नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेन-जीको प्रदर्शनमा व्यापक घुसपैठ हुँदा अप्रिय र दुःखद घटना भएको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा बोल्दै नेता लेखकले युवा पुस्ताले शान्तिपूर्ण प्रदर्शनको अनुमति मागेको भए पनि लोकतन्त्र विरोधी तत्वहरूले घुसपैठ गरेर आन्दोलनलाई हिंसात्मक बनाएको बताएका हुन्।
घटनाको स्मरण गर्दै लेखकले भने, ‘युवा पुस्ता अर्थात् जेन–जीका भाइबहिनीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेरै माइतीघर मण्डलामा अनुमति माग्नुभएको थियो। सुरक्षा निकायको विश्लेषण र मेरो विश्वास पनि उहाँहरू शान्तिपूर्ण नै हुनुहुन्छ भन्ने थियो।’
उनले प्रदर्शनकारी युवाहरूप्रति आफ्नो कुनै अविश्वास नरहेको स्पष्ट पारे। ‘उहाँहरूको प्रदर्शनलाई हामीले सुरक्षा दिने नै तयारी गरेका थियौं,’ लेखकले थपे।
तर, शान्तिपूर्ण प्रदर्शनमा अचानक घुसपैठ भएको र त्यसले परिस्थितिलाई काबु बाहिर पुर्याएको लेखकको जिकिर छ।
‘त्यो प्रदर्शनमा व्यापक घुसपैठ भयो। प्रदर्शनलाई एकदमै हिंसात्मक, उत्तेजक र उग्र बनाउने काम भयो,’ लेखकले भने, ‘लोकन्त्र र व्यवस्था विरोधीहरूले बानेश्वर क्षेत्रलाई हिंसाको थलो बनाउन खोज्दा त्यो दुःखद दुर्घटना हुन पुग्यो।’
उक्त घटनामा मानवीय क्षति भएपछि आफूलाई अत्यन्तै पीडा बोध भएको र नैतिकताका आधारमा तत्कालै गृहमन्त्रीबाट राजीनामा दिएको उनले प्रस्ट पारे।
‘मैले गोली चलाउने आदेश दिएको थिइनँ, न त कानुनले नै त्यस्तो आदेश दिनु भन्छ,’ लेखकले भने, ‘तर, मेरो कार्यकालमा नागरिकको ज्यान जाँदा म पदमा बसिरहन उचित ठानिनँ। त्यो घटनाको नैतिक जिम्मेवारी लिँदै मैले राजीनामा दिएको हुँ।’
लेखकले उक्त घटना हृदयविदारक र अकल्पनीय भएको भन्दै अहिले पनि आफू त्यसबाट पीडित रहेको बताए।
प्रकाशित: ३० पुस २०८२ २१:१४ बुधबार





