे भएको छ। पश्चिमखण्डको ३९ किलोमिटरमध्ये ३६.८ किलोमिटर खण्डमा अहिले कालोपत्रे सडकमा यात्रा गर्न पाइने कुँवरले जानकारी दिए।
‘एकतर्फी भएपनि दुइलेन भएकोले दोहोरो सवारी चलेका छन्। त्यसैले पश्चिम खण्डमा यात्रा गर्दा पनि अब बढीमा दुइकिलोमिटर मात्र कालोपत्रे नभएको वा पुरानो सडकमा यात्रा गर्नुपर्छ, यात्रा निकै नै सहज भइसकेको छ,’ कुँवरले भने, ‘यात्रुलाई हिँडडुलमा सहज होस भनेर अहिले मुख्यरुपमा कालोपत्रेलाई नै जोड दिइएको छ।’
.jpg)
उनका अनुसार पश्चिम खण्डमा अहिलेसम्म झन्डै ५३ प्रतिशत भौतिक प्रगति भएको छ। पश्चिमखण्डका १२ मध्ये १० वटा पुल तयार भइसकेका छन्। त्यस्तै १०२ मध्ये ९६ वटा कल्भर्ट पनि बनिसकेका छन्। यो आर्थिक वर्षभित्र पश्चिमखण्डमा पर्ने सबै सडकलाई कम्तीमा चारलेनमा कालोपत्रे गर्ने लक्ष्य रहेको पनि कुँवरले बताए।
पश्चिम खण्डका लागि २०२५ डिसेम्बर ३१ सम्म म्याद रहेकोले त्यो बेलासम्म केही झिनामसिना बाहेक सबै काम सकिने पनि कुँवरले बताए। अहिले विजयपुर, डाँडाकोनाक, लेखनाथ र अकलास्थित मौरिभीरको केही खण्डमा मात्र पुरानो वा कालोपत्रे नभएको सडकमा यात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताए।
.jpg)
पर्यटन क्षेत्र पनि राजमार्ग सहज भएपछि पोखरामा पर्यटकीय गतिविधि बढ्नेमा आशावादी छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष किशोर दाहालका अनुसार अहिले पोखराबाट छुटेका पर्यटक बस बढीमा अढाई घण्टामा मुग्लिन पुगिसक्छन। बिस्तार थाल्नुअघि पोखरा–मुग्लिनको ९० किलोमिटरको यो दुरी पुरा गर्न साढे ३ घण्टा लाग्थ्यो। बिस्तार सुरु भएपछि यो खण्ड पार गर्न ६ घण्टासम्म लाग्ने गरेको थियो।
निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीन वर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो। पूर्विखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। तर बारम्बार म्याद थप्दै जाँदा बल्ल कामले गति लिएको छ।
.jpg)
राजमार्गको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनीले जिम्मा लिएको छ। एसियाली विकास बैंक(एडिबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो।
.jpg)
१३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ। आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।
.jpg)
प्राविधिकहरूका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चार लेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीन मिटरको फराकिलो डिभाइडर पनि यसैमा बनाइने आयोजनाले बताएको छ। डिभाइडरलाई सौन्दर्यीकरण पनि गरिनेछ। अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो।
प्रकाशित: २४ जेष्ठ २०८२ १६:५१ शनिबार





