२१ चैत्र २०८१ बिहीबार
image/svg+xml १:४४ पूर्वाह्न
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान हुँदै

हिमालय एयरलाइन्सले मंगलबार पोखरा–ल्हासा ‘सेड्यूअल फ्लाईट’ भर्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको पक्का भएको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइटको तयारी गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।  

विमानस्थल संचालनमा आएको यो अवधिमा अहिलेसम्म १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। तर, सेड्यूअल फ्लाइट भने हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा–ल्हासा रुटमा गर्न थालेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले बताईन। ‘विमानस्थल संचालनमा आएदेखि अहिलेसम्म १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। तर, सेड्यूअल फ्लाइट भने पहिलोपटक हुन थालेको हो,’ उनले भनिन, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेड्यूअल फ्लाइट नभएको गुनासो आईरहेकोमा अब भने बाटो खुलेको छ।’

विमानस्थल संचालनमा आएको पहिलो दिनदेखि नै आन्तरिक उडानमा सीमित रहेको भन्दै विमानस्थल र प्राधिकरणको आलोचना हुँदै आएको थियो। त्यसबाहेक अन्तर्राष्ट्रिय स्तरमा भने चार्टर उडान मात्र भएको भनेर पनि आलोचना भईरहेको थियो। तर, अब भने नियमित सेड्यूअल उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिचान थप फराकिलो बनाउने उनले बताईन।  

सुवेदीका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सकोको एयरबस–३१९ सिरिजको जहाज सोमबार मध्यान्ह १२ बजेर ४५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। पोखरामा रात्रीबिसान गरेको त्यही जहाजले मंगलबार (चैत १९) बिहान ८ बजेर २० मिनेटमा पोखराबाट ल्हासाका लागि उडान भर्ने उनले बताईन।

‘पछिल्लो पटक सिचुआन एयरलाइन्सल छेन्दु–पोखरा व्यावसायिक चार्टर उडान गरिरहेको थियो। अप्रिल १ का दिन पनि सिचुआनको जहाज पोखरा आउँदैछ,’ उनले भनिन, ‘अब भने हिमालयको नियमित उडान थपिनेछ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट सन् २०२३ मा ७, २०२४ मा  ४ र २०२५ को हालसम्म २ वटा गरि १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। ती मध्ये धेरैजसो चिनियाँ गन्तव्यमा भएका छन्।  

हिमालयले मंगलबारदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने तालिका अनुसार तयारी गरेको बताएको छ। हालका लागि कम्पनिले सातामा एकपटक मात्र यो रुटमा उडान गर्नेछ। कम्पनिका अनुसार काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टरमा जोड्नेगरि उडान तयारी थालिएको छ। ‘हाल सातामा एउटा मात्र उडान गर्दैछौ। मागको आधारमा आगामि दिनमा उडान थप्ने योजना छ,’ हिमालय एयरलाइन्सका एकजना अधिकारीले भने।

हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान संचालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने रहेको यसअघि विज्ञप्तीमार्फत जनाएको थियो। पोखरालाई चीनसँग जोड्ने यो उडानले नेपाल र चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउने, पर्यटन र व्यापारलाई प्रर्वद्धन गर्न प्रोत्साहन गर्ने एयरलाइन्सको भनाई छ।  

काठमाडौंबाट ल्हासास्थित गोंगर विमानस्थलमा अवतरण भएको जहाज त्यही दिन ल्हासाबाट पोखराका लागि उडान भर्नेछ। पोखरा आएर रात्रीकालिन विसानपछि जहाज भोलिपल्ट पोखराबाट ल्हासा उड्नेछ। त्यहीदिन ल्हासाबाट काठमाडौंका लागि उडान भर्ने हिमालयले बताएको छ। हिमालय एयरलाइन्सले पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीचको यो उडान पर्यटन क्षेत्रका लागि महत्वपूर्ण हुने पनि उनले बताए।  

‘सातामा एकदिनका लागि भएपनि पोखराबाट अन्तर्राष्ट्रियस्तरको सेड्यूअल उडानको सुरुवात हुँदैछ। यो पोखराका लागि महत्वपूर्ण पक्ष हो,’ ती अधिकारीले भने, ‘यसले नेपालको पर्यटन क्षेत्रका लागि पनि ठूलो योगदान दिनेछ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेमा हिमालय एयरलाइन्स पहिलो हुने पनि ती अधिकारीले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चार्टर उडानमा मात्र सीमित रहेकोमा अब भने नियमित सेडयूअल फ्लाइटका लागि ढोका खुलेको बताउँछन्। ‘हिमालयले पोखरा–ल्हासाबाट सेडयूअल फ्लाइटको ढोका खोल्दैछ। अहिलेसम्म व्यावसायिक चार्टर उडान थिए,’ श्रेष्ठले भने, ‘तर, अब सेडयूअल उडान हुँदैछ। पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रले राख्दै आएको अन्तर्राष्ट्रिय उडानको मागको ढोका खुल्दैछ। समग्र पर्यटन क्षेत्रका लागि यो खुसीको कुरा हो।’  

हिमालयले थालनी गरेको सेड्यूअल फ्लाइटसँगै अरु अन्तर्राष्ट्रिय हवाई कम्पनिका लागि पनि पोखरासम्मको उडान सम्भावना बढेको उनले बताए। ‘अब अरु हवाई कम्प्निले पनि पोखराका लागि उडान थप्न सक्छन,’ उनले भने, ‘पर्यटकीय सहर भएकोले पोखराले बजारीकरणमा भने उत्तिकै ध्यान दिनुपर्नेछ।’ श्रेष्ठका अनुसार सिचुआन एयरलाइन्सले चीनकै छेन्दुबाट पोखरामा पछिल्लोपटक साप्ताहिक रुपमा व्यावसायिक चार्टर उडान गरिरहेको छ। आगामि मंगलबार सिचुवानको जहाज पनि छेन्दुबाट पोखरा आउने तयारीमा छ।

‘सिचुआनले अहिलेसम्म चार्टर उडान गरिरहेको थियो। तर, अब सेड्यूअल उडान गर्नका लागि दवाव पुग्नेछ। आगामि मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट एकैदिन दुइवटा अन्तर्राष्ट्रिय उडान हुँदैछन,’ उनले भने। पोखराले पछिल्लो समय चिनियाँ पर्यटक भित्र्याउने पहल थालिरहँदा हुन लागेका यी उडानले पोखरामा चिनियाँ पाहुना भित्र्याउन सहज हुने व्यावसायीले बताए। ‘चिनियाँ पर्यटक भित्र्याउनका लागि पोखराले यो पटक निकै नै मेहनत पनि गरेको छ,’ श्रेष्ठले भने, ‘नियमित बजारीकरणसँगै प्रर्वद्धनात्मक अभियान चलिरहँदा त्यसको लाभ पर्यटन क्षेत्रमा पर्ने पक्का छ।’  

पर्यटन बोर्डका अनुसार यो फेब्र्रुअरीमा नेपालमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। सन् २०२३ मा करिब ६१ हजार चिनियाँ नेपाल भित्रिएका थिए। नेपालमा सन् २०२४ मा १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पाहुना भित्रिएका थिए।  

प्रकाशित: १७ चैत्र २०८१ १८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App