व्यास नगरपालिका–१३ को बेलबास क्षेत्रका बासिन्दा दूध उत्पादनमा सक्षम बन्दै गएका छन्। यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा संलग्न छन्, जसले यो क्षेत्रलाई नमूना बनाएको छ र यहाँको मुहारमा परिवर्तन ल्याएको छ।
यहाँका किसानले दूध उत्पादनसँगै पशुपालन गर्न चाहनेलाई प्रेरणा दिने काम गरेका छन्। पशुपालन गर्ने किसानले मेहनत गरे केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्। दूध बिक्रीबाट आएको आम्दानीले लेनदेन र दैनिक घरखर्च चलाउन सहज भएको किसान बताउँछन्।
संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीका अनुसार, अहिले दैनिक एक लाख तीस हजार रुपैयाँ बराबरको दूध सङ्कलन हुन्छ। उनले भने, ‘थोरैमा मासिक १५ हजारदेखि दुई लाखसम्म कमाउने दूध व्यवसायी छन्।’ एउटै गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुन्छ। यो दूध बेलबास दुग्ध उत्पादक सहकारीमार्फत दमौली र पोखरामा बिक्री हुन्छ।
संस्थामा आबद्ध १०० शेयर सदस्यमध्ये ६५ किसानले पशुपालनबाट दूध उत्पादन गरी बिक्री गर्छन्। उत्पादित दूधमध्ये दमौलीका दुई डिपोबाट ६०० लिटर र बाँकी एक हजार लिटर सुजल डेरी पोखरामा पठाइन्छ। स्थानीय बजारमा नै खपत गर्न सकिए किसानले थप फाइदा लिन सक्थे, साँखी बताउँछन्। दूधसँगै दही, पनिर, नौनी र घ्यू पनि बिक्री हुन्छ। आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यहाँका अधिकांश व्यक्ति पशुपालन गरी आत्मनिर्भर भएका छन्।
सोही वडाका लेखनाथ बाँस्तोला चार वर्षदेखि व्यावसायिक गाईपालनमा छन्। गाडी व्यवसाय छाडेर गाउँ फर्किएका उनले २२ गाई पालेका छन्, जसमध्ये १५ लैनाले दैनिक २०० लिटरभन्दा बढी दूध दिन्छन्। उनले भने, ‘सुरुमा एक करोड लगानी भएको छ। मासिक चार लाखको दूध बिक्री गर्छु, खर्च कटाएर मासिक दुई लाख कमाउँछु।’
त्यस्तै, १३ वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्किएका मेघनाथ आचार्यले नौ गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्छन्। उनले भने, ‘आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गामा घाँसखेती गरेको छु। सुरुमा १० लाख लगानी गरेको व्यवसायबाट परिवार सन्तुष्ट छ।’
संस्थाका अध्यक्ष केशवबहादुर रानाले दाना, चोकरको मूल्य नियन्त्रण र उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिए पशुपालन अझ प्रभावकारी हुने बताए। गाउँ नजिकै दुग्ध सङ्कलन केन्द्र भएकाले बिहान–बेलुका दूध बिक्री गर्न सहज भएको छ। वडाध्यक्ष वसन्तबहादुर आलेले नगरपालिकाले प्रति लिटर एक रुपैयाँ अनुदान दिँदै आएको र यसलाई बढाउने योजना रहेको बताए। यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा व्यस्त छन्। रासस
प्रकाशित: १० जेष्ठ २०८२ १०:३२ शनिबार


-600x400.jpg)


