गण्डकी प्रदेशका चार जिल्लाका पाँच स्थानीय तहमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू भएको छ।
प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सम्बन्धित स्थानीय तहको साझेदारीमा ‘दायित्व’ संस्थामार्फत उद्यमीको पहिचान, क्षमता विकास, व्यवसाय स्तरोन्नति र बिक्री तथा बजारीकरणका लागि यो कार्यक्रम सञ्चालन भएको हो।
दायित्व संस्थाका कार्यक्रम अधिकृत जुनतारा रानाले पर्वतको जलजला, नवलपुरको हुप्सेकोट, बागलुङको बडीगाड, गोरखाको गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिकामा कार्यक्रम लागू भएको बताए।
‘चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक पालिकालाई ४० लाख रुपैयाँ र पालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्,’ उनले भने, ‘कृषि, पशुपालन, जडीबुटी, पर्यटन, सेवा र उत्पादनमा आधारित लघु, साना तथा मझौला उद्यमीलाई परियोजनाको ५० प्रतिशत साझेदारी गर्छौँ।’ हरेक पालिकामा ४० उद्यमीलाई २५ हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म साझेदारी गरिनेछ। पहिलो चरणमा इच्छुक उद्यमीबाट आवेदन सङ्कलन सुरु भएको छ।
जलजला गाउँपालिकाका उद्यम अधिकृत भगवती पुनले मापदण्डअनुसार ४० उद्यमी छनोट गरी २० जनालाई २५ हजार रुपैयाँसम्म उद्यम विकास प्रविधि सहयोग, १० जनालाई एक लाखसम्म नवप्रवर्द्धन सहयोग, नौ जनालाई ८० हजार र एक जनालाई एक लाख ५० हजार रुपैयाँ बिक्री तथा बजारीकरण प्रविधि सहयोग दिइने बताए। रासस
प्रकाशित: ११ चैत्र २०८१ ०९:५८ सोमबार