१६ चैत्र २०८१ शनिबार
image/svg+xml १५:३७ अपराह्न
अर्थ

काभ्रेका किसानलाई कफी उत्पादन र प्रशोधन तालिम

महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई कफी उत्पादन र प्रशोधन प्रविधिबारे तालिम दिइएको छ। बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाले मिलेर ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत यो तालिम आयोजना गरेका हुन्।  

बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी बनाउन महाभारत, खानीखोला, मण्डनदेउपुर, भुम्लु र चौँरीदेउराली क्षेत्र कफी उत्पादनका लागि सम्भावना बोकेका ठाउँ भएको बताए। उनले स्थानीय तहसँग मिलेर यी क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।  

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यम बनाउन बाटो, बिजुलीजस्ता आधारभूत संरचना पहिलो आवश्यकता भएको र पालिकाले त्यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ।  

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले गत वर्षदेखि महाभारतमा यो कार्यक्रम चलिरहेको र यस वर्ष कफी उत्पादन बढाउन तालिमको व्यवस्था गरिएको जानकारी दिए। उनले यो वर्ष ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको पनि बताए। साथै, प्रदेश सरकारको ३० लाख, गाउँपालिका र किसानको १०–१० लाख गरी कुल ५० लाख लगानीमा कफी प्रशोधनका लागि नयाँ प्रविधि भित्र्याइने भएको छ।  

महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले नयाँ प्रविधिले उत्पादन बढ्ने विश्वास व्यक्त गरे। तीन दिन चलेको यो तालिममा ९० जना किसान सहभागी थिए। रासस

प्रकाशित: १३ चैत्र २०८१ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App