२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

नवनियुक्त गर्भनर पौडेलको नीतिले सेयर लगानीकर्ता खुसी

नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा.विश्वनाथ पौडेलले सेयर लगानीकर्तालाई खुसी पार्ने गरी मौद्रिक नीतिको समीक्षा गरेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार चालु आवको तेस्रो मौद्रिक समीक्षामार्फत  सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।

सेयर लगानीकर्ताको माग अनुरुप राष्ट्र बैंकले बजारको विश्लेषण गर्दैसेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरेको छ । यसले नवनियुक्त गर्भनर पौडेलले शेयर बजारलाई मौद्रिक नीति समीक्षामा खुकुलो नीति लिएको संकेत गर्छ । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।

राष्ट्र बैंकले समीक्षामार्फत आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखेको छ । नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ । 

त्यसैगरी, विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखेको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय राष्ट बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरेको छ । 

त्यसैगरी, लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली  जारी गर्ने भएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित: ११ जेष्ठ २०८२ २०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App