१७ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

तीन वर्षदेखि रोकिएको गाईघाट-दिक्तेल सडक निर्माण सुचारु

तीन दशकमा नबनेको गाईघाट दिक्तेल धुलाम्य सडकमा सवारी गुड्दै। तस्बिरः महेश्वर चामलिङ राई/नागरिक

गाईघाट-दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत खोटाङतर्फ रोकिएको काम सुरु भएको छ। पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लागेसँगै तीन वर्षदेखि निर्माण कार्य रोकिएको सडक निर्माणको काम सुरु भएको हो।

आइतबार दिउँसो उदयपुर र खोटाङ सिमाना फोक्सिन्टारमा आयोजित कार्यक्रममा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शिलान्यास गरेसँगै अवरुद्ध काम सुचारु भएको हो। स्तरोन्नतिसहित कालोपत्र गर्ने गरी दशकअघि लगाइएको ठेक्का सम्झौता अनुसार १० वर्षसम्ममा पनि सम्पन्न नभएपछि रेखदेख गर्ने निकाय गाईघाट-दिक्तेल सडक योजना कार्यालयले ०७८/७९ मा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्दै पछि ठेक्का रद्द गरेको थियो।

योजना कार्यालयले पुरानो ठेक्का तोडेर नयाँ ठेक्का सम्झौता गरेपछि मन्त्री दाहालले सडकको पुनः शिलान्यास गरेका हुन्। मन्त्री दाहालसँग खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ), उदयपुर २ का सांसद अम्बर रायमाझी, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, खोटाङका पूर्व सांसद विशाल भट्टराई पनि कार्यक्रमस्थल पुगेका थिए।

सडक शिलान्यास कार्यक्रममा मन्त्री दाहालले सडक गुणस्तरीय र तोकिएकै मितिमा सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए। यसअघि जस्तो पटक-पटक म्याद थप्दा पनि वर्षौँवर्ष काम नगरेपछि ठेक्का तोड्नुपर्ने विडम्बनापूर्ण अवस्था आई नपरोस् भन्ने सचेत गराउँदै मन्त्री दाहालले खोटाङवासीको लाइफलाइन सडक भएकाले निर्धारित म्यादभित्रै काम नगरे कारबाहीको भागीदार बन्नुपर्ने चेतावनीसमेत दिए। उनले सडक बनाउनका लागि बजेट अभाव हुन नदिने बचन पनि दिएका छन्।

योजना प्रमुख (डिई) पशुपति ज्ञवालीका अनुसानर नयाँ ठेक्कामा फोक्सिन्टारदेखि महुरेसम्मको ४८.४० किलोमिटर सडक दुई खण्डमा काम गर्ने जिम्मा दिइएको छ। फोक्सिन्टारदेखि सिमपानीसम्म २६ किलोमिटर खण्ड स्तरोन्नतिसहित कालोपत्रे निर्माणका लागि ४२ करोड १३ लाख ७५ हजार ८ सय १२ रुपैयाँमा ठेक्का लागेको छ। सो सडक निर्माण गर्ने जिम्मा दिपज्योति कन्स्ट्रक्सन प्रालि धादिङले ३ वर्षभित्र बनाइसक्ने ठेक्का लिएको छ।

त्यस्तै सिमपानी–महुरे खण्डको २२ किलोमिटरको ठेक्का ४४ करोड २३ लाख ७० हजार ६ सय ८२ रुपैयाँमा लागेको छ। रायमाझी कन्स्ट्रसनले ठेक्का लिएको सो खण्डको सडक पनि ३ वर्षभित्रै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको डिई ज्ञवालीले बताएका छन्।

ती दुवै खण्डको सडक निर्माणका लागि सिद्धि/शाही जेवी र देवनारायण/मैनाचुली जेवीले ठेक्का सकार गरेका थिए। फोक्सिन्टार–सिमपानी खण्डको ठेक्का ४९ करोडमा सक्ने गरी ०७३ साउन ११ गतेर ठेक्का लागेको थियो। यता सिपानी–महुरे खण्डको ठेक्का ३१ करोडमा गर्ने गरी ०७३ भदौमा लागेको थियो। तर दुवै निर्माण कम्पनीले पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न नगरेपछि योजना कार्यालयले ०७९ मा ठेक्का तोडेर नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढाएको थियो।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र निर्माण तथा यातायात मन्त्री अशोक राईको पालामा ०५१ सालमा निर्माण गर्ने अवधारणा ल्याइएको सगरमाथा लोकमार्गको ०५३ मा शिलान्यास भएको थियो। गाईघाटदेखि दिक्तेलसम्मको १०३ किलोमिटर दूरी सडक निर्माण कार्य थालेको झण्डै ३ दशक पुग्न लाग्दासम्म आधा पनि राम्ररी सम्पन्न भइसकेको छैन।

उदयपुरतर्फ गाईघाट–साउने–खाँबु रानीबाससम्म सर्फेस ड्रेसिङ प्रविधिको कालोपत्रे भए पनि पछिल्लो गुणस्तरीय कालोपत्रे अस्फाल्ट प्रविधिमा गर्नुपर्ने भएकाले पुरानो कालोपत्रे गरेको ठाउँमा पुनः स्तरोन्नति गर्नुपर्ने अवस्था आएको छ। जस अनुसार गाईघाट मुख्यचोकदेखि बरुवा पुलसम्मको खण्ड गत वर्ष अस्फाल्ट प्रविधिमा निर्माण समपन्न भएको छ।

चालु वर्ष लोकमार्गको जिरोमाईल त्रियुगा बसपार्कदेखि गाईघाट मुख्यचोकसम्म ९ सय ८ मिटरसहित बरुवा पुलदेखि साउने खण्ड गरी ४ किलोमिटर स्तरोन्नतिसहित कालोपत्र गर्ने ठेक्का लागेर काम भइरहेको छ। तर बसपार्क–गाईघाट चोक खण्डको सडक सर्फेस ड्रेसिङ प्रविधिमा ३ वर्षअघि मात्र निर्माण भएकाले अहिले नै भत्काएर अस्फाल्ट गर्ने या नगर्ने यकिन भईसकेको छैन। सो ४ किलोमिटर कालोपत्रसहित योजना कार्यालयको अढाइतले भवन बनाउने जिम्मा सतासी निर्माण सेवा प्रालि झापाले मूल्य अभिवृद्धि कर (भ्याट)सहित ८ करोड २३ लाख ३३ हजार १ सय ११ रुपैयाँमा ०८१ मङ्सिरमै ठेक्का लिएर यो असारभित्र सक्ने सम्झौता गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०८२ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App