भुटानको थिम्पुमा सम्पन्न "ग्रामीण दक्षिण एशियामा महिलाको आर्थिक सशक्तीकरण : दिगो मार्गहरू" विषयक दक्षिण एशियाली महिला सम्मेलनमा नेपालले महिला नेतृत्वमा आधारित उद्यमशीलता र दिगो पर्यटनमा हासिल प्रगतिहरू प्रस्तुत गरेको छ।

भुटानकी रानी आमाले उद्घाटन गरेको तीन दिने सम्मेलनमा नीति निर्माणकर्ता, जमीनीस्तरका अगुवा तथा विकास साझेदारहरू एकै ठाउँमा भेला भई महिलाको आर्थिक सशक्तीकरण, जलवायु परिवर्तनको असर, सीमा-पार चुनौतीहरू तथा दिगो व्यवसाय र पर्यटनका नमूनाहरूमा छलफल भएको थियो ।
सम्मेलनको “ग्रामीण पर्यटनका अवयव: सफल कथाहरू” नामक सत्रमा नेपाल महिला उद्यमी महासंघ (FWEAN) की अध्यक्ष शोभा ज्ञवालीले नेपालको ग्रामीण महिलालाई परम्परागत सीप, सहकारी व्यवसाय र महिला-नेतृत्वमा आधारित पर्यटनमार्फत सशक्त बनाउने यात्राबारे जानकारी गराएकी थिइन् ।
अध्यक्ष ज्ञवालीले भनिन्, “सिन्धुपाल्चोकमा भूकम्पपछिका हस्तक्षेपहरूमा महिलालाई परम्परागत बुनाइमा तालिम दिइयो र बजारसम्म जोडियो। पहिले आर्थिक प्रणालीबाट टाढा र विस्थापित यी महिला आज ढाका कपडा, हस्तनिर्मित गहना र जडीबुटीजन्य उत्पादन निर्यात गर्दैछन्।”

ज्ञवालीले पोखरा, पाल्पा, इलाम र मुस्ताङमा सञ्चालित महिला-नेतृत्वमा आधारित होमस्टेहरूबारे पनि चर्चा गर्दै भनिन्, “पर्यटकहरू हिमाल हेर्न आउँछन्, तर सशक्त महिलाले सिर्जना गरेका कथाहरू र हस्तकलाका लागि उनीहरु यहाँ बस्न चाहन्छन्।”
उनले २०२४ डिसेम्बरमा मेलबर्नमा आयोजना गरिएको Made in Nepal Expo को सफलताबारे पनि जानकारी दिएकी थिइन्। मेलबर्नका मेयरले उद्घाटन गरेको उक्त दुईदिने प्रदर्शनीले नेपाली महिलाको उत्पादनलाई प्रवर्द्धन गर्यो र अन्तर्राष्ट्रिय ध्यान तानेको उनको भनाइ थियो ।

अध्यक्ष ज्ञवालीले पूर्वाधारको अभाव, वित्तीय पहुँचको कमी र लैंगिकमैत्री नीतिको अभावले महिला उद्यमीहरुमा चुनौती भने कायम रहेको चर्चा गरेकी थिइन् । उनले ग्रामीण महिलाका लागि धितोबिनाका ऋण, बजार पहुँच, सीप विकास र डिजिटल सशक्तीकरणको आवश्यकता रहेको बताइन्।
ज्ञवालीले जलवायु परिवर्तन र महिला सशक्तीकरणका साझा चुनौतीहरू समाधान गर्न क्षेत्रीय ऐक्यबद्धताको खाँचो औल्याएकी थिइन् । "साँचो विकास भनेको प्रत्येक महिला र गाउँलाई सम्मान र अवसर दिने प्रक्रिया हो," उनले भनिन्।

उक्त सत्र टारायणा फाउन्डेसनका चिमी पाडेन वाङ्दीको संयोजनमा सम्पन्न भएको थियो। अन्य वक्ताहरूमा अनी चेजय वाङ्मो, छेरेङ छोकी, सम्साय लेप्चा र शिल्पा शर्मा रहेका थिए।
सम्मेलनको अन्त्यमा सहभागी सबैले समावेशी आर्थिक मोडेलहरूलाई सुदृढ पार्ने र जलवायु-उत्तरदायी तथा लिङ्ग-केन्द्रित विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।


प्रकाशित: २६ वैशाख २०८२ २०:३२ शुक्रबार