कारोबार हुने साताको पहिलो दिन बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । कारोबार रकम पनि उल्लेख्य बढेको छ ।
गत बिहीबार बढेर बन्द भएको नेप्सेमा आइतबार ३.५८ अंकको वृद्धि भएको हो । नेप्से आइतबार २६६१.६० विन्दुमा पुगेर बन्द भएको छ । आइतबार सेन्सेटिभ इण्डेकस १.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक बढेको छ।
बिहीबार ७ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार भने झण्डै ११ अर्बको कारोबार भएको छ । आइतबार ३१४ स्टकको ८९ हजार १६१ पटकको कारोबारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँबराबरको २ करोड ८४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । वित्त उपसमूहको परिसूचक भने आइतबार १.०५ प्रतिशतले घटेको छ।
आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर ९४ रुपैयाँ ७० पैसा बढेर १ हजार ४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । सानिमा माइ हाइड्रोपावर र अरुण भ्याली पावर डेभलपमेन्टको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आइतबार ङादी ग्रुप पावरको ८६ करोड १७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ५६ करोड र राधी विद्युत कम्पनीको कारोबार रकम ५६ करोड बराबरको कारोबार भएको छ ।
प्रकाशित: १४ वैशाख २०८२ १५:३९ आइतबार





